काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

टिप्पणी

युवा उमेरमै मेयर, लगत्तै प्रधानमन्त्री। माटेओ र बालेन्द्रको विगत उस्तै छ।

२० चैत्र २०८२
प्रधानमन्त्री बालेन्द्र शाह र इटालीका नेता माटेओ रेन्जी।
अ+
अ-

स्थानीय राजनीतिबाट उदाएका इटालीका माटेओ रेन्जीले इटालियन पिपल्स पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए। सन् २००४ देखि २००९ सम्म उनी पार्टीको फ्लोरेन्स प्रान्तका अध्यक्ष थिए। सन् २००९ देखि २०१४ सम्म फ्लोरेन्सकै मेयरमा चुनिए, त्यो पनि ३४ वर्षकै उमेरमा। आफूलाई ऊर्जाशील र परिवर्तनको पक्षधरका रूपमा स्थापित गर्दै मेयर हुँदा उनले सहरी सुधार, आधुनिक व्यवस्थापन र पारदर्शिता आत्मसात् गरे। आफ्ना कार्यशैली र विचारका कारण उनी लोकप्रिय बन्दै गए।

यही लोकप्रियताले रेन्जीलाई सन् २०१४ मा देशको प्रधानमन्त्री नै बनायो। प्रधानमन्त्री रहँदा उनले निर्वाचनसम्बन्धी कानुनमा सुधार, आर्थिक वृद्धिमा जोड, श्रम र रोजगारसँगै सार्वजनिक प्रशासन सुधार जस्ता काम गरे। तर, सन् २०१६ मा गरिएको संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा उनी नराम्रोसँग पराजित भए र प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भए। त्यसपछि डेमोक्रेटिक पार्टी छाडेका रेन्जी इटालिया भाइभा दलको नेतृत्व गरिरहेका छन्।

छोटो समयमै लोकप्रियताको शिखर चुमेका नेतामध्ये पाकिस्तानका इमरान खान पनि हुन्। क्रिकेट जगत्‌का हस्ती खान तेहरिक-ए-इन्साफ पार्टीको नेतृत्व गर्दै सन् २०१८ देखि २०२२ सम्म सत्ताको बागडोर सम्हाल्न सफल भए। परम्परागत धारमा रहेका पकिस्तान मुस्लिम लिग र पाकिस्तान पिपुल्स पार्टी नातावाद र भ्रष्टाचारका कारण अलोकप्रियताको खाडलमा भासिँदै गएको बेला जनताले खानलाई विश्वास गरेर सत्तामा पुर्‍‍याएका थिए। तर, विभिन्न राजनीतिक र आर्थिक संकटका कारण उनले प्रधानमन्त्रीको पूर्ण कार्यकाल शासन चलाउन सकेनन्। अविश्वास प्रस्तावमार्फत उनी राजीनामा दिन बाध्य हुनुपर्‍‍यो। हाल भ्रष्टाचारलगायत विभिन्न मुद्दामा दोषी साबित भई उनी जेलजीवन बिताइरहेका छन्।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान। तस्बिर स्रोत : बीबीसी

‘गेट ब्रेक्जिट डन’ नाराले चर्चित बोरिस जोन्सन सन् २०१९ मा अत्यधिक मत पाउँदै बेलायती प्रधानमन्त्री बने। तर, उनले पनि लोकप्रियता कायम राख्न सकेनन्। रामोन म्याग्सेसे पुरस्कारबाट सम्मानित भारतका अरविन्द केजरीवाल भ्रष्टाचारविरोधी अभियानले लोकप्रिय भए। आम आदमी पार्टी खोल्दै दुई पटक नयाँ दिल्लीको मुख्यमन्त्री पनि बने। मूलधारको राजनीतिभन्दा फरक केही सुधारका काम पनि गरे। तर, मदिरा नीति ल्याउँदा भ्रष्टाचार गरेको आरोपमा मुख्यमन्त्री छँदै उनी समातिए। गएको फेब्रुअरीमा प्रमाण नपुगेको भन्दै अदालतले उनलाई रिहा गरेको छ।

आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल। तस्बिर : रोयटर्स

नेपाल प्रसंग

२१ फागुनको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक जनमत प्राप्त गर्‍‍यो। छोटो समयमा नै जनमतमा स्थापित भयो। पार्टीका वरिष्ठ नेता ३६ वर्षीय बालेन्द्र शाह देशका प्रधानमन्त्री बनेका छन्। इटालीका रेन्जीजस्तै मेयर पृष्ठभूमिबाट सोझै उनी प्रधानमन्त्री बनेका छन्।

नेपाली राजनीतिमा कुनै समय नेपाली कांग्रेस, एमाले र उनीहरूका नेताहरू बीपी कोइराला, मनमोहन अधिकारीलगायतको लोकप्रियता पनि कम थिएन। संसदीय राजनीतिमा प्रवेशपछि माओवादी पार्टीका पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईप्रतिको वाहवाही पनि उस्तै थियो।

तर, समय उही रहेन। विधिको शासनको धज्जी उडाउन, भ्रष्टाचारको मलजल गर्न, जनताको विश्वासमा लात मार्न, आफ्ना मान्छे र आसेपासेलाई मात्र भलो गर्न पुराना पार्टीहरू मग्न रहे। योसँगै आधुनिकताले जन्माएका जनताका आवश्यकता, आकांक्षा सम्बोधन गर्न नसक्दा पुराना दलहरूप्रति वितृष्णा बढ्न थाल्यो। स्वाभाविक हो, यस्तो परिस्थितिमा जनता नयाँ दलतर्फ मोडिन थाल्छन्। तिनले जनादेश पनि प्राप्त गर्छन्। तर, सत्तामा पुगेपछि शासन चलाउन नजान्दा र जनअपेक्षा पूरा गर्न नसक्दा उनीहरू पनि जनताबाट तिरस्कार हुन पुग्छन्।

नेपालको सन्दर्भमा पनि रास्वपाले ल्याएको जनमत जनताहरूले माया वा विश्वास गरेरभन्दा पनि पुराना दलहरूलाई गरिएको तिरस्कार फल हो। किनकि, रास्वपाले न जनहितका काम गरेर विश्वास जितेको थियो न त कुनै नयाँ मुद्दा नै ल्याएको थियो। उनीहरूले भनेझैँ विकास, भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता, सहिदको रगत खेर जान नदिनेजस्ता वाचा पुराना दलका नेताहरूले पनि नभनेका होइनन्, तर व्यवहारमा उल्टो गरे। परिणामस्वरूप जनताले विकल्प खोजे र विकल्पमा रास्वपा पर्न गयो। रास्वपा हर्क साम्पाङको श्रम संस्कृति पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टीभन्दा केही पाको र परिपक्व थियो। उसले गृहकार्यको समय पनि अन्य नयाँ दलभन्दा बढी पाएको थियो।

अभूतपूर्व जनमत पाएको रास्वपाबाट देशको बागडोर बालेन्द्र शाहले सम्हालेका छन्। बालेन्द्र शाहको जीवनी र राजनीतिक यात्रा इटालीका माटेओ रेन्जीसँग मिल्दोजुल्दो छ। रेन्जीजस्तै बालेन पनि मेयरबाट लोकप्रियता कमाएर प्रधानमन्त्री बनेका छन्। त्यो पनि लगभग उस्तै उमेरमा, मुद्दा पनि समान। तर, रेन्जीकै जस्तो नियति बालेन्द्रले भोग्नु नपरोस्।

–विश्वकर्मा समाजशास्त्रका उपप्राध्यापक हुन्।