काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

सम्झना

आजपर्यन्त चर्चित २०५१ सालको अर्थमन्त्री भरतमोहन अधिकारीले ल्याएको बजेटका खाका आचार्यले नै कोरेका थिए।

९ चैत्र २०८२
अ+
अ-

अर्थशास्त्रका कठिन सिद्धान्त र अबोध्य सूचकांकलाई पनि सरल रूपमा व्याख्या गरेर बुझाउने अर्थशास्त्री थिए केशवप्रसाद आचार्य। सरकारले लिएको आर्थिक नीतिलाई जनताको जीविकासँग जोडेर विश्लेषण सुनाउँथे उनी। अर्थतन्त्रलाई शालीन शैलीमा बुलन्द व्याख्या गर्ने अर्थशास्त्रीका रूपमा चिनिएका थिए आचार्य।

नीति निर्माणको भित्री तहमा बसेर काम गर्ने, तथ्य र यथार्थमा अडिने उनले नेपालको आर्थिक नीतिको क्रमिक विकासमा  गहिरो छाप छाडेका छन्। केन्द्रीय बैंकदेखि अन्तर्राष्ट्रिय संस्थासम्मको अनुभवले उनलाई व्यावहारिक र सन्तुलित अर्थशास्त्रीका रूपमा स्थापित गरेको थियो। नेपालको दीर्घकालीन आर्थिक विकासका लागि उनको योगदान उल्लेखनीय मानिन्छ।

अर्थशास्त्रमा बेलायतमा स्नातकोत्तर अध्ययन गरेका आचार्य विद्यावारिधिका लागि फिलिपिन्स विश्वविद्यालयको स्कुल अफ इकोनोमिक्समा भर्ना भएका थिए। उनले विद्यावारिधि भने पूरा गरेनन्।

नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय काम गरेका आचार्यले त्यहाँ आर्थिक अनुसन्धान विभागको नेतृत्व सम्हालेका थिए। मौद्रिक नीति, वित्तीय स्थायित्व र समष्टिगत आर्थिक विश्लेषणमा उनको विशेष दखल थियो। उनी सधैँ नीतिको व्यावहारिक पक्ष केलाउन रुचि राख्थे।

सार्वजनिक जिम्मेवारीमा रहँदा होस् वा बाहिर रहँदा, उनी सधैँ अर्थतन्त्रका सूचकहरू केलाइरहेका हुन्थे। सञ्चारमाध्यममार्फत उनले हरेक दिन नीति सुधारको पैरवी र आर्थिक सूचकांकको विश्लेषण गरिरहे।

राष्ट्र बैंकमार्फत मौद्रिक नीतिमा मात्रै होइन, उनी अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारको भूमिकामा रहेर वित्त नीति बनाउन र त्यसको व्यावहारिक कार्यान्वयनमा सक्रिय रहे। २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएको बजेट बनाउन अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारका रूपमा आचार्यको भूमिका थियो। त्यसबेला अर्थमन्त्री भरतमोहन अधिकारीले प्रस्तुत गरेको त्यस बजेटको चर्चा आजपर्यन्त हुने गरेको छ।

त्यतिखेरको काम सम्झँदै पूर्वअर्थमन्त्री युवराज खतिवडा भन्छन्, “हामी राष्ट्र बैंकमा सँगै काम गरिरहेका थियौँ। मलाई अर्थ मन्त्रालयको सल्लाहकार भएर आउनु भनिएको थियो। तर, हामीले सल्लाह गरेर केशवजी जाँदा अझ राम्रो हुन्छ भनेर उहाँलाई पठाइएको थियो।”

अर्थमन्त्री हुनुअघि खतिवडा योजना आयोगको उपाध्यक्ष र गभर्नर भएका थिए। त्यसबेला पनि देशको आर्थिक सुधारको पक्षमा आचार्यसँग धेरै काममा सहकार्य भएको खतिवडा सम्झन्छन्।

“राष्ट्र बैंकमा रहँदा मौद्रिक विभागमा सँगै काम गरेका थियौँ। नेपालको विदेशी विनिमय प्रणाली, विनिमय दर र अर्थतन्त्रलाई अघि बढाउन धेरै विषयमा सँगै काम गरेका थियौँ। विश्व राजनीतिक अर्थतन्त्रसँगै विकास अर्थतन्त्रमा उहाँको विशेष रुचि थियो,” खतिवडा सम्झन्छन्।

वित्तीय नीति निर्माण र कार्यान्वयनमा उनले २०६६ सालमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पनि सघाए। त्यसबेला पनि अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको जिम्मेवारी पाएका आचार्य सरकारले बजेटको आकार बढाउने भन्दा पनि खर्च प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिन्थे। बजेट निर्माण, सार्वजनिक खर्च व्यवस्थापन र वैदेशिक सहयोगको उपयोगजस्ता संवेदनशील क्षेत्रमा उनको संलग्नता रह्यो।

पूर्वअर्थमन्त्री युवराज खतिवडा भन्छन्, “परिस्कृत भाषामा आर्थिक विश्लेषण गर्न सक्ने अर्थशास्त्री हुनुहुन्थ्यो। उहाँको अभिव्यक्ति शालीन र तर्कयुक्त हुन्थ्यो।”

आर्थिक सल्लाहकार रहँदा आचार्यको योगदान सम्झँदै पाण्डे भन्छन्, “मन्त्रीले राम्रो काम गरेर असल भएर निस्कियोस् भन्ने उहाँको चाहना थियो। आफ्नो सल्लाहले खराबी नहोस् भन्नेमा असाध्यै सचेत रहनुहुन्थ्यो। मेरो कार्यकालमा उहाँबाट ठूलो मद्दत मिलेको थियो। उहाँको सल्लाहमा निस्फिक्री भर पर्थें।”

हुन पनि त्यसबेला अर्थ मन्त्रालयबाट पाण्डे सफल अर्थमन्त्रीका रूपमा बाहिरिएका थिए। पाण्डेले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्दा पार्टीमा दह्रो पकड नभएको जुनियर नेता, विषयवस्तुमा ज्ञान कम भएको व्यक्ति जस्ता टिप्पणी भएको थियो। अर्थमन्त्रीको पद बहाली गर्दा ‘अनुभवहीन’ भनिएका पाण्डेले २० महिना अर्थ मन्त्रालयमा रहेर बाहिरिँदा ‘सफल अर्थमन्त्री’ को पहिचान बनाएका थिए।

पाण्डेको सफलताको पहिचान उनै आचार्यले उभ्याएका थिए, पृष्ठभूमिमा रहेर। आचार्यको स्वभाव र कार्यशैलीबारे पाण्डे भन्छन्, “कतिपय सल्लाहकारहरू विभिन्न विवादमा पर्ने गरेका छन्। विवादमा परिन्छ कि भन्नेमा उहाँ सधैँ सचेत हुनुभयो। व्यक्तिगत स्वार्थ र लाभबाट सधैँ टाढा बस्नुभयो। त्यसबेला उहाँले गर्नुभएको सहयोग धेरै महत्त्वपूर्ण थियो।”

सार्वजनिक जिम्मेवारीमा रहँदा होस् वा बाहिर रहँदा, उनी सधैँ अर्थतन्त्रका सूचकहरू केलाइरहेका हुन्थे। सञ्चारमाध्यमले प्रकाशन गर्ने अर्थतन्त्रकेन्द्रित विश्लेषणमा आचार्यको धारणा नहुँदासम्म अपूर्णझैँ लाग्थ्यो। सञ्चारमाध्यममार्फत उनले हरेक दिन नीति सुधारको पैरवी र आर्थिक सूचकांकको विश्लेषण गरिरहे।

७२ वर्षको उमेरमा आचार्यले असामयिक रूपमा जीवन बिसाएका छन्। तर, उनको योगदान र विचार देशको अर्थतन्त्रलाई थप बलियो बनाउन सहयोगी रहिरहनेछ।

अर्थतन्त्रका वास्तविक क्षेत्र भनेर चिनिने कृषि, उद्योग र समग्र उत्पादन क्षेत्रको क्षमता अभिवृद्धिका पक्षमा आचार्यले निरन्तर पैरवी गरे। आर्थिक विकासको मूल पाटो मानिने उत्पादन क्षेत्रलाई सक्षम नबनाई देशको अर्थतन्त्रको जग बलियो हुन नसक्ने उनको तर्क थियो। देशको कृषि उत्पादन र औद्योगीकरणमा ध्यान दिएर लगानी नबढाएकामा उनी चिन्तित सुनिन्थे। मध्यम वर्गले बढी कर तिर्नुपर्ने गरी अपनाइएको कर नीति सुधार हुनुपर्ने, सांसदहरूलाई विभिन्न समितिको जिम्मेवारी दिँदा स्वार्थको द्वन्द्व हुन नदिन सरकारले आचारसंहिता बनाउनुपर्ने विषयमा उनले पैरवी गरिरहे।

उनी अर्थतन्त्रको सूचकांकले नागरिकको जीवनशैली बोल्नुपर्ने मत राख्थे। त्यसैले सरकारले बनाउने बजेटको आकारभन्दा त्यसको प्रभावकारितामा ध्यान दिनुपर्ने तर्क आचार्यको हुन्थ्यो। सही परियोजना छनोट, समयमै कार्यान्वयन र परिणाम मापनले मात्रै सार्वजनिक खर्चलाई प्रभावकारी बनाउने उनी बताउँथे। सार्वजनिक खर्च सुधारका लागि व्यवस्थापकीय कमजोरीलाई औँल्याउँदै सुधारको खाँचो देखाउँथे।

पछिल्ला दिनमा उनी इकोनोमिक पोलिसी इन्क्युबेटर संस्थामा वरिष्ठ आर्थिक सल्लाहकार रहेर आर्थिक नीति बहसमा सक्रिय थिए। त्यसअघि नेपाल इकोनोमिक एसोसिएसन र ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालसँग पनि आबद्ध आचार्य जीवनपर्यन्त आर्थिक सूचकांकमा अद्यावधिक रहिरहे। निरन्तर सक्रियता र शालीन व्यक्तित्व आचार्यको परिचय थियो। पाण्डे भन्छन्, “हिजोअस्तिसम्म पनि उहाँ काममै व्यस्त हुनुहुन्थ्यो। उहाँ कहिल्यै अल्छी मानेर चुप बस्ने स्वभावको मान्छे हुनुहुन्थेन। नयाँ आर्थिक परिसूचकमा सधैँ अपडेट रहनुहुन्थ्यो।”

आचार्यको व्यक्तिगत स्वभाव सम्झँदै खतिवडा भन्छन्, “परिस्कृत भाषामा आर्थिक विश्लेषण गर्न सक्ने अर्थशास्त्री हुनुहुन्थ्यो। उहाँको अभिव्यक्ति शालीन र तर्कयुक्त हुन्थ्यो।”

३ चैतको बिहान पूजा गर्न फूल टिपेर फर्कंदा असहज महसुस भएपछि आराम गर्न बसेकै बेला बेहोस भएका आचार्यलाई चाबहिलस्थित मेडिकेयर अस्पताल लगिएको थियो। त्यहाँबाट अन्नपूर्ण न्युरो अस्पताल रिफर भएका आचार्यको सोही दिन दिउँसो मस्तिष्कको शल्यक्रिया भएको थियो। अस्पतालले ९ चैत बिहान ९ः५५ बजे आचार्यको मुटुको चाल बन्द भएको जानकारी गराएको आचार्यका भाइ मदन आचार्यले बताए। उनका श्रीमती, एक छोरी र एक छोरा छन्।

७२ वर्षको उमेरमा आचार्यले असामयिक रूपमा जीवन बिसाएका छन्। तर, उनको योगदान र विचार देशको अर्थतन्त्रलाई थप बलियो बनाउन सहयोगी रहिरहनेछ।