काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सदनबाट सरकारले दलित समुदायसँग माफी माग्नु ऐतिहासिक र सुखद क्षण भएको बताएका छन्।
रास्वपा सभापति रवि लामिछानेले रोस्ट्रमबाटै आफ्नो नाम लिएर दलित समुदायसँग माफी मागेकोमा आभार व्यक्त गरे।
‘वर्षौंदेखि शिर झुकाएर बसेका दलित समुदायको शिर आज नेपाल र अन्तर्राष्ट्रिय जगतमा उच्च भएको छ,’ सांसद सुनारले भने, ‘६० लाख दलितमाथि भएको अन्याय अब न्यायमा रूपान्तरित हुँदैछ। राज्यले आफ्नो गल्ती महसुस गर्दै माफी माग्नु र आगामी दिनमा यस्तो नदोहोर्याउने प्रतिबद्धता जनाउनु विश्वभर नै प्रशंसाको विषय बन्नेछ।’
सडकबाट सदनसम्मको आफ्नो यात्रालाई स्मरण गर्दै उनले हिजोका दिनमा सडकमा नेल र हतकडी लगाएर न्यायको भिख माग्ने आफू आज संसदको गरिमामय कुर्सीमा पुगेको सुनाए।