बागलुङ। बागलुङमा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
बागलुङको गलकोट नगरपालिका ३‚ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु.३च ५१५० नम्बरको पिकअप जिप बागलुङ नगरपालिका ४ रातमाटास्थित मध्यपहाडी लोकमार्गमा बुधबार दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक गलकोट नगरपालिका ३‚ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा ४ डाँडाखेतका २६ वर्षीया शारदा खत्री, वडा ७ बामियाँका २४ वर्षीय रोशन थापा, वडा ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी र सोही ठाउँका २२ वर्षीय करण सहनी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिए।
उनका अनुसार घाइते सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते सबैलाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पठाइएको पाण्डेले बताए। उनले भने, “घाइतेहरूको उद्धार गरेर अहिले अस्पतालमा लिएका छौँ। गाडीमा सवार सबै यात्रु घाइते हुनुभएको छ। दुर्घटनाको खबर पाउँदा साथ प्रहरी खटिएर उद्धार गरेको हो।”