काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। ललितपुरस्थित कार्यविनायक मन्दिरमा नेपाली चलचित्र ‘बेहुली’ को शुभ मुहूर्त गरिएको छ।

‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’ को प्रस्तुतिमा निर्माण हुन लागेको यस चलचित्रको मुहूर्तसँगै छायांकन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माता अर्जुन पोखरेलका अनुसार यसै साताबाट छायांकनम निस्कन लागेको यो चलचित्र आगामी वर्षको तिजका अवसर पार्दै १२ भदौमा प्रदर्शन हुनेछ।

नेपाली सुगम संगीतमा दर्जनौँ हिट गीत दिएर दर्शक-स्रोताको मन जित्दै आएका पोखरेल ‘बेहुली’ मार्फत पहिलोपटक चलचित्र निर्माणमा होमिएका हुन्। चलचित्रको संगीत निर्देशनसमेत आफैँले सम्हालेका पोखरेलको यो नयाँ फिल्मी यात्रालाई निकै चासोका साथ हेरिएको छ।

प्रताप राणाको निर्माण रहेको चलचित्रको निर्देशन सशान कँडेलले गर्दै छन्। कथा माधव शर्माले लेखेका हुन्। निर्देशक कँडेल र लेखक शर्मा दुवै चलचित्र ‘होस्टेल ३’ का निर्देशक तथा लेखक हुन्। ‘होस्टेल ३’ पछि यी दुईको बलियो सहकार्य ‘बेहुली’मा पनि दोहोरिएको छ।

चलचित्रमा ‘होस्टेल ३’ बाटै डेब्यु गरेका पारस बम ठकुरी (कुलब्वाय) ले प्रमुख नायकको भूमिका निर्वाह गर्दै छन्। पर्दामा उनको जोडीको रूपमा अभिनेत्री दिव्या रायमाझी देखिनेछिन्। यसका साथै सुशान्त कार्की‚ पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको पनि अभिनय रहनेछ।

कार्यकारी निर्माता सुमन थिङ तामाङ तथा सह-निर्माता दुर्गा खरेल र रमेश सिलवाल रहेको ‘बेहुली’मा शंकर कोइराला क्रिएटिभ प्रोड्युसरका रूपमा छन्।