काठमाडौँ। काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा नि:शुल्क परीक्षण गरिने भएको छ।
सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीको आँखा जाँच गरिने भएको हो। काठमाडौँ महानगर र नेपाल आँखा अस्पतालबीच आँखा परीक्षण गर्ने सम्झौता भएको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनीता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत कम्तीमा ३० विद्यालयका २० हजार विद्यार्थीको आँखा जाँच गर्नुपर्नेछ। जाँचपछि आवश्यकताअनुसार औषधि तथा चस्मा पनि वितरण गरिनेछ।
महानगरकी कार्यवाहक प्रमुख सुनीता डंगोल डंगोलले बालबालिकामा अत्यधिक मोबाइलको लत बढ्दै गएकाले सम्भावित दृष्टिदोष पत्ता लगाई आँखाको स्वास्थ्य प्रवर्द्धन गर्न अस्पतालसँग सम्झौता गरिएको बताइन्।