काठमाडौँ। गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘मालती मंगले’को दोस्रो गीत ‘ढुंगामाथि लेउ…’ सार्वजनिक गरिएको छ।
आगामी २५ वैशाखबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको नयाँ गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई रोमान्टिक अन्दाजमा फिचर गरिएको छ।
सार्वजनिक भिडियोको मुख्य आकर्षण भने बलिउडको ब्लकबस्टर चलचित्र ‘मोहब्बते’मा शाहरुख खान र काजोलको भेषमा विजय र वर्षाले गरेको नृत्य हो। निर्माता तथा गायक ढकालका अनुसार चलचित्रको कथामा वर्षाको पात्रले विजयमा शाहरुखलाई देख्ने भएकाले गीतमा त्यसैको झल्को दिने रचनात्मक प्रयास गरिएको हो।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको गीतमा गायक रामकृष्ण ढकाल र गायिका ऋतिका श्रेष्ठको युगल स्वर छ। गीतमा हर्क साउदको शब्द तथा एसडी योगीको संगीत छ। रिकेश गुरुङले संगीत संयोजन (एरेन्ज) गरेका हुन्। यस विशेष गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने यसको आकर्षक कोरियोग्राफी रोशन विकले गरेका हुन्।
यसअघि चलचित्रको शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको थियो। चलचित्रको नाम सुन्दा धेरैलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटकको झल्को आए पनि निर्माता ढकालले यो पूर्णतः हाम्रै समाजको परिवेशमा आधारित एक फरक सांगीतिक प्रेमकथा भएको प्रस्ट पारे।
प्रकु पाण्डेयको पहिलो निर्देशकीय चलचित्र रहेको ‘मालती मंगले’को कथा निर्देशक स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्।
चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। चलचित्रका छायाकार महेश पौडेल हुन्।