काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

दृष्टिकोण

बालेन्द्र नेतृत्वको नयाँ सरकारसामु परिवर्तनको तीव्र लालसा र महत्त्वाकांक्षाको सँघारमा उभिएका आमजनको मनोविज्ञान पक्डेर गतिशील पाइला चाल्नुको विकल्प देखिँदैन।

१६ चैत्र २०८२
अ+
अ-

तपाईंहरूमध्ये धेरैले ‘सिंहासन बत्तिसी’ को कथा पढ्नुभएकै होला। कथामा राजा भोज गद्दी-आसिन हुनुपूर्व ३२ वटा पुतलीले उनको राजकीय यात्रारम्भको समय उठाइएका प्रश्न र उत्तरलाई कथात्मक शैलीमा उनिएका छन्।

राजा भोजअघि सिंहासनमा बसेका थिए, राजा विक्रमादित्य। राजा विक्रमादित्यको सिंहासन चमत्कारले भरिपूर्ण थियो। जब राजा भोज सिंहासनमा बस्न चाहन्छन्, हरेक पुतलीले विक्रमादित्यको शासकीय क्षमता, प्रभाव र गुणको बखान गर्दै राजाको परीक्षा लिन चाहन्छन्। उनलाई अनेक प्रश्नको ओइरो लाग्छ। उनी पुतलीहरूका प्रत्येक प्रश्न र कथा मनोयोगपूर्वक सुन्छन्। पुतलीहरू केवल विम्ब थिए र वास्तविक प्रश्नकर्ता त जनता थिए।

आज पनि राजसिंहासनको कुर्सी प्रश्न-वृत्तभन्दा बाहिर छैन। पुतलीहरूका प्रश्नको सामना गर्नैपर्छ, उनीहरूका कथा मनोयोगपूर्वक सुन्नैपर्छ।

छोटो अवधिमै नेपाली राजनीतिमा चम्किएका पूर्वमेयर बालेन्द्र शाह (बालेन)ले संघीय गणतन्त्र स्थापनाको १७ वर्षपछि नयाँ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। यतिबेला उनी राजा भोजले जस्तै अनेक प्रश्नहरूको सामना गर्ने मञ्चमा उभिएका छन्। थाहा छैन, आगामी दिनहरूमा उनले ‘हरेक पुतलीहरू’ का प्रश्न कसरी निप्ट्याउँछन्? शान्त र खुसी तुल्याउँछन्।

विदितै छ, परम्परागत ढाँचा र घेराभित्र रुमल्लिइरहेका राजनीतिक दलहरूले जनवैधता गुमाउँदै गइरहेको बेला २३-२४ भदौको जेन-जी विद्रोहले निम्त्याएको शक्तिशाली धमाकापछि सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा १८२ सिट ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ शक्तिका रूपमा उदायो। निर्वाचनको पूर्वसन्ध्यामा ‘भावी प्रधानमन्त्री’ का रूपमा प्रचारित बालेन्द्र नयाँ प्रधानमन्त्री बनेका छन्। परिवर्तनको सुनौलो क्षितिज नियाल्न चाहने युवा, महिला, ज्येष्ठ नागरिकहरूसहित सबै उमेरसमूह र आकांक्षीका आशाको मियो बनेका नयाँ प्रधानमन्त्रीले नेपाली राजनीतिलाई पृथक् आयाम र नौलो दिशा दिन सक्लान्? यो यतिबेलाको यक्ष प्रश्न हो।

आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल। तस्बिर स्रोत : रोयटर्स

केही वर्षअघिसम्म युवा पुस्ताप्रति एउटा भाष्य स्थापित थियो, ‘युवाहरू राजनीतिमा आउन इच्छुक छैनन्, उनीहरूलाई आफ्नो करिअरप्रति मात्र चासो र चिन्ता छ।’ जेन-जी विद्रोहले युवा पुस्ताप्रति निर्मित यस्तो भाष्य पूरै खारेज मात्र गरिदिएन, नयाँ भाष्यको रचना पनि गर्‍यो। युवाशक्ति राजनीतिको मूकदर्शक नभई परिवर्तनको सक्रिय संवाहक हो भन्ने नयाँ संकथन निर्माण भएको छ। यसपटकको निर्वाचनमा युवापंक्ति विशुद्ध मतदाताको हैसियत र तहमा मात्र उभिएनन्, आगामी जनादेशको चरित्र निर्माण गर्ने सशक्त र प्रभावकारी शक्तिका रूपमा समेत स्थापित भए।

र्‍यापरबाट मेयर हुँदै राष्ट्रिय राजनीतिमा उदाएका बालेन्द्र शाहको उदय र सन् २०१३ मा भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्रीमा निर्वाचित अरविन्द केजरीवालको उदयबीच केही समानता भेट्टाउन सकिन्छ। केजरीवाल, गान्धीवादी अभियन्ता अन्ना हजारेको नेतृत्वमा चलेको भ्रष्टाचारविरोधी अभियानको उपक्रमसँगै पहिले अभियानकर्मी र पछि राजनीतिकर्मीका रूपमा उदाएका थिए भने बालेन्द्रले पनि देशमा व्याप्त भ्रष्टाचार, कुशासन, अनियमिततालक्षित र्‍याप गायनमार्फत सांगीतिक वृत्तमा चर्चा बटुल्दै राजनीतिमा प्रवेश गरेका थिए। पछिल्लो समय उनी जेन-जी विद्रोहको पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिको अग्रिम मोर्चामा उभिन सफल भए। केही विषय र अजेन्डामा केजरीवाल-बालेन्द्रबीच समानता छ भने केहीमा नितान्त भिन्नता पनि पाइन्छ। बालेन्द्र प्रधानमन्त्री भएसँगै उनलाई केजरीवालसँग तुलना गर्दा पक्कै असान्दर्भिक नहोला।

बालेन्द्रका ‘सिपाही’

कुनै पनि ‘कमान्डर’ को सफलता एवं निश्चित लक्ष्यप्राप्तिमा दक्ष र कौशलपूर्ण ‘सिपाही’ को भूमिकालाई बेवास्ता गर्न सकिँदैन। यदि सिपाहीहरूको आड, भरोसा र विश्वास आर्जन गर्न सकिएन भने युद्धको मोर्चा छिन्नभिन्न हुनु स्वाभाविक हो।

सन् २०१३ मा केजरीवालले मुख्यमन्त्रीको बागडोर सम्हाल्दा उनको टोलीमा प्रभावशाली व्यक्ति सामेल थिए। केजरीवाललाई सुखद सुविधा के थियो भने, उनले आफ्नै रोजाइका सहयोगीहरू चयन गर्न पाए। सक्रिय राजनीतिक जीवन अँगाल्नुपूर्व सन् २०११ मा केजरीवालले हजारेसँग सहकार्य टुटाएर आम आदमी पार्टी (आप) स्थापना गरे।

शपथग्रहणका क्रममा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह। तस्बिर : रत्न श्रेष्ठ/रासस

केजरीवाल आफैँमा ‘थिंक ट्यांक’ थिए। आम आदमी पार्टीको ‘चाणक्य’ ठानिने योगेन्द्र यादव अर्का यस्ता पात्र थिए, जो आपका ‘मस्तिष्क’ मानिन्थे। समाजशास्त्री एवं राजनीतिक विश्लेषक यादवले नेपथ्यमै बसेरै सही, ‘आप’ को रक्तसञ्चारलाई चलायमान राख्ने हेतुले ३० वटाभन्दा बढी समिति गठन गरे। त्यस्ता समितिलाई कोरा राजनीतिक कार्यकर्ता एवं नेताहरूका नन्दीभृंगीहरूका भर्तीकेन्द्र नभई विज्ञ/विशेषज्ञहरूका केन्द्रका रूपमा स्थापित तुल्याइयो। अर्का ‘थिंक ट्यांक’ मनीष सिसोदियाको आड केजरीवालको लक्ष्यप्राप्तिलाई दरिलो तुल्याउने आधारस्तम्भ रह्यो। कुशल संगठक सिसोदियाको लगनशीलता केजरीवाललाई ‘केजरीवालको तह’ मा स्थापित तुल्याउने आधारबिन्दु थियो।

प्रधानमन्त्री बालेन्द्रका अधिकांश ‘सिपाही’ युवा छन्, सरदर ४० वर्ष हाराहारीका। विशिष्ट राजनीतिक परिवर्तनपछि सम्पन्न निर्वाचनद्वारा सुविधाजनक जनादेश पाएको हुँदा ‘बालेन्द्र टिम’ का सदस्यहरूले नवीन र परिवर्तनको आभास दिलाउने गरी काम गर्नेछन् भन्ने आशा अंकुराएको छ। निश्चय नै सुरुआती चरणमा कामप्रति घनीभूत मोह र जोसजाँगर पलाउनुलाई सामान्य पक्ष ठान्नुपर्छ। अर्कातिर रवि-बालेन्द्रको टिम र केजरीवालको टिमबिच समानता पाइन्छ भने, ‘आप’ गठन हुँदा प्रजातन्त्रवादी, वामपन्थी र दक्षिणपन्थी विचारधारा र पृष्ठभूमिका व्यक्तिहरूको सम्मिश्रण थियो। यसपटक संघीय संसद्को निर्वाचनमा रास्वपाको चुनावचिह्न ‘घण्टी’ बाट चुनावी मैदानमा होमिनेहरूमा पनि लोकतान्त्रिक, वामपन्थी, दक्षिणपन्थी पृष्ठभूमि बोकेका उम्मेदवारको बाहुल्य थियो। रास्वपामा पनि विभिन्न विचारधारा र पृष्ठभूमि अँगालेका उम्मेदवारको मिश्रण देख्न सकिन्छ।

सुशासनका सूत्रधार

मुख्यमन्त्रीमा निर्वाचित भएलगत्तै केजरीवालले सुशासनको दिशामा प्रारम्भिक कदम चाले। एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘हाम्रो सरकार गठन भएको एक महिनाभन्दा कम समयमा जति काम गर्‍यौँ, त्यति कसैले पनि गर्न सक्दैनन्। हामीले भीआईपी संस्कृतिमाथि रोक लगायौँ। बिजुली एवं पानीको मूल्य घटायौँ। बिजुली कम्पनीको अडिटिङ चलिरहेको छ। अस्पतालमा भइरहेको लुट रोक्ने र स्कुलहरूको राम्रो प्रबन्धन गर्ने कार्य प्रारम्भ भइसकेको छ।’

जेन-जी विद्रोहको एउटा प्रमुख एजेन्डा थियो– भ्रष्टाचार नियन्त्रण र सुशासन कायम। विद्रोह हुनुअगावैदेखि भ्रष्टाचार, कुशासन, अनियमितता र लुटतन्त्रलाई प्रश्रय दिँदै आएका पुराना राजनीतिक शक्तिहरूले पछिल्लो समय आफ्नो राजनीतिक प्रासंगिकता सम्पूर्ण रूपमा गुमाइसकेका थिए। सामाजिक सञ्जालविरुद्ध तत्कालीन सरकारले लगाएको प्रतिबन्ध फुकुवाको आवाजसँगै घन्किएको भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्ने तिक्खर नादको पृष्ठभूमिबीच उब्जिएको यो विद्रोह कुनै आकस्मिक घटनाको परिणाम नभई समाजले लामो समयदेखि चाहिरहेको राजनीतिक-सामाजिक-आर्थिक-सांस्कृतिक फेरबदलको उच्च अभिव्यक्ति थियो।

