व्यक्तिवृत्त
डीजेबाट स्वयंसेवक हुँदै जेन-जी नेता बनेका सुधनलाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी
‘इभेन्ट म्यानेजर’, डिस्क जक्की (डीजे) र नाइट क्लबका सञ्चालकबाट समाजसेवामा प्रवेश गरेको एक दशकमा ३८ वर्षीय सुधन गुरुङ देशको गृहमन्त्री बनेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका-३ का दिलबहादुर गुरुङ र काठमाडौँ बौद्ध बस्ने ज्ञानु लामा तामाङबाट २०४४ सालमा जन्मिएका सुधनको बाल्यकाल काठमाडौँ, धनकुटा, गोरखा र चितवनमा बित्यो। उनले १३ असार २०६१ मा गोरखा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए।
सुधनले बाल्यकालमा केही वर्ष धनकुटाको बाल संसार स्कुलमा अध्ययन गरेका थिए। सुधनको मावली हजुरबुवा नाता पर्ने भेडेटारका विष्णु श्रेष्ठका अनुसार उनी केही वर्ष धनकुटामा पढेर बुवासँगै चितवन सरेका थिए।
चितवनपछि उनी काठमाडौँमा पढ्न थाले। ठमेलका क्लबको रात्रिकालिन दुनियाँमा रमाउन थाले। उनी डान्स पार्टी र फेसन सो कार्यक्रम गर्न बेलाबेला काठमाडौँ बाहिर पनि जान्थे। बाल्यकालदेखि नै उनी धरानमा रहेका आफन्तकहाँ आउजाउ गरिरहन्थे। पछि २०६५ सालमा डीजे सुधनका रूपमा डान्स पार्टीमा सहभागीलाई नचाउन धरान पुग्थे।
करिब दुई दशकदेखि डान्सपार्टी, फेसन सो जस्ता कार्यक्रमको आयोजना गरेर सहभागीलाई नचाएका सुधनले कुनै बेला काठमाडौँमा ‘ओएमजी’ नाइट क्लब पनि सञ्चालन गरेका थिए।
२०७२ सालको भूकम्पले भने उनको नाइट क्लब व्यवसाय धराशायी भयो। त्यसपछि उनी भूकम्पपीडितलाई राहत वितरणको काममा सक्रिय भए। सामाजिक सञ्जालबाटै स्वयंसेवक आह्वान गरेर राहत संकलन तथा वितरणमा खटिएका सुधनले भूकम्पपछि बाढीपहिरो र कोरोना महामारीमा पनि यिनै कामलाई निरन्तरता दिए। कोरोनाकालमा उनले ‘हामी नेपाल’ सामाजिक संस्था स्थापना गरेर स्वयंसेवा अघि बढाए।
डीजेका रूपमा डान्सपार्टी आयोजना गर्दा सुधनको धेरैसँग चिनजान भयो। त्यही सम्बन्धलाई प्रयोग गरेर सुधनले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलन गरेका थिए। उनको संस्था हामी नेपालले १९ चैत २०७८ मा पत्रकार सम्मेलन गरेरै आन्दोलन सुरु गरेको थियो।
यो पनि…
सुधनको समूहले करिब पाँच महिना आन्दोलन गरेपछि तत्कालीन स्वास्थ्यमन्त्री भवानी खापुङ, आन्दोलनकारीका तर्फबाट सुधन र प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीबीच ५ भदौ २०७९ मा पाँचबुँदे सहमति भएको थियो।
धरानको आन्दोलनपछि काठमाडौँ र विभिन्न ठाउँमा स्वयंसेवकका रूपमा काम गर्दै आएको हामी नेपालको टोली २३ र २४ भदौको जेन-जी आन्दोलनमा पनि स्वयंसेवी बनेर सक्रिय थियो भने त्यसको नेतृत्व सुधनले गरेका थिए।
जेन-जी आन्दोलनपछि विभिन्न समूहसँगको वार्तादेखि नयाँ सरकार गठनसम्म सुधन सक्रिय थिए। त्यही भूमिकाका कारण उनी सामाजिक अभियन्ताबाट जेन-जी आन्दोलनका नेतृत्वकर्ताका रूपमा चिनिए। त्यहीबेला नै सुधनको परिचय जेन-जी नेताको रूपमा बदलिएको हो।
सुधन डीजे हुँदा बालेन र्यापर थिए। सांगीतिक क्षेत्रमा रहँदा बालेनसँग पुरानै चिनजान रहेका सुधन जेन-जी आन्दोलनपछि बालेनकै अजेन्डाअनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने, संसद् विघटन गराउने जस्ता काममा सक्रिय बने। बालेन काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर ४ माघमा रास्वपा प्रवेश गर्दा सुधन पनि उनीसँगै गए। त्यसपछि गोर्खा १ बाट प्रतिनिधिसभा सदस्य चुनिएका सुधन शुक्रबार गृहमन्त्री नियुक्त भए।
डीजेबाट स्वयंसेवक हुँदै चुनाव जितेर गृहमन्त्री बनेका सुधनका अघि अनगिन्ती चुनौती छन्। जेन-जी आन्दोलनको नेताका रूपमा गृहमन्त्रीको जिम्मेवारी पाएका सुधनले बदलिएको समयका चुनौती कसरी चिर्छन्, त्यसैमा उनको नेतृत्व क्षमताको परीक्षण हुनेछ।