आवरण
पछिल्ला १२ वर्षमा चट्याङबाट ९६४ जनाको गयो ज्यान, पूर्वतयारीमा सरकारको छैन ध्यान
जब जब आकाशमा कालोमैलो बादल मडारिन थाल्छ, भोजपुरको रामप्रसाद राई गाउँपालिका-१, ओख्रेकी स्मिता बानियाँ (१७) आत्तिन्छिन्। बिजुली चम्किँदै गड्याङगुडुङ गर्दा डरले शरीर काँप्छ। फागुन २०७६ मा चट्याङ लागेर घाइते बनाएयता उनलाई यस्तो हुन थालेको हो। भन्छिन्, “पहिलेजस्तै घटना होला भनेर डर लागिराख्छ।”
चट्याङले घाइते बनाउँदा स्मिता ११ वर्षकी थिइन् र कक्षा ६ मा पढ्थिन्। ६ वर्षअघिको त्यो दिन उनी विद्यालयबाट फर्केर घरभित्र खाजा खाँदै थिइन्। बाहिर हावाहुरीसहित असिनापानी पर्दै थियो। त्यही रमिता हेर्न हजुरआमासँगै ढोकानेर उभिएकी मात्रै के थिइन्, अचानक चट्याङले हानेर दुवै आँखा र शरीरमा चोट लाग्यो। दाहिने आँखा हेर्नै नमिल्ने बन्यो। उनकी हजुरआमाको दायाँ हातमा चोट लागेको थियो।
चट्याङ लागेर ढलेकी स्मिताको १० घण्टापछि मात्रै होस खुल्यो। उनकी हजुरआमा डेढ घण्टापछि होसमा फर्किइन्। चट्याङले लागेर शरीरको दाहिने भाग नचल्ने भएको थियो। विराटनगरमा उपचार गर्न लगेपछि ठीक भइन्। तर आकाश गड्याङगुडुङ गर्न थाल्नेबित्तिकै डराउँछिन्।
स्मितालाई जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि काठमाडौँको तिलगंगा आँखा अस्पताल पुर्याइयो। त्यहाँ शल्यक्रिया गरेपछि मात्रै स्मिता देख्न सक्ने भइन्। दाहिने आँखा भने कमजोर नै छ। ‘प्लस टु’ पावरको चस्मा नलगाए टाढाको वस्तु ठ्याम्मै देख्न सक्दिनन्। शल्यक्रियापछि एक वर्षजति महिनैपिच्छे ‘फलोअप’ गर्नुपरेको थियो। उपचार र फलोअपका लागि आउजाउ, खानेबस्ने गरेर पाँच लाख रुपैयाँभन्दा बढी खर्च लागेको थियो। “अहिले पनि ६/६ महिनामा फलोअप गर्नुपर्छ। आँखा कमजोर भएकाले बेलाबेला रिँगटा लाग्छ, टाउको दुख्ने भइरहन्छ,” उनी भन्छिन्।
भोजपुरको ओख्रेमा बर्सेनिजसो चट्याङ खस्छ। स्मितालाई चट्याङ लाग्नु केही वर्षअघि छिमेकको घरमा १३ वर्षीया बालिकाको चट्याङकै कारण ज्यानै गएको थियो। कक्षा ९ मा पढ्ने उनी बिहान साढे नौ बजेतिर विद्यालय जान कोठामा लुगा फेर्दै गर्दा चट्याङ लागेर मृत्यु भएको थियो। “हाम्री फुपू नाता पर्ने थिइन्, प्राथमिक उपचारसमेत गर्नै नपाई ठाउँको ठाउँ बितिन्,” स्मिताका काका डीबी बानियाँ भन्छन्। छोरी गुमाएपछि बालिकाको परिवार त्यो पुर्ख्यौली थातथलोमा अडिन सकेन। घटनाको एक वर्ष नबित्दै बसाइँ सरेर मधेस झर्यो।
