रिपोर्ट
कुनै बेला सांगीतिक कार्यक्रम गर्न जन्मिएको पोखराको लालीगुराँसले आच्छु आच्छु पारिरहेको छ, राष्ट्रिय फुटबल लिगमा आफूभन्दा बलिया क्लबहरूलाई
‘ए’ डिभिजन च्याम्पियन चर्च बोइज युनाइटेड, उपविजेता मच्छिन्द्र फुटबल क्लब, स्टार खेलाडीले भरिएको न्युरोड टिम (एनआरटी)जस्ता दमदार क्लब सहभागी भएको राष्ट्रिय फुटबल लिगमा पोखराको लालीगुराँस एसोसिएसन क्लबलाई सबैभन्दा कमजोर प्रतिस्पर्धी मानिएको थियो। तर, उसले उपाधिका यी सबै दाबेदार क्लबलाई स्तब्ध पार्दै आफूलाई अब्बल साबित गरेको छ। लिगको छिनोफानो हुन तीन खेल बाँकी रहँदा लालीगुराँस २७ अंकसहित शीर्षस्थानमा उक्लिसकेको छ।
क्लब प्रशिक्षक किरण श्रेष्ठ भन्छन्, “लिग सुरुआत गर्दा काठमाडौँका ठूला क्लबलाई कडा चुनौती दिने योजना थियो। हाम्रो योजना पूरा भएको छ।”
सांगीतिक कार्यक्रम गर्न जन्मिएको लालीगुराँस
पोखरा महानगरपालिका-१२ स्थित लालीगुराँस टोल यसअघि खेलकुदको केन्द्र भनेर चिनिएको थिएन। विगतमा यस टोलको छवि मारपिट र झगडाको थियो। यही छवि मेटाउन स्थानीय युवाहरू मिलेर एउटा संस्था खोलेका थिए। जसको नाम जुराइएको थियो, लालीगुराँस एसोसिएसन क्लब।
क्लबको सुरुआती लक्ष्य फुटबल खेल्ने थिएन। सांगीतिक कार्यक्रम र समाजसेवामा मात्र संलग्न हुने थियो। लालीगुराँसले नेपथ्यको कन्सर्ट गर्ने सोचले २०६९ सालमा क्लब दर्ता गराएको हो।

लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठ।
देश-विदेशमा फैलिएका सदस्यहरूको सञ्जालले यस क्लबलाई अहिले स्थानीयस्तरमा मात्र सीमित राखेको छैन, अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) जस्ता देशमा पनि यसका शाखा खुलेका छन्। ती शाखाबाट प्राप्त सहयोग र कन्सर्टबाट बचत भएको रकमले क्लबको गतिविधि सञ्चालन भइरहेको छ।
क्लब अध्यक्ष डम्बरजंग गुरुङ भन्छन्, “सोही रकमबाट बाढी र २०७२ सालका भूकम्पपीडितलाई सहयोग गर्दा क्लबको पहिचान फराकिलो बनेको हो।”
पहिले समाजसेवाको बाटो हिँडेको यो क्लब पछि मात्र खेलकुदतर्फ मोडिएको हो। “आफ्नै टोलका खेलाडीहरू अन्य क्लबमा खेल्न थालेपछि आफ्नै टिम बनाएर किन नखेल्ने भन्ने कुरा उठ्यो, यसपछि निर्णय गरेका हौँ,” उनी भन्छन्।
सुरुमा जिल्ला र प्रदेशस्तरका प्रतियोगितामा रुमलिएको क्लबले १९ कात्तिकदेखि २ मंसिरसम्म हेटौँडाको गौरीटार रंगशालामा भएको एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता खेलेको थियो। उक्त प्रतियोगितामा अपराजित रहँदै उपाधि हात पार्न सफल भयो। लिगको फाइनलमा लालीगुराँसले चित्लाङ एफसीलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गरेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पछिल्लो समय ‘ए’ डिभिजन लिग गर्न नसकेपछि खेलकुद मन्त्रालय र खेलाडीको दबाबमा १० वर्षपछि राष्ट्रिय लिग ब्युँताउने निर्णय गर्यो। उक्त लिगमा चित्लाङ, काँक्रेविहार फुटबल क्लब र नव जनजागृति फुटबल क्लबसँगै लालीगुराँसले पनि डेब्यु गर्ने अवसर पाएको हो।
कम अनुभवी खेलाडीले धानेको क्लब
लिग सुरु हुँदै गर्दा लालीगुराँसले पोखरामै तीन साताको क्याम्प राखेको थियो। उक्त क्याम्पमा सहभागी प्रायः सबै खेलाडी गण्डकी प्रदेशकै हुन्।
मुख्य प्रशिक्षक किरण श्रेष्ठले यसअघि ‘ए’ डिभिजनकै मनाङ मर्स्याङ्दीसहित केही क्लब सम्हालिसकेका छन्। तर, उनको रोजाइमा ती क्लबबाट खेलेका खेलाडी परेनन्। उनले च्यासल युथ क्लबबाट ‘बी’ डिभिजन र नेपाली युवा राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डरद्वय राम र लछु थापालाई टिममा बोलाए। बिसन गुरुङलाई पनि झिकाए। राम र लछुसँग माथिल्लो स्तरको लिग खेलेको अनुभव थिएन।
‘अट्याकिङ राइट विगर’ बिसन भने यसअघि हिमालयन शेर्पा र मनाङबाट लिग खेलिसकेका खेलाडी हुन्। यसबाहेक उनले पोखरा थन्डर्स र वीरगन्ज युनाइटेडबाट पनि नेपाल सुपर लिग (एनएसएल) खेलिसकेका छन्। प्रशिक्षक श्रेष्ठले सेन्टर फरवार्डमा तान्जेनियाका अब्दुल युसुफ हाउल र उज्बेकिस्तानका सेन्टर ब्याक इस्कन्दर सिद्दिकजोनोभलाई भित्र्याएका थिए। यी दुवैसँग नेपालमा फुटबल खेलेको अनुभव थिएन।

