काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

साफ यू-२०

नेपाललाई पछिल्ला हारहरूको बदला लिने अवसर

१७ चैत्र २०८२
अ+
अ-

“जुन टोलीलाई हामी समूह चरणमा जित्छौँ, त्यही टोलीसँग फाइनल पुगेर हार्छौं।”

नेपाली यू-२० राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यू-२० च्याम्पियनसिप सुरुअघि नै नेपालको नियतिबारे व्यंग्य गर्दै भनेका थिए।

तर, यसपटकको अवस्था फरक बनेको छ। माल्दिभ्सको राजधानी मालेमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा बाङ्लादेशलाई प्रतिद्वन्द्वी पाएको छ। बाङ्लादेशसँग नेपालले समूह चरणमा खेल्नै परेन अर्थात् नेपाल रहेको समूह ‘ए’ मा बाङ्लादेश थिएन।

यद्यपि, बाङ्लादेश नेपालका लागि अपरिचित प्रतिस्पर्धी होइन। पछिल्ला संस्करणहरूमा उसैले नेपाललाई सेमिफाइनल र फाइनलमा रोक्दै आएको थियो। यसपटक त्यही चुनौती सामना गर्ने र इतिहास बदल्ने लक्ष्यसहित नेपाल बुधबार मालेस्थित नेसनल फुटबल स्टेडियममा मैदान उत्रिँदै छ।

माल्दिभ्सविरुद्ध बल अगाडि बढाउँदै नेपाली फरवार्ड सुवास बम। तस्बिर : साफ

खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ। “हामी भिडन्तका लागि सम्पूर्ण रूपमा तयार छौँ,” नेपाली टोलीका फरवार्ड सुवास बमले आत्मविश्वास व्यक्त गर्दै भनेका छन्।

नेपाल र बाङ्लादेश यू-१८, यू-१९ र यू-२० प्रतियोगितामा हालसम्म सात पटक आमनेसामने भइसकेका छन्। दुई टोलीबीचको पहिलो भेट सन् २०१५ मा नेपालमै आयोजित साफ यू-१९ च्याम्पियनसिपमा भएको थियो। उक्त संस्करणमा नेपाल बाङ्लादेशविरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्दै सेमिफाइनल पुगेको थियो।

खेलको ११औँ मिनेटमा बाङ्लादेशका खेलाडी रोहितले गोल गर्दै अग्रता दिलाएका थिए। तर, अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका उत्पादन अञ्जन विष्टले १८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए। अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा बाङ्लादेशका तुतुल हुसैन बादशाहको आत्मघाती गोलमार्फत सम्भव भएको थियो। हाल यी दुवै खेलाडीले आफ्ना आफ्ना राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। प्रतियोगितामा नेपालले भारतलाई पराजित गर्दै उपाधि उचालेको थियो।

त्यसपछि भने यी दुई टोलीबीचको प्रतिस्पर्धा झन् चर्किंदै गयो। सन् २०१७ मा भुटानमा सिंगल राउन्ड रोबिन ढाँचामा भएको प्रतियोगितामा पनि नेपालले बाङ्लादेशलाई २-१ गोलअन्तरले पराजित गरेको थियो। उक्त संस्करणमा पनि नेपाल च्याम्पियन बन्दा बाङ्लादेश उपविजेतामै सीमित रह्यो। दुवै टोलीको समान नौ अंक भए पनि नेपालले तीन गोल कम खाएका कारण दोस्रो पटक च्याम्पियन बन्न सफल भएको थियो।

भुटानविरुद्ध गोल गरेपछि बुट निधारमा राखेर सेलिब्रेसन गर्दै नेपाली फरवार्ड सुजन डंगोल। तस्बिर : साफ

सन् २०१९ को संस्करणमा भेट नभए पनि सिंगल राउन्ड रोबिन ढाँचामै सन् २०२२ मा भएको यू-२० च्याम्पियनसिपमा फेरि यी टोलीको भिडन्त भयो। खेलमा निरञ्जन मल्लको गोलको मद्दतले नेपालले १-१ गोलको बराबरी खेलेको थियो। तर, नेपालभन्दा अंकतालिकामा माथिल्लो स्थानमा रहेका कारण बाङ्लादेशले पहिलो पटक उपाधि जित्न सफल भएको थियो।

