सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो बनाउँदै लैजानेछौँ : कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा १ वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।
ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ। उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो। थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व-पश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो। यी दुई रुटमा चारवटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन्।
“बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नुपर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकाले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ‚” महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोल भन्छिन्, “सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ। त्यसमा पनि किशोरी र महिलाले दुर्व्यवहार भोग्नुपरेको छ। विद्यार्थीहरूलाई आर्थिक रूपमा धेरै मर्का छ। यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौँ।”
साझा यातायातसँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने
सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य हो। यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका खुला छ। कार्यवाहक प्रमुख डंगोलले बताए।
सेवा प्रारम्भ गर्दा साँझ ८ देखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुनेछन्। तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन्। बसमा सीसीटीभी क्यामरा जडान हुनेछन्। सुरक्षाका लागि नगर प्रहरी हुनेछन्।