काठमाडौँ। चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा नेपालको निर्यात व्यापार २०.८३ प्रतिशतले बढेर एक खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। गत माघसम्ममा नेपालले एक अर्ब ६८ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको थियो।
भन्सार विभागले आइतबार प्रकाशन गरेको व्यापारको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट सबैभन्दा बढी निर्यात हुनेमा भटमासको तेल छ। यस अवधिमा नेपालबाट ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमासको तेल निर्यात भएको छ। यसमध्ये सबैभन्दा बढी भारतमा निर्यात भएको छ।
तथ्यांकअनुसार, चालु आर्थिक वर्षको आठ महिनामा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। यस अवधिमा ८२ अर्ब १० करोड मूल्य बराबरको डिजेल आयात भएको छ।
त्यसैगरी, आयातमध्ये दोस्रो स्थानमा भटमासको कच्चा तेल ८१ अर्ब १८ करोड ६३ लाख रुपैयाँ बराबरको आयात भएको छ। तेस्रो स्थानमा भने पेट्रोल छ। आठ महिनामा नेपालले ४३ अर्ब ८९ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरेको छ।
नेपालले सबैभन्दा बढी आयात गर्ने मध्येमा स्मार्ट फोन र सुन छ। यस अवधिमा स्मार्ट फोन २९ अर्ब ९३ करोड र सुन २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको आयात भएको छ।साउनदेखि फागुनसम्ममा नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको विभिन्न बस्तु आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार आयात १२.५४ प्रतिशतले वृद्धि भएको छ।
यसअवधिमा व्यापार घाटा भने ११.२२ प्रतिशत छ। यस अवधिमा भएको १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख रुपैयाँको कुल वैदेशिक व्यापारमा मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ घाटा बेहोरेको हो।
यस अवधिसम्ममा भारतबाट सात खर्ब २४ अर्ब छ करोड रुपैयाँको वस्तु आयात भएको छ भने एक खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँबराबरको निर्यात भएको छ। त्यस्तै, छिमेकी मुलुक चीनसँग दुई खर्ब ७५ अर्ब ६६ करोड ७० लाख रुपैयाँको आयात र ९८ करोड ३३ लाख रुपैयाँको निर्यात हुँदा दुई खर्ब ६४ अर्ब ६८ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा व्यहोर्नुपरेको छ।
नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौँ स्थानमा छन्। नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन्।
पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्याण्डसँग दुई करोड ५७ लाख रुपैयाँबराबर व्यापार नाफा देखिएको छ।