काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

४ चैत्र २०८२
अ+
अ-

विराटनगर। मोरङको बूढीगंगा गाउँपालिका ४ मा रहेको मुसहर बस्तीमा भीषण आगलागी भएको छ। आगलागीमा परेर ११ वटा घर पूर्ण रूपमा नष्ट भएका छन्।

बुधबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगलागीले अति विपन्न मुसहर समुदायका ११ परिवारको उठिबास लगाएको छ।

प्रहरीका अनुसार गोकुवा चोकबाट पूर्वतर्फ रहेको सो बस्तीमा अचानक सल्किएको आगो तीव्र हावाका कारण छिटै फैलिएको थियो। बस्तीका अधिकांश घर फुसको छाना र टाटीबेराले बनेका हुनाले आगोले उग्र रूप लिएको थियो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार विराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको झन्डै ४५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो।

आगलागीका क्रममा घरभित्र रहेका खाना पकाउने ग्यासका सिलिन्डरहरू एकपछि अर्को गरी विस्फोट भएपछि आगो झन् सल्किएको थियो। आगो थप फैलिन नदिन प्रहरी र स्थानीयले बीचमा रहेको एउटा घर भत्काएका थिए।

आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, नगद, सुनचाँदी तथा दैनिक प्रयोगका सबै सामग्री जलेर खरानी भएका छन्। डीएसपी लामिछानेले क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए।

घर र जायजेथा सबै खरानी भएपछि दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने भूमिहीन मुसहर परिवार विचल्लीमा परेका छन्। बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्।

आगलागीको स्पष्ट कारण अझै खुल्न सकेको छैन। विद्युत् सर्ट भएर वा खाना पकाउने क्रममा असावधानीवश आगो सल्किएको हुन सक्ने अनुमान गरिएको छ। “आगलागी कसरी सुरु भयो भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौँ,” डीएसपी लामिछानेले भने।