काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो फिचर

ई-रिक्साको प्रयोगले विस्थापित पाइडल रिक्सा अब मधेसमै देख्न कठिन

५ चैत्र २०८२
रामदिनेश राउत। सबै तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। मधेसमा एक दशकअघिसम्म पाइडल रिक्सा जताततै देखिन्थ्यो। एउटा चोकबाट अर्को चोक पुग्ने माध्यम नै यही रिक्सा थियो। तर, ई-रिक्सा चल्न थालेपछि पाइडल रिक्सा विस्थापित छन्। अचेल वीरगन्ज, जलेश्वर, जनकपुरधाम र गौर बजारमा समेत पाइडल रिक्सा बिरलै देख्न सकिन्छ।

कतिसम्म भने, पाइडल रिक्सा चलाउने नयाँ पुस्ताका कोही छैनन्, यो रिक्सा बूढापाकाले मात्रै चलाउने गरेका छन्। पाइडल रिक्सा चलाउन श्रम र बल बढी चाहिने अनि दैनिक आम्दानी पनि कम हुने भएकाले युवा वर्ग यसप्रति आकर्षित देखिँदैन। पाइडल रिक्साबाट गन्तव्यमा पुग्न बढी समयसमेत लाग्छ।

रामदिनेश राउत।

अपवाद नै सही, जनकपुरधाममा अहिले पनि नियमित रूपमा पाइडल रिक्सा चलाउनेमध्ये पर्छन् घनश्याम झा। जनकपुरधाम उपमहानगरपालिका-४ निवासी झा ७४ वर्षका भए। ४१ वर्षदेखि उनले पाइडल रिक्सा चलाउँदै आएका छन्। यसैबाट उनको दैनिक गुजारा चलेको छ। एक दशकयता चाहिँ उनको आम्दानी घटेको छ। बुढ्यौलीका कारण पाइडल रिक्सा चलाउन जरुरी पर्ने ऊर्जा र बल कम भएको छ। विगतमा पाइडल रिक्सामा यात्रा गर्नेहरू ई-रिक्सातिर लागेपछि घनश्याम पनि आफ्नो रिक्सामा ग्यास सिलिन्डर ढुवानी गरिरहेका छन्। भन्छन्, “बुढेसकालमा कमाएर पाल्ने छोरीछोरी छैनन्, जग्गा-जमिन छैन। यही रिक्साको आम्दानीले दुई छाक टार्ने गरेको छु।”

घनश्याम झा।

हरेक दिन बिहान पसलमा गएर सिलिन्डर लिने र ग्राहकहरूको घरमा पुर्‍याउनु घनश्यामको दैनिकी हो। उनका अनुसार विगतमा रिक्सा भाडा न्यूनतम ५० पैसा र अधिकतम १०० रुपैयाँ थियो। अहिले ई-रिक्साको न्यूनतम भाडा नै २० रुपैयाँ छ। झा भन्छन्, “त्यतिखेर हामीलाई २० रुपैयाँ कमाउन बिहान-दिउँसो परिश्रम गर्नुपर्थ्यो। तर, अहिले जमाना बदलिएको छ।”

घनश्याम झा।

घनश्यामले भारतको उमगाँवबाट ८०० रुपैयाँमा रिक्सा किनेर ल्याएका थिए। त्यही रिक्सा नै अहिलेसम्म चलाउँदै आएको उनी सुनाउँछन्। झाले रिक्सा चलाउन थाल्दा जनकपुरधाममा तीन हजारको हाराहारीमा पाइडल रिक्सा थिए। शिव चोक, जनक चोक, भानु चोक, राम चोक, बसपार्कमा रिक्सा स्ट्यान्ड नै थियो। रिक्सा चालकहरूको सशक्त युनियन थियो। त्यसले राजनीतिक परिवर्तनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने गरेको थियो। रिक्सा युनियनको नेता छान्ने बेला राजनीतिक दलको पनि चासो हुन्थ्यो। झा थप्छन्, “अब हामी एक्का-दुक्का मात्र छौँ। हामीले पनि यो पेसा छाड्ने हो भने नयाँ पुस्ताले यो रिक्साबारे थाहै पाउँदैन।”

रामदिनेश राउत।

जनकपुरधाम उपमहानपरपालिका-१२ कुवाका ६८ वर्षीय रामदिनेश राउतले करिब ४५ वर्षदेखि रिक्सा चलाउँदै आएका छन्। उनी भन्छन्, “अब त पुराना रिक्सा देख्नै छाडियो। एकदुई वटा मात्र देखिन्छ।” उनी जनकपुर विमानस्थल नजिक भेटिन्छन्। जनकपुर आउने पर्यटकहरूलाई घुमाउन मात्रै आफ्नो रिक्सा प्रयोग गर्ने गरेको उनी बताउँछन्। भन्छन्, “छोराछोरी आ-आफ्ना घरमा छन्। यही रिक्सा चलाएर आफू र श्रीमतीको खाना र औषधि जुटाउँछु।”

रामदिनेश राउत।

एक दशकअघिसम्म जनकपुरको सडकछेउमा रंगीचंगी सिट, ह्यान्डलमा झुन्डिएका घुंघरुसहितका रिक्साको लहर नै देखिन्थ्यो। तर, आधुनिकताका कारण अहिले पाइडल रिक्साको रौनक नै गायब भएको छ।

रामदिनेश राउत।