रास्वपाको अभूतपूर्व सफलता र बालेन्द्र सरकार प्रमुख बन्नुको पृष्ठभूमिमा पनि पुराना राजनीतिक दलहरूप्रति तीखो वितृष्णा-भावद्वारा निर्देशित एवं परिवर्तनप्रति आकांक्षी वर्ग/समुदायको निर्णायक भूमिका रह्यो।

सरकारको नेतृत्व सम्हालेलगत्तै बालेन्द्र सरकारले ‘सुशासनको मार्गचित्र’ बाहिर ल्याएको छ, जसमा भ्रष्टाचार नियन्त्रण प्राथमिकताको उपल्लो सूचीमा समाविष्ट छ। नि:सन्देह, कुनै पनि राष्ट्रको सफल सामाजिक एवं आर्थिक विकासका निम्ति सुशासनलाई पूर्वनिर्धारित सर्त मानिन्छ। वर्तमान समयमा विश्व मानचित्रमा केही यस्ता देशहरूले सामाजिक-आर्थिक विकासको दिशामा फड्को मार्नुमा सुशासन नै सर्वोपरि सर्तका रूपमा उभिएको देखिन्छ। स्विजरल्यान्ड, डेनमार्क, अमेरिका, न्युजिल्यान्ड, क्यानडा, स्विडेन, फिनल्यान्ड, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्ड्स यस्ता मुलुक हुन्, जसको विकास, प्रगति र समृद्धिका वाहक-शक्तिका रूपमा सुशासनलाई मान्ने गरिन्छ।

कुनै नाटकलाई जीवन्त स्वरूप प्रदान गर्न अनेक चरित्रका आआफ्नै विशिष्ट भूमिका हुन्छन्, तर नाटकलाई गतिशील तुल्याइराख्न चाहिँ सूत्रधार अपरिहार्य मानिन्छ। राजनीतिमा पनि ‘सूत्रधार’ को भूमिका सर्वोपरि हुन्छ।

आगामी दिनहरूमा भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, अनियमितता अन्त्य गर्न, हरेक क्षेत्र र तप्कामा नयाँ-नौलो सम्भावनाको खोजी गर्ने दायित्वभार नयाँ प्रधानमन्त्रीसामु उभिएको छ। त्यसैले यतिबेला यस्ता प्रश्नहरू उठ्नु स्वाभाविक देखिन्छ– के नयाँ प्रधानमन्त्री सुशासनका सूत्रधार बन्न सक्लान्? विद्रोहपछि रचित नयाँ नाटकको पटकथाअनुरूप देशलाई सबल, समृद्ध र आत्मनिर्भर तुल्याउन सूत्रधारीय भूमिका खेल्न सक्लान्?

परिवर्तनको भोक

नेपाली समाज जहिल्यै परिवर्तन-आकांक्षी छ। अझ युवा पुस्तामा व्याप्त परिवर्तनको भोक मापन गर्न झनै कठिन कार्य प्रतीत हुन्छ। यिनै सेरोफेरोमा नेपाली जनतामा पश्चगामी शक्तिप्रति वितृष्णा र मोहभंग जाग्नु सुखद पक्षका रूपमा अर्थ्याउन सकिन्छ। हालैका घटनाक्रमहरू नियाल्दा यस्ता विम्ब झनै सतहमा तैरिएका देखिए।

