काठमाडौँ। धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तर प्रदेशस्थित अयोध्या मन्दिरसम्मको दौड यात्रा शनिबारदेखि सुरु गरेका छन्।
करिब ४५० किलोमिटर दूरी ५५ वर्षीय कार्कीले १३ चैत (रामनवमी) का दिनमा पूरा गर्ने बताए। दौडअघि नै कार्की र पूर्वखेलाडी गोकुल खत्रीले रुट अवलोकन गरेका थिए।
गोदावरी नगरपालिका १, गोदामचौरमा रहेको हनुमान मन्दिरबाट कार्कीले दौड आरम्भ गरेका हुन्। उनी त्यहीँका बासिन्दा हुन्।
मन्दिर परिसरमै सफलताका लागि शुभकामना दिदै कार्कीका बुबा शिवराम, शुभचिन्तकलगायतले कार्कीलाई बिदाइ गरेका थिए।

धावक रामसुन्दरलाई बिदाइ गर्दै बुबा शिवराम कार्की।
कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा तीनपटक, काठमाडौँ बुटवल एकपटक, काठमाडौँदेखि सिन्धुली तीनपटक र काठमाडौँदेखि उत्तर प्रदेश एकपटक दौडेर पुगेका थिए।
त्यस्तै उनले काठमाडौँदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिलिङसम्म दौडिएका थिए। कार्कीका अनुसार २०६४ सालमा १०१ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्ला दौडेर पुगेका थिए।

धावक रामसुन्दर कार्की दौड आरम्भ गर्दै।