काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

१ असार २०८३
अ+
अ-

काठमाडौँ। श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशभित्रै मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्रबीच एकीकृत सहकार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौँमा सोमबार गरेको ‘निजी क्षेत्रको संलग्नतामा रोजगार सेवा केन्द्रको प्रभावकारी सञ्चालन रणनीतिसम्बन्धी राष्ट्रिय कार्यशाला’ मा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन्।

रोजगार सेवा केन्द्रहररू र निजी क्षेत्रबीचको विद्यमान सहकार्य र संलग्नताको विस्तृत अवस्थागत अध्यनन गरी रोजगार सेवा केन्द्र र रोजगारदाता तथा सीप विकास तालिम प्रदायकबीच दिगो प्रभावकारी र परिणामुखी साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा बदलिँदो विश्वव्यापी श्रम बजार, प्रविधिको बढ्दो प्रभाव र नेपालका रोजगार सेवा केन्द्रहरूलाई बजारको मागमा आधारित बनाउने उपायबारे गहन छलफल भएको थियो।

कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव एवं आन्तरिक रोजगार समन्वय महाशाखा प्रमुख हेमराज तामाङले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूको क्षमता अभिवृद्धि तथा कार्यक्रमको प्रभावकारिताका लागि सरोकारवालाबीच छलफल गरी ‘रोडम्याप’ बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले सेवा केन्द्रहरूलाई रोजगारदाता र रोजगार खोज्ने जनशक्तिबीचको दूरी कम गर्ने ‘ब्रिज’का रूपमा विकास गर्नु पर्ने आवश्यकता औँल्याए। “यसमा निजी क्षेत्रको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहन्छ। उद्योगहरूलाई कुन प्रकारको जनशक्ति चाहिएको हो। यसलाई प्रभावकारी बनाउन के गर्नुपर्छ? सरकार निजी क्षेत्रसँग हातमा हात मिलाएर अघि बढ्न तयार छ‚” उनले भने, “सेवा केन्द्रहरूको प्रभावकारी सञ्चालनका लागि मन्त्रालयले सरोकारवालाहरूको सुझावका आधारमा नीतिगत सुधारका लागि तयार छ।”

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालका देशीय निर्देशक नुमान ओज्‌कानले रोजगार सेवा केन्द्रहरूलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको उत्तिकै जिम्मेवारी रहने धारणा राखे। नेपालले पनि आफ्ना युवालाई यो नयाँ डिजिटल श्रम बजारमा प्रतिस्पर्धी बनाउन सामाजिक सुरक्षा र श्रमिकको हकहित सुनिश्चित गर्दै रोजगार सेवा केन्द्रहरूलाई परियोजनामुखी नभई आफ्‌नै कार्यक्रमका रुपमा ग्रहण गरे सफलता पाउने बताए। उनले सेवा केन्द्रलाई आधुनिकतामा रूपान्तरण गर्नुपर्ने र त्यसका लागि आईएलओले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले रोजगारदाताहरू केवल रोजगारी दिने संस्था मात्र नभएर गतिशील र उत्तरदायी श्रम बजार निर्माणका मुख्य साझेदार भएको स्पष्ट पारे। “हाम्रा उद्योग-व्यवसायलाई दक्ष, सीपयुक्त र उत्पादक जनशक्तिको खाँचो छ। अर्कोतर्फ हजारौँ युवा रोजगारीको खोजीमा बाहिरिइरहेको अवस्था छ। यो खाडललाई पुर्न रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीचको साझेदारी थप मजबुत बनाउनुपर्छ‚” उनले भने।

यस्तै महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले रोजगार सेवा केन्द्रहरूले स्थानीय तहमा श्रम बजार सूचना, रोजगार परामर्श, सीप विकासका अवसर तथा रोजगारदातासँग प्रभावकारी समन्वयमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उल्लेख गरे। उनले रोजगार सेवा केन्द्रहरूको प्रभावकारिता अभिवृद्धि गर्न सेवा प्रवाहको गुणस्तर, तथ्यांक व्यवस्थापन, डिजिटल प्रणालीको उपयोग र निजी क्षेत्रसँगको कार्यगत समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने बताए।

कार्यक्रममको प्राविधिक सत्रमा स्रोत व्यक्ति महेश हाडा र हंसराम पाण्डेले मधेस र सुदूरपश्चिम प्रदेश स्तरीय कार्यशालाबाट प्राप्त सुझाव प्रस्तुत गर्नुका साथै राष्ट्रिय सरोकारवालाहरूबाट सुझाव लिएर रणनीतिलाई अन्तिम रूप दिइने बताए।

यस्तै विभिन्न संघ-संस्था तथा नगरपालिकाबाट सहभागी प्रतिनिधिहरूले रोजगार सेवा केन्द्रहरूलाई अझ बढी उपयोगी र व्यवहारिक बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र देशभित्रै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्ने वातावरणलाई सहयोग पुग्ने गरी रणनीति बनाइनुपर्ने सुझाव दिएको महासंघका सहायक निर्देशक हरि पौडेलले जानकारी दिए।