काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

८ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। नेपालयको ‘आर’ सालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेल प्रस्तुत हुने भएका छन्।

पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो। दुर्गा नेपाली सांगीतिकजगतका सम्पूर्ण नेपालीभाषी स्रोताबीच स्थापित नाम हो। खासगरी- ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ दुर्गाको स्वरमा लोकप्रिय बनेको गीत हो। दाजु बद्री खरेल र दुर्गा खरेलको सांगीतिक जोडी बद्री-दुर्गाको नामले चिनिँदै आएको छ। यसपल्ट भने दुर्गाले बाल्यकालदेखि आफूले सुनेका र मनमा गढेर रहेका मेलोडी लिएर आएका छन्। कार्यक्रममा दुर्गाका साथै पलेँटीकी कण्ठ-शिल्पी अभिज्ञा घिमिरेको स्वरमा अतीतका धुनहरू गुञ्जनेछन्।

संगीतकार गोपाल योञ्जनको सामीप्यमा हुर्किएका दुर्गाले सानोछँदा अम्बर गुरुङ, जितेन्द्र बर्देवा, शान्ति ठटाल, कर्म योञ्जनलगायत अनेकौँ स्वनामधन्य सर्जकका सिर्जनाको रसास्वादन गर्न पाए। गीतकार नरदेन रुम्बासँग त सहकार्य नै गर्ने अवसरसमेत जुर्‍यो। उनले विगतको त्यही परिवेशलाई पलेँटीमा झल्काउने जानकारी गराए। जसमा गीत-संगीतका सर्जक अम्बर गुरुङ, गोपाल योञ्जन, बलु बराइली, एमबी सुन्दास, नरदेन रुम्बा, फटिकधर ब्राह्मण आदिका रचना समेटिएका छन्।

यसपालीको पलेँटीबारे कार्यक्रम संयोजक आभास भन्छन्‚ “स्वरांकित हुन नपाएका पुराना सांगीतिक रचनालाई सम्वर्द्धन गर्नु पनि पलेँटीको उद्देश्य हो। त्यही भएर यसपालिको पलेँटीमा दुर्गा खरेलको स्मृतिमार्फत दार्जिलिङका पुराना सिर्जनालाई समेट्ने प्रयास गरेका छौँ।”

पहिलोपटक सन् २००८ मा पलेँटी कसेको सम्झना गर्दै दुर्गा भन्छन्‚ “यसभन्दा पहिले दुईचोटि हामी आफ्नो संगीतमा विभिन्न गीतकारका गीत लिएर उपस्थित भएका थियौँ। यसपल्ट भने मेरो वैयक्तिक सम्झनामा रहेका दार्जिलिङे संगीतकारका गीतहरू लिएर पलेँटीमा प्रस्तुत हुँदै छु। यो कार्यक्रम मेरो जीवनका अत्यन्तै महत्त्वपूर्ण कार्यभित्र पर्छन्। पहिले झैँ यसपल्ट पनि दर्शक, स्रोताको माया पाउनेमा पूर्ण विश्वास छ।”

पलेँटी कार्यक्रम यही मार्च महिनाको अन्तिम शुक्रबार र शनिबार (२७ र २८ तारिख) आयोजना हुनेछ। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुने कार्यक्रमको टिकेट www.paleti.com.np लगइन गरेर अनलाइनबाटै प्राप्त गर्न सकिन्छ।

‘आर’शालामा उपस्थित हुन असमर्थ संगीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था गरिएको छ। त्यसका निम्ति पलेँटीको वेबसाइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ।