आवरण
३६ वर्षीय बालेन नेपालका ४३औँ प्रधानमन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको ४३औँ प्रधानमन्त्री बन्दै छन्। आज (शुक्रबार) मध्याह्न १२:३४ को साइतमा उनले प्रधानमन्त्रीका रूपमा शपथ लिँदै छन्।
र्यापरबाट युवा पुस्तामाझ चर्चा कमाएका ३६ वर्षीय बालेन मधेसी समुदायबाट देशकै पहिलो प्रधानमन्त्री बन्दै छन्। १४ वैशाख २०४७ मा उनी बुवा आयुर्वेदिक चिकित्सक रामनारायण साह र आमा ध्रुवादेवी साहबाट काठमाडौँको नरदेवीमा जन्मिएका हुन्।
काठमाडौँको हिमालयन ह्वाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङमा ब्याचलर्स अफ इन्जिनियरिङ (बीई) पढेका उनले भारतको कर्नाटकस्थित विश्वेश्वराय टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए। उनी काठमाडौँ विश्वविद्यालयमा विद्यावारिधिका शोधार्थी हुन्।
१३ वर्षअघि बालेनको पहिलो र्याप ‘सडक बालक’ युट्युबमा सार्वजनिक भएको थियो। त्यसयता उनले ‘र्याप ब्याटल’ बाट युवा पुस्तामाझ चर्चा पाउँदै गए। र्यापमा उनले धेरैजसो राजनीतिक र सामाजिक विसंगतिका विषय उठाएका छन्। उनले पछिल्लो समय गाएका ‘बलिदान’, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ लगायत र्याप युवामाझ चर्चित छन्। उनका यी गीतलाई नयाँ पुस्ताले परिवर्तनको सन्देशका रूपमा लियो।

तस्बिर स्रोत : शाहको फ़ेसबुक
र्याप संगीतमार्फत युवाहरूसँग जोडिएका बालेन २०७२ सालको भूकम्पपछि राहत र उद्धारमा खटिए, जसमार्फत उनी अझै धेरै मानिससम्म पुगे। र्यापमा उनको राजनीतिक चेत छल्किएकै थियो, लोकप्रियताको आडमा उनी राजनीतिक मैदानमै होमिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिए। स्थापित राजनीतिक दलहरूका उम्मेदवारलाई पराजित गरेर उनी धेरैलाई चकित पार्दै मेयरमा निर्वाचित पनि भए। त्यसपछि उनको चर्चा देशभित्र मात्र सीमित रहेन, ‘र्यापर मेयर बनेको’ भन्दै अन्तर्राष्ट्रिय मिडियामा समेत उनी खबरका शीर्षक बने।

तस्बिर : शाहको फ़ेसबुक पेज
महानगर प्रमुखमा निर्वाचित भएपछि बालेनले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र सांस्कृतिक जगेर्नाको कामलाई प्राथमिकता दिए। तर, पुराना दललाई पन्छाउँदै मेयरको कुर्सीमा विराजमान उनी र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारबीच राम्रो सम्बन्ध भएन। सडक मापदण्डविपरीत बनेका घर भत्काउने, सुकुमवासी बस्तीमा डोजर चलाउने र सडक व्यापारी हटाउनेजस्ता काम गर्दा उनी विवादमा पनि परे। महानगरले गरेका यी काममा त्यसबेला सरकारमा रहेको एमालेका नेताहरूले बालेनको चर्को आलोचना गरेका थिए।
महानगरभित्रका कतिपय काममा राजनीतिक दलका जनप्रतिनिधिले व्यवधान-विरोध गरेको विषयमा बालेनले सामाजिक सञ्जालमै सरकार र पुराना दलप्रति असन्तुष्टि पोख्ने गरेका थिए।
संघीय सरकारले विवादास्पद कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको र महानगरभित्रका कतिपय काममा राजनीतिक दलका जनप्रतिनिधिले व्यवधान-विरोध गरेको विषयमा बालेनले सामाजिक सञ्जालमै सरकार र पुराना दलप्रति असन्तुष्टि पोख्ने गरेका थिए। जसका कारण बालेनले राम्रो काम गर्न खोजे पनि पुराना दलले असहयोग गरेको र दु:ख दिएको बुझाइका कारण उनका समर्थक बढ्दै गए।
नेपाली मिडियामा बोल्न नचाहने उनी अन्तर्राष्ट्रिय मिडियामा भने छाइरहे। विश्वप्रसिद्ध टाइम म्यागेजिनले त सन् २०२३ मा उनलाई विश्वका उदीयमान सय नेताको सूचीमा राखेको थियो।

