काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

९ चैत्र २०८२
अ+
अ-

काठमाडौँ । नेपाल र हङकङबीच चैत १२ गतेका लागि तय गरिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीचको विवाद थप चर्किएको छ।

एन्फाले सोमबार विज्ञप्ति जारी गर्दै खेल सञ्चालनका लागि आवश्यक आधिकारिक स्वीकृति तथा दशरथ रंगशालाको उपलब्धता समयमै नपाएको जनाएको छ। एन्फाका अनुसार माघ १० गते नै राखेपलाई पत्राचार गरिएको भए पनि लामो समयसम्म कुनै लिखित स्वीकृति प्राप्त नभएको दाबी गरिएको छ।

यसअघि आइतबार एन्फाले रंगशाला उपलब्ध नभएको भन्दै खेल रद्द भएको घोषणा गरेको थियो। तर, त्यसको केही समयपछि राखेपले आफ्नो प्रतिक्रिया दिँदै समयमै स्वीकृति प्रदान गरिएको र एन्फाले भ्रम फैलाएको आरोप लगाएको थियो।

विवाद थप चर्किँदै जाँदा एन्फाले राखेपको दाबीको पुनः खण्डन गर्दै चैत ५ गतेको स्वीकृति पत्र चैत ८ गते मात्र सार्वजनिक गरिएको विषयलाई लिएर प्रश्न उठाएको छ। एन्फाले हालसम्म कुनै आधिकारिक वा लिखित स्वीकृति प्राप्त नभएको पुनः स्पष्ट पारेको छ।

यस घटनापछि एन्फाले खेल स्थगनप्रति खेलप्रेमी नेपालीसँग क्षमायाचना समेत गरेको छ। उता, एन्फाले झापामा चैत १३ गतेका लागि प्रस्तावित आफ्नो आन्तरिक निर्वाचनका लागि पनि राखेपबाट स्वीकृति नपाएको जनाएको छ, जसले दुई निकायबीचको सम्बन्धमा थप तनाव सिर्जना गरेको देखिन्छ।

नेपालको खेलकुद प्रशासनमा प्रमुख निकायबीचको समन्वय अभावले अन्तर्राष्ट्रिय खेलसमेत प्रभावित हुने अवस्था देखिएको छ।