काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

७ चैत्र २०८२
सन्दर्भ तस्बिर
अ+
अ-

सङ्खुवासभा। सङ्खुवासभाको चैनपुरमा रहेको विशेष नापी कार्यालयले १२ हजार हेक्टर जग्गा नापजाँच सम्पन्न गरेको छ।

विसं २०५९ वैशाख १४ गते चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनीका हुँदा सङ्खुवासभाका चार स्थानीय तहका सक्कल नक्सा र फिल्डबुक तथा जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायत महत्त्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका थिए।

द्वन्द्वका बेला आगजनीबाट नष्ट भएका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकाभित्रका २४ हजार हेक्टरको सक्कल नक्सा र फिल्डबुक तथा जग्गाधनी दर्ता श्रेस्ता पूर्ण रूपमा नष्ट भएका थिए।

विशेष नापी कार्यालय चैनपुरले द्वन्द्वकालमा आगलागीका कारण नष्ट भएका सक्कल नक्सा र जग्गाधनी दर्ता श्रेस्ता पुनः अभिलेख राख्न जग्गाको नापजाँच तीव्र बनाएको हो।

हालसम्म १२ हजार १५३ हेक्टर जग्गाको नापजाँच सकिएको विशेष नापी कार्यालयका प्रमुख हरिशरण नेपालले जानकारी दिए । आवादी सात हजार ३१२ हेक्टर र चार हजार ८४१ सरकारी जग्गाको पुनः नापजाँच गरिसकिएको उनले बताए।

सीमित स्रोतसाधन र जनशक्तिका कारण चार पालिकाको २४ हजार हेक्टरमध्ये हालसम्म १२ हजार १५३ जग्गाको नापजाँच तथा नापनक्सा सम्पन्न भइसकेको प्रमुख नेपालले जानकारी दिए। उनका अनुसार जग्गाको नापजाँचका शीघ्र सम्पन्न गर्न चार वटा प्राविधिकसहितको टोली विभिन्न स्थानमा खटिएका छन्।

हाल विशेष नापी कार्यालयले चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको छ । आगलागीमा नष्ट भएका चैनपुर–८ र ९ का एक हजार १९० जग्गाधनीले लालपुर्जा पाइसकेका छन्।

त्यसैगरी, नापनक्सा सकिएका चैनपुर(९ का ६२७ र वडा नं ८ का ५६३ जग्गाधनीको लालपुर्जा वितरण भइसकेको विशेष नापी कार्यालयले जनाएको छ।

कागजात नभएकाले स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए। विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनः स्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो।

बसाइसराइले जनसहभागिता कमी, नियन्त्रण विन्दु नभेटिने, पुरानो सफ्टवेयर, घाममा उपकरण बिग्रिरहनेलगायत कारणले नापनक्सा तथा लालपुर्जा वितरणमा केही ढिलाइ भएको कार्यालयले जनाएको छ।