महानगर प्रमुख भएपछि पनि बालेनले सामाजिक सञ्जालमार्फत सरकार र राजनीतिक दलका विकृतिविरुद्ध आवाज उठाइरहे। गत १९ भदौमा ओली नेतृत्वको सरकारले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेपछि यो प्रतिबन्धका साथै भ्रष्टाचारको विरोधमा २३ भदौमा जेन-जी आन्दोलन भयो। यो आन्दोलनप्रति बालेनले सामाजिक सञ्जालमार्फत समर्थन जनाएका थिए।
आन्दोलनमा सरकारले प्रदर्शनकारीलाई गोली बर्सायो। एकैदिन १९ जनाको ज्यान गयो। त्यसपछि २४ भदौको आन्दोलनका क्रममा विध्वंस भयो। संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनका साथै देशभरका सरकारी कार्यालय, प्रहरी कार्यालयमा आगजनी र लुटपाट भए।
आन्दोलनमा बालेन सडकमा कतै देखा परेनन्, तर पर्दा पछाडिबाट उनले सहयोग पुर्याएको आरोप लाग्यो।
रास्वपाले चुनावअघि सार्वजनिक गरेको वाचापत्रमा महत्त्वाकांक्षी योजनाहरू ल्याए पनि सरकारमा गएपछि ती पूरा गर्न सजिलो नरहेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अमृतकुमार श्रेष्ठ बताउँछन्।
जेन-जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिए। त्यसपछिको शून्य र अन्योलग्रस्त अवस्थामा आन्दोलनकारीबाटै बालेन प्रधानमन्त्री बन्नुपर्ने आवाज उठ्यो। तर, उनले त्यसमा रुचि देखाएनन्। त्यसबेला उनले अन्तरिम सरकारको नेतृत्व नगर्ने, चुनाव जितेरै प्रधानमन्त्री बन्ने चाहना राखेको सार्वजनिक चर्चामा आएको थियो। आन्दोलनको बैठानमा के गर्ने भन्ने संवाद र पहलका लागि उनी सार्वजनिक रूपमा कतै देखा परेनन्, तर उनी शक्ति केन्द्र बनिसकेका थिए। उनले सामाजिक सञ्जालबाटै जेन-जीलाई नेपाली सेनासँग वार्ता गर्न आग्रह गरे।
बालेनकै प्रस्तावअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो। त्यस सरकारले ६ महिनाभित्र चुनाव गराउने जिम्मेवारी पायो।
२१ फागुनमा चुनाव हुने टुंगो भएपछि बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच वार्ता भयो। २० पुसमा रास्वपाले बालेनलाई वरिष्ठ नेतामा मनोनीत गर्यो।
त्यसपछि बालेन ४ माघमा काठमाडौँको महानगर प्रमुखबाट राजीनामा दिएर औपचारिक रूपमा रास्वपा प्रवेश गरे। रास्वपा प्रवेश गरेलगत्तै बालेन नेकपा (एमाले) अध्यक्ष ओलीसँगै प्रतिस्पर्धा गर्न झापा क्षेत्र नम्बर ५ पुगे। २१ फागुनको चुनावमा उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर रास्वपा मतदातामाझ गएको थियो।
दमक केन्द्रमा रहेको झापाको निर्वाचन क्षेत्रमा २०४८ सालदेखि ६ पटक सांसद जितेका, दुई पटक मन्त्री र चार पटक प्रधानमन्त्री बनेका अनुभवी राजनीतिक खेलाडी ओलीलाई बालेनले ४९ हजार ६१४ मतान्तरले पराजित गरिदिए। बालेनले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत मात्र पाए। बालेनकै कारण मधेस प्रदेशका ३२ सिटमध्ये ३० सिटमा रास्वपाले जित्यो।
६ वर्षअघि सार्वजनिक भएको र्यापमा नेताहरूलाई ‘चोर’ को संज्ञा दिँदै बोल्न दिन सरकारसँग माग गरेका बालेन अन्ततः आफैँ सरकारको कुर्सी सम्हाल्दै छन्।
१२ चैतमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि बालेनलाई रास्वपाले संसदीय दलको नेता चुन्यो। यसले उनलाई प्रधानमन्त्री बन्ने बाटो खुलायो। नेपालको संविधान, २०७२ को धारा ७६ को उपधारा १ अनुसार उनी शुक्रबार बहुमतको सरकारको प्रधानमन्त्री नियुक्त हुँदै छन्। २०७२ सालमा नयाँ संविधान जारी भएपछि पहिलो पटक यो धाराअनुसार एकल बहुमतको सरकार बन्न लागेको हो। ६ वर्षअघि सार्वजनिक भएको र्यापमा नेताहरूलाई ‘चोर’ को संज्ञा दिँदै बोल्न दिन सरकारसँग माग गरेका बालेन अन्ततः आफैँ सरकारको कुर्सी सम्हाल्दै छन्।

१२ चैतमा सांसदको शपथ लिँदै शाह। तस्बिर : पीजे क्लब
राजनीतिमा लामो अनुभव नभएका बालेनलाई प्रधानमन्त्रीका रूपमा धेरै चुनौती आउन सक्ने देखिन्छ। राजनीतिशास्त्री देवराज दाहाल विगतका सरकारले नागरिकको हितमा नभई आफूकेन्द्रित शासन गरेका कारण मतदाताले परिवर्तन खोज्दा सत्तामा पुगेका बालेनसामु विभिन्न चुनौती रहेको बताउँछन्। भन्छन्, “विगतमा पुराना दलको सरकारबाट निराश र आजित जनताले परिवर्तनको पक्षमा मत दिएर धेरै अपेक्षा गरेका छन्। यस्तो अपेक्षा पूरा गर्नु नै बालेन सरकारको चुनौती हुनेछ।” देशको कर्मचारीतन्त्र र अन्य संयन्त्र पुरानै रहेकाले पनि बालेनलाई परिवर्तनको नारा सफल बनाउन सजिलो नभएको उनी बताउँछन्।
रास्वपाले चुनावअघि सार्वजनिक गरेको वाचापत्रमा महत्त्वाकांक्षी योजनाहरू ल्याए पनि सरकारमा गएपछि ती पूरा गर्न सजिलो नरहेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अमृतकुमार श्रेष्ठ बताउँछन्। “बाहिर बसेर आवाज उठाउनु र आफैँले सरकार चलाउनुमा धेरै फरक हुन्छ। विज्ञहरूको सल्लाह-सुझाव लिएर अघि बढे बालेनलाई सहज हुन्छ,” उनी भन्छन्।