काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

६ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भएको जनाएको छ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो।

विभागका मौसमविद् मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ। मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ। मकवानपुर गढीमा ४४ दशमलवव २ मिलीमिटर वर्षा भएको दाहालले जानकारी दिए।

त्यस्तै काठमाडौँको बबरमहल क्षेत्रमा ७.८ मिलिमिटर तथा कीर्तिपुरमा १६.८ मिलीमिटर वर्षा मापन गरिएको मौसमविद् दाहालले बताए। हाल भइरहेको वर्षा प्रणाली पश्चिमबाट विस्तारै उत्तरपूर्वतर्फ सर्दै गएको उनले जानकारी दिए।

विभागका अनुसार हुरीबताससहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन्। विभागले अत्यावश्यकबाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

आज राति र भोलिसम्म मधेस प्रदेशलगायत कोसी, बागमती, लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ। कमजोर अवस्थामा रहेका रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात पनि प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउनुहुन विभागको अनुरोध हो।