काठमाडौँ। पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय र मातहतका निकायका कर्मचारीहरूलाई निर्देशन दिने कार्यक्रममा आफूले आर्थिक सुधार, सुशासन र रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
सम्बोधनको क्रममा वाग्लेले आफू पदका लागि नभई ठूलो लक्ष्यसहित आएको बताएका छन्।
कर्मचारीसँग उनले भने, ‘म एक थान मन्त्री खान आएको होइन, विराट लक्ष्य लिएर आएको छु। साथ दिनुस्।’ कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री वाग्लेले वर्तमान सरकारलाई प्राप्त जनादेश अर्थराजनीतिक रूपमा महत्वपूर्ण रहेको र परम्परागत कार्यशैली तोडेर काम गर्ने बताएका छन्।
उनले भनेका छन्, ‘नियमित प्रक्रियाबाट हुँदैन, हामी क्रमभंगता गर्न आएका हौं।’ उनले आफू कर्मचारीलाई गाली गर्न नभई प्रणाली सुधार गर्न आएको कर्मचारीलाई बताएका छन्।
उनले भने, ‘माछा बिग्रिए टाउकोबाट बिग्रन्छ भन्छन्। हामी ठिक भयौं भने तपाईंहरूले गलत गर्न सक्नुहुन्न।’ वाग्लेले सुशासन र जनताको हितमा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश कर्मचारीलाई दिएका छन्। ‘राम्रो काम गर्नेलाई सधैं साथ र माया हुन्छ। तर गलत बाटोमा हुनुहुन्छ भने म माया गर्न सक्दिन,’ उनले चेतावनी दिए।
वाग्लेले राजनीतिक पूर्वाग्रह नराख्ने बताउँदै कर्मचारीलाई पनि दलियकरणको छायाबाट टाढा रहन आग्रह गरे। ‘म मेरिट हेर्छु, इमान्दारिता हेर्छु’, उनले भने, ‘कुनै पनि तरिकाले क्याप्चर गरेर घुस खाने वा खुवाउने समय अब सकियो।’
उनले बिग्रिएको आर्थिक संरचनालाई ट्रयाकमा ल्याउने दावी गरेका छन्। ‘बरालिएको आर्थिक र्संरचनालाई अब ट्रयाकमा ल्याउने हो।’ जनताले विगतका विसंगति चिर्न दुईतिहाइ बहुमत दिएका हुन। हामी यसैमा टेकेर रिफर्म गर्न आएका हौं,’ वाग्लेले भने।
उनले आगामी बजेटमार्फत आर्थिक राजकाजको रूपान्तरण सुरु गरिने बताएका छन्। त्यसैगरी, अर्थतन्त्र सुधारका लागि नेपाली डायस्पोरालाई जोड्ने वाग्लेले बताएका छन्। ‘एकपटकका नेपाली सधैंका नेपाली। उहाँहरूको लगानी र सम्पत्ति सुरक्षा गर्छौं, त्यसपछि विदेशी लगानी पनि आउँछ,’ उनले भने।
कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले मन्त्री वाग्लेलाई स्वागत गर्दै विद्वान मन्त्रीको योजनालाई सफल बनाउन मन्त्रालयका कर्मचारीले हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।