अब्दुल युसुफ हाउल।
“यी खेलाडीबाहेक हामीले माथिल्लो स्तरमा राम्रो प्रदर्शन गरेका अन्यलाई समावेश गरेनौँ। गोलकिपर पनि राम्रै लिने योजना थियो। तर, स्थानीय खेलाडीलाई मौका दिने योजनाअनुरूप लिएनौँ,” प्रशिक्षक श्रेष्ठ सुनाउँछन्।
किशोर गुरुङ, कुम्बा देउवा, सुदीप गुरुङ, यमबहादुर श्रेष्ठ र मन्दीप घले लालीगुराँसबाटै राष्ट्रिय लिगमा डेब्यु गरेका स्थानीय खेलाडी हुन्। रोशन छन्त्याल, अनिस गुरुङ, मुकुन्द निउरेले भने पोखराको सहारा क्लबबाट खेल्दै आएका थिए।
गोलकिपर अनिस महतोसहित संगम खाँड ठकुरी, आयुषमान गुरुङ र सुलेमान थापा मगर बाँसबारी युथ क्लबबाट ‘बी’ डिभिजन खेलेका खेलाडी हुन्। अनन्त दुरा र कृष्णबहादुर गुरुङ च्यासल युथ क्लबमा राम र लछु थापासँगै खेल्थे। सचिन गुरुङ र विक्रम गौतमले ब्रिगेड बोइजबाट ‘बी’ डिभिजन खेलेका छन्।

एनआरटीविरुद्धको खेलमा ‘प्लेअर अफ द म्याच’ घोषित राज भुसाल।
टीकाराज गुरुङ, राजकुमार कुँवर र जीवन गुरुङले भने संकटा, हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दीबाट मोफसलमा खेल्दै आएका थिए।
यस प्रतियोगितामा अघिल्लो पटक श्री कुमारी क्लबबाट ‘बी’ डिभिजन खेलेका फरवार्ड राज भुसालले एक असिस्ट र पाँच गोल गरिसकेका छन्। लछु थापाले तीन, बिसनले तीन, मिडफिल्डर मुकुन्द निउरेले चार गोल गरेका छन्। विदेशी खेलाडी अब्दुल भने आठ खेलबाट ६ गोल गर्न सफल भएका छन्।
गोल हुन नदिने रणनीति
लालीगुराँसले लिगका १३ मध्ये सात खेलमा जित हात पारेको छ। ६ खेल बराबरी खेल्दा एक हार पनि बेहोर्नुपरेको छैन। जारी लिगमा ऊ अपराजित एक मात्र टोली हो।
पुलिसलाई अपवाद मान्ने हो भने अन्य जित भनेको लालीगुराँसले कमजोर टोलीविरुद्ध नै हात पारेको छ। यीबाहेक यो टोलीले संकटा, मनाङ, मच्छिन्द्र र आर्मीसँग गोलरहित बराबरी खेलेको छ।
एनआरटी र फ्रेन्ड्ससँग एक-एक गोलको बराबरीमा रोकिएको थियो। क्लबको लक्ष्य विपक्षी टोलीलाई गोल गर्न नदिनु हो। सातदोबाटो युथ क्लबका सहायक प्रशिक्षक रमेश दंगाल लालीगुराँसको बलियो पक्ष भनेकै डिफेन्सलाई मान्छन्।

एनआरटीका खेलाडीलाई रोक्दै लालीगुराँसका खेलाडी।
“अगाडि एक जना मात्र बस्छन्। बाँकी सबै तल। कम्प्याक्ट खेल्ने हुँदा काउन्टरमा गोल गर्ने रणनीति बनाउँछन्। गोल गरिहाल्यो भने सबै खेलाडी फेरि ब्याक आइहाल्छन्। अनि अरू टिमले कसरी जित्नु?” उनी भन्छन्। लालीगुराँसलाई पछिल्लो समय डिफेन्समा संकट देखिएको छ। राइट ब्याक राम सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भइसकेका छन्। त्यसैले अंकतालिकामा आफूभन्दा पाँच स्थान तल रहेको प्लानिङ बोइज युनाइटेडसँग यस टोलीलाई ३–२ को जित हात पार्न हम्मेहम्मे परेको थियो। अर्कातर्फ लिगको १५औँ स्थानमा रहेको चित्लाङ एफसीसँग पनि यस टोलीले अपेक्षाअनुसार खेल प्रदर्शन गर्न सकेन।
लालीगुराँसले अब लिगमा एपीएफ, श्री भगवती र चर्च बोइज युनाइटेडसँग मात्र खेल्न बाँकी छ। यी तीन खेल जितेमा पनि लालीगुराँसलाई दुई खेल कम खेलेको आर्मी र मच्छिन्द्रसहित अन्य क्लबको नतिजामा भर पर्नुपर्ने अवस्था छ। तर, टोलीको नतिजामा केही असर नपरे लालीगुराँस अपराजित रहँदै डेब्युमै उपाधि उचाल्ने कुरामा ढुक्क छ।