डीबीका अनुसार २०७७ सालमा चट्याङले हानेरै छिमेकी घर चिराचिरा परेको थियो। चट्याङ परिरहने र मानवीय तथा भौतिक क्षति हुने गरेपछि ओख्रेका बासिन्दा आश्चर्यमा छन्। “यस क्षेत्रमा यति धेरै चट्याङ पर्नुको ठ्याक्कै कारण के हो भनेर कुनै अध्ययन भएको छैन। गाउँका ठूलाबडा चाहिँ बिजुलीको लाइन आएपछि र गाउँ मास्तिर टेलिकमको टावर राखेपछि यस्तो घटना धेरै हुन थालेको हो भन्छन्,” डीबी भन्छन्।
१२ वर्षमा ९६४ को मृत्यु
सरकारी अभिलेख हेर्दा विपद्का घटनामध्ये मानवीय क्षति गराउनेमा पहिरो र आगलागीपछि तेस्रो स्थानमा पर्छ चट्याङ। चट्याङ लागेर बर्सेनि औसत ८० जनाको मृत्यु र २६५ जना घाइते हुने गरेको देखिन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् पोर्टलको तथ्यांकअनुसार सन् २०१४ देखि २०२५ सम्म देशभर चट्याङका तीन हजार २०९ वटा घटना भए। यी घटनामा ९६४ जनाको मृत्यु भयो भने तीन हजार १७९ जना घाइते भए।
जिल्लागत तथ्यांक विश्लेषण गर्दा मकवानपुरमा सबैभन्दा बढी चट्याङ पर्ने गरेको छ। १२ वर्षमा यस जिल्लामा १६८ पटक चट्याङ खसेको छ र चट्याङका कारण सबैभन्दा बढी मृत्यु र घाइते भएका पनि यही जिल्लाका छन्।
मृत्यु हुनेमा पुरुष ४५१ जना, महिला २९५ र लैंगिक पहिचान नखुलेका २१८ जना छन्। सन् २०१४ यताको १२ वर्षमा चट्याङका कारण भौतिक संरचना र पशुचौपायामा भएको क्षति ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको छ। यस हिसाबले चट्याङबाट वार्षिक औसत एक करोड रुपैयाँ बराबरको निजी सम्पत्ति र संरचनामा क्षति भइरहेको छ।

जिल्लागत तथ्यांक विश्लेषण गर्दा मकवानपुरमा सबैभन्दा बढी चट्याङ पर्ने गरेको छ। १२ वर्षमा यस जिल्लामा १६८ पटक चट्याङ खसेको छ र चट्याङका कारण सबैभन्दा बढी मृत्यु र घाइते भएका पनि यही जिल्लाका छन्। यस अवधिमा चट्याङका कारण मकवानपुरमा ६८ जनाको मृत्यु भएको छ भने २६७ जना घाइते भएका छन्। मकवानपुरपछि बढी मृत्यु हुनेमा मोरङ (४० जना), उदयपुर (३८ जना), झापा (२९ जना), बागलुङ (२७ जना) र सप्तरी (२६ जना) छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार आव २०७०/७१ देखि २०८१/८२ सम्म देशभर चट्याङका कारण चार हजार ९६ परिवार प्रभावित भएको छ।
माथिको तथ्यांक चट्याङले क्षति पुगेर प्रहरी र प्राधिकरणमा रिपोर्टिङ गरिएका मात्रै हुन्। चट्याङको क्षति ग्रामीण भेगका दूरदराज र विपन्न परिवारमा बढी पर्ने भएकाले कतिपय घटना अभिलेखमा नआएको हुन सक्ने चट्याङविज्ञ श्रीराम शर्मा बताउँछन्।
गाईबस्तु चराउँदा, खेतबारीको काम वा घाँसदाउरा गर्दागर्दै चट्याङ लागेको घटना सुनिन्छ। तर, नेपालमा चट्याङ पर्ने कारण र यसको असरबारे विस्तृत अध्ययन हुन सकेको छैन।
गाईबस्तु चराउँदा, खेतबारीको काम वा घाँसदाउरा गर्दागर्दै चट्याङ लागेको घटना सुनिन्छ। तर, नेपालमा चट्याङ पर्ने कारण र यसको असरबारे विस्तृत अध्ययन हुन सकेको छैन।
चट्याङविज्ञ शर्माको अध्ययनले भने प्राय: पहाडी भेगमा चट्याङ पर्ने गरेको र अग्ला भूभागका बस्तीमा बढी क्षति हुने देखाएको छ। “ती बस्तीमा फलामे रड प्रयोग नगरी वा एकदम कम प्रयोग गरेर बनाइएका पुराना घरटहरामा क्षति भएको छ, फलामका रड प्रयोग गरियो भने चट्याङबाट उत्पन्न हुने ऊर्जा बाहिरबाहिरै बगेर जान्छ, जोखिम ५० प्रतिशतले कम हुन्छ,” उनी भन्छन्।
शर्माका अनुसार गाउँमा बस्ने मानिस सधैँ चट्याङको जोखिममा हुन्छन्। यस्तै, सहरी क्षेत्रमा चट्याङ परेमा विद्युतीय उपकरण र विद्युतीय तारमार्फत आगलागी हुन सक्छ र बस्ती नै जोखिममा पर्न सक्छ।

पूर्वतयारी र सतर्कतामा उपेक्षा
चट्याङ अरू विपद्जस्तो लामो समय रहँदैन, क्षणभरमा धनजनको क्षति गरेर जान्छ। यो विपद्बाट जनधनको क्षति बर्सेनि बढिरहे पनि नागरिक सुरक्षाका लागि सरकारले पूर्वतयारीमा ध्यान दिएको छैन। जोखिम न्यूनीकरण गर्ने गरी पूर्वसूचना प्रणाली विकास र पूर्वसतर्कता अपनाउने पाटोमा कामै भएको छैन। देशभरको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा काम गर्न गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण छ। तर, यसले क्षतिको अभिलेख राख्नेबाहेक चट्याङको जोखिम न्यूनीकरणमा उल्लेख्य काम गरेको पाइँदैन।
प्राधिकरणका उपसचिव राजेन्द्र शर्मा पनि चट्याङबारे विशेष काम गर्न नसकेको स्विकार्छन्। भन्छन्, “चट्याङलाई रोक्न सकिँदैन। यसबाट बच्ने उपायबारे भने समग्र विपद्बारे चर्चा हुँदा समेटेका हुन्छौँ। सामाजिक सञ्जालमा जनचेतनामूलक सामग्री हाल्छौँ। तर, चट्याङलक्षित छुट्टै अध्ययन, अनुसन्धान र नीतिनियम बनाएर काम गर्न सकिएको छैन।”
चट्याङ लागेर मानिसको मृत्यु हुने त छँदै छ, पक्षाघात हुने, दृष्टिविहीन हुने र चट्याङको चर्को आवाजले कानको जाली फुट्नेजस्ता असर पनि पर्छन्।
चट्याङले गर्ने जनधनको क्षतिबारे प्राधिकरण पूर्ण रूपमा जानकार रहेको शर्मा बताउँछन्। तर, चट्याङको विषयमा कार्ययोजना बनाउने थालनीसमेत भएको छैन। जबकि, प्राधिकरणले बाढी, पहिरो, आगलागी, डढेलो, हिमपात, शीतलहर, लु (तातो हावा) जस्ता विपद्सँग जुध्न वर्षैपिच्छे कार्ययोजना बनाएर प्रतिकार्यमा लाग्छ।
प्राधिकरणका उपसचिव शर्मा पूर्वसूचना प्रणालीमा काम गर्ने योजना भए पनि भनेजसरी काम हुन नसकेको बताउँछन्। “नेपालमा चट्याङसम्बन्धी विज्ञता भएका जनशक्ति एकदमै थोरै भएकाले भनेजसरी काम हुन नसकेको हो,” उनी भन्छन्। चट्याङबाट हुने धनजनको क्षतिमा बाढीपहिरो, भूकम्पजस्ता क्षतिजस्तै राहत र सहायता दिने काम मात्र गर्दै आएको उनी बताउँछन्।
कसरी पर्छ चट्याङ?