त्यसयता भने यी दुई टोली प्रायः निर्णायक खेलहरूमा आमनेसामने हुँदै आएका छन्। सन् २०२४ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको समूह चरणमा नेपालले बाङ्लादेशलाई २-१ ले हराए पनि फाइनलमा भने ४-१ ले पराजित हुनुपरेको थियो। त्यस्तै, गत संस्करणमा पनि नेपाल सोही टोलीसँग सेमिफाइनलमा २-१ ले पराजित भएको थियो।

लगातारको हारपछि आफूले ‘फिलोसोफी’ नै परिवर्तन गरेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन्। “२०२४ मा समूह चरणमा जितेर पनि फाइनलमा चुक्यौँ। तर, यसपटक हामीले योजना र प्रणाली दुवै परिवर्तन गरेका छौँ। खेलाडीको क्षमताअनुसार रणनीति बनाएका छौँ,” उनी भन्छन्।

नेपाल जारी प्रतियोगितामा अपराजित रहने तीन टोलीमध्ये एक हो। समूह ‘ए’ मा रहेको नेपालले भुटानलाई २-१ र श्रीलंकालाई १-० ले हराउँदा माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो। योसँगै नेपाल चार खेलबाट सात अंक जोड्दै समूह विजेताका रूपमा अन्तिम चारमा पुग्न सफल भएको हो।

समूह ‘बी’ मा भने भारत र बाङ्लादेशले समान दुई खेलबाट ४-४ अंक जोडेका थिए। तर, गोलअन्तरमा पछि परेकाले भारत दोस्रो स्थानमा रह्यो। यो नतिजासँगै नेपालले सेमिफाइनलमा बाङ्लादेशलाई प्रतिद्वन्द्वी पाएको हो।

पाकिस्तानविरुद्ध गोल गरेपछि बाङ्लादेशी खेलाडी। तस्बिर : साफ

नेपाललाई यहाँसम्म पुर्‍याउन १७ वर्षीय फरवार्ड सुवास बम निर्णायक साबित भएका छन्। भुटान र श्रीलंकाविरुद्ध लगातार ‘म्यान अफ द म्याच’ घोषित उनले दुई गोल गरिसकेका छन्। सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका बम युवा टोलीका भरपर्दा खेलाडीका रूपमा उभिएका छन्।

उता बाङ्लादेश भने फरवार्ड रोनान सुलिभानमा बढी निर्भर देखिएको छ। प्रतियोगितामा बाङ्लादेशले अहिलेसम्म गरेको तीनै गोलमा उनको भूमिका छ। पाकिस्तानविरुद्ध २-० को जितमा उनैले दुवै गोल गरेका थिए भने भारतसँग १-१ को बराबरीमा सकिएको खेलमा गोलका लागि अवसर सिर्जना गरिदिएका थिए।

रोनानप्रति बाङ्लादेशी फुटबल वृत्तमा व्यापक चासो देखिएको छ। अन्तिम समयमा टोलीमा समेटिएका उनीबारे समर्थकले थप जानकारी चाहिरहेका छन्। रोनानले अमेरिकाको फिलाडेल्फिया युनियन एकेडेमीमा प्रशिक्षण लिएका हुन्। उनका जुम्ल्याहा भाइ डेकलान सुलिभान पनि टोलीमा छन्। तर, अहिलेसम्म खेल्न पाएका छैनन्।

बाङ्लादेश फुटबल महासंघले सोमबार माल्दिभ्सबाट खेलाडीहरूको छोटो भिडिओ सन्देश सार्वजनिक गरेको थियो। करिब १५ सेकेन्डको भिडिओमा रोनानले भनेका छन्, “यो कठिन खेल हुनेछ। हामी टोलीका रूपमा खेल्दै जित निकाल्न चाहन्छौँ। तर, नेपालविरुद्ध मैले दुई गोल गर्न सके जित हात पार्न सकिन्छ जस्तो लाग्छ।”

के नेपालले रोनानलाई रोक्दै जित हासिल गर्न सक्ला?