केजरीवालको उदय र सफलताको गोरेटो पहिल्याउँदै जाँदा पारम्परिक ढर्राबाट सञ्चालित राजनीतिक शक्तिहरू, निर्वाचित जनप्रतिनिधिहरूका साथै शासन-संस्थाहरूप्रति घट्दो जनविश्वास प्रमुख कारक रहेको थियो। मूलतः शासक वर्गप्रति मोहभंग भएका फेसबुक-ट्विटर (हालको एक्स) पुस्ताको सक्रिय एवं अधीर युवाका रोजाइमा परेका थिए, केजरीवाल नेतृत्वको ‘आप’। रास्वपाको अभूतपूर्व सफलता र बालेन्द्र सरकार प्रमुख बन्नुको पृष्ठभूमिमा पनि पुराना राजनीतिक दलहरूप्रति तीखो वितृष्णा-भावद्वारा निर्देशित एवं परिवर्तनप्रति आकांक्षी वर्ग/समुदायको निर्णायक भूमिका रह्यो।

यतिबेला बालेन्द्र शाहले देशको नेतृत्व सम्हाल्ने अवसर पाउनुलाई कुनै सामान्य सत्ता हस्तान्तरणको रूपमा अर्थ्याइनु गलत हुनेछ। नयाँ सरकार गठन, परिवर्तनको भोक-तिर्खाले लखतरान परेका जनता-जनार्दनका कठोर प्रतिक्रिया, कदम र प्रतिविम्बको उपज हो। नभए, रास्वपालाई करिब दुई तिहाइको छेउछाउ पुर्‍याउने संकल्पबोध आमजनतामा सायदै ब्युँतिन्थ्यो।

नेपालका राजनीतिक दलहरूका सन्दर्भमा रास्वपा खराब दलहरूभन्दा कम खराब र सत्ताको भट्टीमा खारिन बाँकी रहेकाले पनि जनविश्वास प्राप्त गर्न सफल भएको मान्न सकिन्छ। जनविश्वासरूपी धारमा खिया लाग्न नदिन रास्वपाले चाल्ने आगामी कदमले नै पार्टी र सरकारको भविष्य निर्धारण हुने निश्चित छ।

बालेन्द्र नेतृत्वको नयाँ सरकारसामु परिवर्तनको तीव्र लालसा र महत्त्वाकांक्षाको सँघारमा उभिएका आमजनताको मनोविज्ञानलाई पक्डेर गतिशील पाइला चाल्नुको विकल्प देखिँदैन। किनभने, ‘पुराना शक्तिले केही गरेनन्, नयाँ शक्तिले केही गर्ला कि?’ भन्ने मनोविज्ञानद्वारा परिचालित पंक्तिले यस पटक रास्वपालाई पत्याएका हुन्। दोस्रो विश्वयुद्धताका बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए, ‘प्रजातन्त्र, अरू राजनीतिक व्यवस्थामध्ये सबभन्दा कम खराब व्यवस्था हो।’ नेपालका राजनीतिक दलहरूका सन्दर्भमा रास्वपा खराब दलहरूभन्दा कम खराब र सत्ताको भट्टीमा खारिन बाँकी रहेकाले पनि जनविश्वास प्राप्त गर्न सफल भएको मान्न सकिन्छ। जनविश्वासरूपी धारमा खिया लाग्न नदिन रास्वपाले चाल्ने आगामी कदमले नै पार्टी र सरकारको भविष्य निर्धारण हुने निश्चित छ।

ग्रिक पौराणिक कथामा महान् पात्र छन्– हर्क्युलिस, जसलाई आधार बनाएर धेरै सिर्जना गरिएका छन्। उनलाई राजा युरिथियसले त्यस्ता एक दर्जन कार्य सुम्पिएका थिए, ती सबै कार्य अत्यन्त कठिन खालका थिए। तर, आफ्नो कुशल, चातुर्य, बहादुरी र कामप्रतिको तीव्र समर्पण-भावका कारण हर्क्युलिस सफल भए।

प्रधानमन्त्री बालेन्द्रसामु पनि त्यस्तै कठिन काम छन्। तर, जनादेशले प्रस्ट सन्देश दिएको छ, ‘बालेन्द्रले हर्क्युलिसले भन्दा उम्दा काम गर्नुपर्नेछ।’