काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

६ चैत्र २०८२
अ+
अ-

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एमआरआई सेवा सुरु गरिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पतालको ११६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गरेका हुन्। लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा एमआरआई मेसिन जडान गरी सेवा सञ्चालनमा ल्याइएको हो। सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोत-साधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको जनाइएको छ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिए। विशिष्ट तथा विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले उक्त अवधारणा अघि सारिएको उनले स्पष्ट पारे।

उनले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।

मुख्यमन्त्री आचार्यले एमआरआई सेवा सञ्चालनमा आएपछि सेवाग्राहीले अब सस्तो र सुलभ रूपमा सेवा पाउने तथा भारतको गोरखपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए।

साथै १२०० शय्याको नयाँ अस्पताल भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए। तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।

स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न आवश्यक कानुनी व्यवस्था गरिएको बताउँदै उनले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेकामा धन्यवाद दिँदै अझ समर्पित भएर जनसेवामा लाग्न आग्रह गरे।