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार बादल र पृथ्वीको बीच वा बादल बादलकै बीच बग्ने विद्युतीय करेन्टबाट हुने प्राकृतिक प्रकोप नै चट्याङ हो। यो मौसमी परिवर्तनसँगैको हावाको बहाव, गति र बादलको सक्रियतामा आधारित हुन्छ। जाडो सकिएर गर्मी याम सुरु भएपछि दिनभर घाम लाग्ने, खोलानाला तथा तालतलैयाका पानी बाफिएर जलवाष्प बोकेको हावा आकाशतिर उड्ने, बादल बन्ने, फाट्ने, घर्षण हुने र अग्ला पहाडमा ठोक्किने क्रममा चट्याङ पर्छ। वरिष्ठ मौसमविद् पौडेल भन्छन्, “सामान्यतया प्रि-मनसुन र मनसुनको सिजनमा तापक्रम बढ्ने, हावाको बहाव सक्रिय हुने भएकाले चट्याङ बढी पर्छ।”
चट्याङलाई रोक्न वा छेक्न सकिँदैन। यसबाट बच्न वा क्षति कम गर्न सतर्कता र पूर्वतयारी जरुरी हुन्छ। यसका लागि घरबाहिर र भित्र हुँदा सतर्कताका उपाय अपनाउनुपर्ने हुन्छ।
प्रि-मनसुन भनेको मुख्य मनसुन अर्थात् वर्षा याम सुरु हुनुअघिको मौसमी अवस्था हो। जसमा तापक्रम बढ्ने, हावाहुरी चल्ने, मेघ गर्जंदै चट्याङसहित पानी पर्नेसहितका विशेषता देखिन्छन्। नेपालमा प्रि-मनसुन प्राय: मार्चदेखि जुनको सुरुआतसम्म रहन्छ, अर्थात् चैतदेखि जेठसम्म। यसपछि जुन महिना (असार)बाट मुख्य मनसुन सुरु हुन्छ। नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो।
चट्याङविज्ञ शर्माका अनुसार मे र जुनमा धेरै मात्रामा चट्याङ पर्छ। मनसुन भित्रिएपछि चट्याङ पर्ने दर घट्छ। फेरि अगस्ट र सेप्टेम्बरमा तथा कर्णालीमा जाडो याममा पनि चट्याङले केही असर पारेको पाइन्छ।

चट्याङ तीन प्रकृतिका हुन्छन्। तीमध्ये दुई खालका चट्याङ आकाशमै पर्छन् र उतै बिलाउँछन्। एउटै ठूलो बादलको विपरीत ध्रुवमा बहिरहेका विद्युतीय करेन्ट आपसमा ठोक्किएर तथा एउटा र अर्को बादल ठोक्किएर पर्ने चट्याङ आकाशमा सीमित हुन्छ। तर, पृथ्वीमा खस्ने चट्याङ जोखिमपूर्ण हुन्छ। विद्युतीय करेन्ट भएको बादल अग्ला पहाड, घर-भवनजस्ता संरचना, रूख, विद्युत्का पोलमा ठोक्किँदा धनजनको क्षति हुने गर्छ। “धेरैलाई आकाशबाट सिधै आएको चट्याङ लागेर क्षति पुर्याउँछ भन्ने लाग्छ, तर बादलमा भएको विद्युतीय करेन्ट जमिन भएर बग्दा क्षति हुने हो। यसो हुँदा ५०० मिटर पर खस्दासमेत क्षति पुग्छ,” चट्याङविज्ञ शर्मा भन्छन्।
चट्याङ लागेर मानिसको मृत्यु हुने त छँदै छ, पक्षाघात हुने, दृष्टिविहीन हुने र चट्याङको चर्को आवाजले कानको जाली फुट्नेजस्ता असर पनि पर्छन्।
चट्याङको असरबाट बच्न गाउँ वा सहरमा घरमा ‘अर्थिङ’ अर्थात् चट्याङ प्रतिरक्षा प्रणाली जडान गर्नुपर्छ। तामा, आल्मुनियम तथा जीआईजस्ता धातुका निश्चित मोटाइका पाता वा रड जडान गरेर प्रतिरक्षा प्रणालीको व्यवस्थापन गर्न सकिन्छ।
स्थानीय वायुको प्रभावका कारण चट्याङ प्राय: दिउँसो दुई बजेदेखि साँझ सात बजेसम्मको समयमा पर्छ। कहिलेकाहीँ भने पश्चिमी वायु, बे अफ बंगाल, अरब सागरबाट आउने वायुको प्रभावका कारण बिहान वा राति पनि चट्याङ पर्छ।
विश्वव्यापी तापक्रम वृद्धिसँगै चट्याङ पर्ने दर र यसको क्षति बढ्दो छ। चट्याङविज्ञ शर्मा भन्छन्, “पृथ्वीको तापक्रम एक डिग्रीका दरले बढ्दा चट्याङ पर्ने सम्भावना १० देखि १२ प्रतिशत बढ्छ। विश्वव्यापी रूपमा तापक्रम बढिरहेकाले विषम खालको मौसमी प्रणाली विस्तार हुने हुँदा चट्याङ पर्ने दर बढेको छ।”
