काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

एसईई

हिजोदेखि जारी माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रमै, नतिजा महिनादिनभित्र

२० चैत्र २०८२
ललितपुरको ठेचुस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा एसईई परीक्षा दिन आएका विद्यार्थीहरू। तस्बिर : बिक्रम राई
अ+
अ-

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि ‘माध्यमिक शिक्षा परीक्षा’ (एसईई) को उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण गर्न थालेको छ। बिहीबार (१९ चैत)देखि सुरु भएको एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षा सकिएलगत्तै परीक्षण भएका छन्।

लामो समयसम्म नतिजा कुराउँदा विद्यार्थीलाई मानसिक तनाव बढ्ने भएकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले महिनादिनभित्रै नतिजा सार्वजनिक गर्न मातहतका कर्मचारीलाई १८ चैतमा निर्देशन दिएका थिए। ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइसँगको छलफलपछि शिक्षा मन्त्रालय एक महिनाभित्रै नतिजा निकाल्न सकिने निष्कर्षमा पुगेको थियो।

सरकारको निर्देशनअनुसार परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच्न थालिएको परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए। उनका अनुसार कुनै परीक्षा केन्द्रमा उत्तरपुस्तिका जाँच्ने शिक्षकको अभाव भएको वा असुरक्षित भएको अवस्थामा शिक्षा विकास तथा समन्वय एकाइ (साबिक जिल्ला शिक्षा कार्यालय)को सहजीकरणमा अर्को स्थानमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।

अघिल्लो वर्षसम्म एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गरिन्थ्यो र परीक्षा सम्पन्न भएको तीन महिनामा मात्रै नतिजा सार्वजनिक हुन्थ्यो। एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने सरकारको योजनालाई शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रका अधिकारी तथा विज्ञहरूले स्वागत गरेका छन्। अर्कातिर, हतार गरी परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका जाँच्दा निष्पक्ष परीक्षण हुनेमा कतिपयले संशयसमेत व्यक्त गरेका छन् भने कतिपयले यसले निम्त्याउने जोखिम र असरलाई औँल्याएका छन्।

उत्तरपुस्तिका जाँच्ने शिक्षकको सजिलै पहिचान हुने हुँदा परीक्षाफलमा चित्त नबुझ्ने विद्यार्थी र तिनका आफन्तले शिक्षकलाई डर-धम्की दिन सक्ने जोखिमसमेत छ। परीक्षणमा संलग्न शिक्षक मनोवैज्ञानिक भयमा हुने भएकाले सकेसम्म कम विद्यार्थी फेल नगराउने मनसायले फितलो परीक्षण हुन सक्ने आशंका गरिएको छ। कोभिड महामारीका बेला विद्यार्थीको आन्तरिक मूल्यांकनबाट नतिजा निकालिएको थियो। त्यो वर्ष अघिल्ला वर्षहरूभन्दा विद्यार्थीको उत्तीर्ण दर बढी थियो।

शिक्षक सक्षम र इमानदार छन् भन्ने सरकारको विश्वासकै कारण परीक्षा केन्द्रमै एसईईको उत्तरपुस्तिका परीक्षण गरिएकाले त्यसमा शंका गर्न जरुरी नरहेको परीक्षा नियन्त्रक अधिकारी बताउँछन्। “यदाकदा कमजोरी हुन सक्छ, त्यस्तो भएमा सम्बन्धित विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउँछन्,” उनी भन्छन्, “एसईई उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकले बदनियत राखे वा उनी गैरजिम्मेवार बने भने विभागीय कारबाही हुन्छ, कालोसूचीमा राख्नेसम्मको कारबाही हुन सक्छ।” एसईईको उत्तरपुस्तिका परीक्षणमा सहभागी शिक्षकलाई अविश्वास नगर्न अभिभावकलाई उनको आग्रह छ। “अविश्वास गरे झन् विश्वासघात हुन्छ,” उनी भन्छन्।

काठमाडौँ विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन प्राध्यापक बालचन्द्र लुइँटेलले एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने सरकारको निर्णयको प्रशंसा गरेका छन्। उनी भन्छन्, “परीक्षामा असफल हुनेले छिटै परीक्षा दिन पाउने भए।” उत्तरपुस्तिका परीक्षणमा संलग्न शिक्षकलाई शंका नगर्न उनको पनि आग्रह छ। उनी भन्छन्, “पढाउने शिक्षकलाई विश्वास गर्न सक्नुपर्छ, शिक्षकले पनि नैतिकताभित्र रहेर उत्तरपुस्तिका जाँच्नुपर्छ।”

राष्ट्रिय परीक्षा बोर्डका अनुसार शैक्षिक सत्र २०८२ को नियमित तथा ग्रेडवृद्धितर्फको एसईई परीक्षामा देशभरबाट पाँच लाख १२ हजार ४२१ विद्यार्थी (छात्रा : दुई लाख ५७ हजार ६१३, छात्र : दुई लाख ५४ हजार ८०१, अन्य सात) सहभागी छन्। परीक्षा सञ्चालनका लागि एक हजार ९६१ केन्द्रहरू तोकिएका छन्।

यसैगरी, यसपालिको एसईई परीक्षामा सामूहिक अनुगमनलाई रोक लगाएको बोर्डले जनाएको छ। अघिल्ला वर्षसम्म परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि परीक्षा हलमा प्रवेश गर्दा परीक्षार्थीलाई बाधा पुगेको गुनासो आएकाले यसपालि सरकारले त्यसमा रोक लगाएको हो। यसपटक प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको ‘जिल्ला परीक्षा समन्वय समिति’ का आधिकारिक प्रतिनिधिबाट मात्र परीक्षा केन्द्रको बाहिरी क्षेत्रमा अनुगमन गरिएको छ।

सुरक्षाका लागि प्रत्येक परीक्षा केन्द्रमा १५ जना प्रहरी खटाइएका छन्। प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष र एक सहायक केन्द्राध्यक्ष तोकिएका छन्। बोर्डका अनुसार २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीसमेत परिचालन गरिएका छन्।