काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

४ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिएकी छन्।

नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‚ सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू आज (बुधबार) प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए।

उनिहरूबीच हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए। उनले निर्वाचनमा विजयी नेताहरूलाई बधाई पनि दिएकी थिइन्।

त्यसअवसरमा प्रधानमन्त्री कार्कीले भननिन्, “तपाईंहरूले निर्वाचनमा भाग लिनुभयो। यो निर्वाचनको पक्षमा सकारात्मक वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका निर्वाह गर्नुभयो। यसका निम्ति सबैलाई धन्यवाद छ। निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ।”

भेटका क्रममा नेकपाका संयोजक दाहालले निर्वाचन नभएको भए मुलुक दुर्घटनामा जानेतर्फ संकेत गरेका थिए। उनले भने, “यो निर्वाचन नभएको भए मुलुक अर्को ठुलो दुर्घटनामा जान सक्ने सम्भावना थियो। यसमा जुन साहस र मिहिनेतका साथ तपाईंले काम गर्नुभयो। यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ।” सुरुकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको पनि दाहालले स्मरण गरे।

अस्तव्यस्त अवस्थामा रहेको मुलुकलाई सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको नेकपा नेताहरूको भनाइ छ।

यसअघि प्रधानमन्त्री कार्कीले नेकपा एमालेलगायत राजनीतिक दलका नेता तथा प्रतिनिधिलाई भेट गरी निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिएकी थिइन्।