चट्याङबाट बच्ने उपाय
चट्याङलाई रोक्न वा छेक्न सकिँदैन। यसबाट बच्न वा क्षति कम गर्न सतर्कता र पूर्वतयारी जरुरी हुन्छ। यसका लागि घरबाहिर र भित्र हुँदा सतर्कताका उपाय अपनाउनुपर्ने हुन्छ।
आकाशमा गड्याङगुडुङ सुरु हुँदा घरबाहिर भएको अवस्थामा रूखमुनि, खेतबारी वा खुला मैदानमा र विद्युत् पोलजस्ता धातुका सामग्री नजिक बस्न नहुने वरिष्ठ मौसमविद् पौडेल सुझाव दिन्छन्। सकेसम्म घरैभित्र पस्नुपर्छ। तर, घरभित्र रहँदा पनि सजगता अपनाउनुपर्छ। पौडेलका अनुसार घरभित्र हुँदा विद्युतीय उपकरण प्रयोग गर्ने, तारसहितको टेलिफोनमा कुरा गर्ने, सिधै धाराबाट नुहाउने वा लुगा धुने जस्ता कार्य गर्न हुँदैन। झ्यालढोका बन्द गरेर बस्नुपर्छ र भित्तामा जिउ नटाँसी परै बस्नुपर्छ।
चट्याङको असरबाट बच्न गाउँ वा सहरमा घरमा ‘अर्थिङ’ अर्थात् चट्याङ प्रतिरक्षा प्रणाली जडान गर्नुपर्छ। तामा, आल्मुनियम तथा जीआईजस्ता धातुका निश्चित मोटाइका पाता वा रड जडान गरेर प्रतिरक्षा प्रणालीको व्यवस्थापन गर्न सकिने चट्याङविज्ञ शर्मा सुझाउँछन्। ती सामग्रीको सही प्रयोगले चट्याङको करेन्टलाई सरल बाटो दिन्छ र करेन्ट प्रवाहबाट हुने क्षति कम गर्छ।
तर, देशभर कति घरमा अर्थिङ गरिएको छ भन्ने तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा छैन।
पूर्वसूचना प्रणालीमा मकवानपुर मोडल
चट्याङजन्य जनधनको क्षति न्यूनीकरणका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकामा पूर्वसूचना प्रणाली जडान गरिएको छ। चेक गणतन्त्रको गैरनाफामूलक संस्था पिपल इन निडको आर्थिक सहयोग र चट्याङविज्ञ शर्मा अध्यक्ष रहेको दक्षिण एसियाली चट्याङ सञ्जालको प्राविधिक सहयोगमा वैशाख २०८२ मा प्रणाली स्थापना गरिएको हो।
यस प्रणालीले चट्याङ आउनुभन्दा करिब १६ मिनेटअघि नै सूचना दिन सक्छ। प्रणालीले आकाशमा विद्युतीय करेन्ट थाहा पाएपछि १६ किलोमिटरको रेडियसभित्र साइरनमार्फत चेतावनी दिन्छ। काभ्रे र भक्तपुरको सिमानामा पर्ने नगरकोटमा सफल परीक्षण गरेपछि राक्सिराङमा पहिलो पटक स्थायी रूपमा जडान गरिएको शर्मा बताउँछन्। यो पूर्वसूचना प्रणालीअन्तर्गत एउटा मुख्य सेन्सर र नौ वटा साइरन जडान गरिएका छन्। “यसले चट्याङका घटनाबाट जोगिन सघाएको भन्दै थप साइरन जडान गरिदिन समुदायबाट माग भइरहेको छ,” शर्मा भन्छन्।
सरकारले भने चट्याङसम्बन्धी पूर्वसूचना प्रणालीमा यो स्तरको कार्यक्रम लागु गरिसकेको छैन। वरिष्ठ मौसमविद् पौडेल भन्छन्, “प्राय चट्याङ बादलभित्र पर्ने हो। यसको अवधि आधादेखि एक घण्टाको हुन्छ। हामी अहिले छिटोमा ६ घण्टापछिको चट्याङ पर्ने सम्भावनाको अनुमान गर्न सक्छौँ।”
जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी पूर्वानुमानको बुलेटिन वेबसाइट र सामाजिक सञ्जालमा राख्ने गरेको छ। तर, सबै क्षेत्रका समुदायस्तरमा चट्याङसम्बन्धी छुट्टै पूर्वसूचना दिने प्रणाली लागु गरिएको छैन। पौडेल सर्वसाधारणले मौसमसम्बन्धी अपडेट लिँदै सोहीअनुसारको सावधानी अपनाउनुपर्ने सुझाव दिन्छन्।