काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

७ चैत्र २०८२
अ+
अ-

बुटवल। कपिलवस्तुको महाराजगन्जमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

नगरपालिकाको बर्गदा गाउँमा शनिबार बिहान दुई समुदायबीच धार्मिक विषयमा भएको विवादले उग्ररूप लिएपछि स्थितिलाई नियन्त्रणमा राख्न निषेधाज्ञा जारी गरेको हो।

मुस्लिम समुदायको पर्व ईदका अवसरमा मस्जिदमा नमाज पढ्ने क्रममा शनिबार त्यहीनजिक रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन लगाइएको भन्दै मुस्लिम र हिन्दु समुदायबीच भएको विवादले उग्ररूप लिएको थियो। विवादपछि दुई समुदायबीच ढुंगा हानाहानसमेत भएको थियो।

घटनापछि निमित्त प्रजिअ भविश्वर घिमिरेले सूचना जारी गर्दै शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महराजगन्ज नगरपालिकाको पूर्व बगर्दी पुल, पश्चिम बहादुरगन्ज चोक, उत्तर महाराजगन्ज बजार र दक्षिण हर्दौनासम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन्।

स्थानीय प्रशासन २०२८ को दफा ६ को ३ क बमोजिम निषेधाज्ञा जारी गरिएको हो। आदेश उल्लघंन गर्नेलाई कानुनअनुसार नियन्त्रणमा लिई कारबाही गरिने निमित्त प्रजिअ घिमिरेले बताए।

प्रदर्शनका क्रममा झडप हुँदा सुरक्षाकर्मी र सर्वसाधारण गरी ६ जना घाइते भएको निमित्त सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

प्रदर्शनकारीले तौलिहवा-बहादुरगन्ज सडक खण्डअन्तर्गत महाराजगन्जको गैँडहवामा टायर बालेर विरोध प्रदर्शन गर्दै बाटोसमेत अवरुद्ध गरेका छन्। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।