काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन्।
सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्य लिएको सन्दर्भमा उनले पीडितहरूसँग संवाद अघि बढाएकी हुन्।
आज बिहानैदेखि मन्त्रालय परिसरमा देशभरका विभिन्न सहकारी संस्थाबाट प्रभावित बचतकर्ताहरू भेला भई आफ्ना समस्या र गुनासा राखिरहेका छन्। लामो समयदेखि बचत रकम फिर्ता नपाउँदा समस्यामा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था प्रस्तुत गर्ने अवसर पाएका छन्।
छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छिन् । ‘पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,’ उनले भनिन्।
सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ छ। उक्त छलफलले सहकारीपीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ।