काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

निर्वाचन

मतदाता नामावली संकलन र अद्यावधिक कार्य पुन: सुरु

२३ चैत्र २०८२
काठमाडौँमा मतदाता नामावलीमा नाम दर्ता गराउँदै सेवाग्राही। तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौँ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीका २५ वर्षीय तहिबुल मोहम्मद आफूले रोजेको उम्मेदवारलाई भोट हाल्ने योजना बुन्दै थिए। काठमाडौँमा ‘राइड सेयरिङ’ को काम गर्ने उनी दैनिक कमाइको केही अंश बचत पनि गरिरहेका थिए।

भोट खसाल्न गाउँ जाने खर्च जोहो गरिरहेका उनले चुनावको साता दिनअघि मात्रै थाहा पाए कि मतदानका लागि पहिल्यै नाम दर्ता गर्नुपर्छ। मतदानको अघिल्लो साँझ नक्साल भाटभटेनीदेखि नयाँ बानेश्वरसम्मको राइड सेयरिङका क्रममा उनले भने, “भोट हाल्न नपाउने भएर साह्रै थकथक लागिरहेको छ। उही दल, उही उम्मेदवारलाई के भोट हालिरहने भनेर पहिले मतदाता नामावलीमा नाम दर्ता गर्नतिर ध्यान दिइएन।”

मतदानका दिन देशभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। तहिबुलले त्यसदिन डेरामा थुनिएर बस्नुपर्नेमा पिर माने। दिक्क मान्दै भनेका थिए, “भोटर लिस्टमा नाम भएको भए म पनि यतिखेर भोट हाल्न गाउँमा हुन्थेँ।” यसले बेलैमा मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने सिकाइ भएको उनले सुनाएका थिए।

बारा, निजगढ घर भएका आयुष लामा, विशाल माझी र सरस्वती माझी प्रतिनिधिसभा सदस्य निर्वाचनको दिनभर काठमाडौँ महानगरपालिका १५ को भुइँखेल चौर मतदान केन्द्रको रमिते बने। स्थानीय मतदाता केन्द्रमा आउँदै, भोट हाल्दै, गफिँदै गरेको उत्साहपूर्ण माहोल देख्दा उनीहरूलाई पनि मतदानको न्यास्रो लाग्यो। “आफूले पनि भोट हाल्न पाएको भए हुन्थ्यो भन्ने लागिरह्यो,” मतदान केन्द्रअगाडि भेट भएकी सरस्वतीले भनिन्।

तीनैजना काठमाडौँमा डेरा गरेर बस्छन्। साधारण लेखपढ गरेका २६ वर्षीय आयुष कुकको काम गर्छन्। २६ वर्षकै विशाल फर्निचर उद्योगमा काम गर्छन्। २५ वर्षीया सरस्वती भने स्नातकको पढाइ सकेर कोरियन भाषा पढ्दै छिन्। निर्वाचनले गर्दा पढाइ र कामबाट फुर्सद पाएका तीनैजनाले अरूले भोट हालेको हेरेरै दिन कटाए। विशाल र सरस्वती पति-पत्नी हुन्।

मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि जिल्ला निर्वाचन कार्यालयमा पालो कुर्दै गरेका सेवाग्राही।

निर्वाचनको एक साताअघि भिनाजु नाता पर्नेले विशाल दम्पतीलाई मतदानका लागि गाउँ बोलाएका पनि थिए। तर, सर्लाहीका तहिबुलको जस्तै मतदाता नामावलीमा उनीहरूको पनि नामै थिएन। त्यसपछि मात्रै उनीहरूले महसुस गरे, ‘भोट हाल्न त मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने रहेछ।’

निर्वाचन आयोगले तोकेको मितिभित्र अन्तिम मतदाता नामावलीमा नाम समावेश भए मात्र चुनावमा भोट खसाल्न पाइन्छ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर आयोगले १२ पुसमा अन्तिम नामावली प्रकाशित गरेको थियो। नागरिकता प्राप्त गरेपछि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भए पनि १८ वर्षको भएपछि मात्रै मतदानमा सहभागी हुन पाइन्छ। आयुष, विशाल र सरस्वती बालिग भए पनि दर्ता र अद्यावधिकको समय गुज्रिसकेकाले भोट हाल्न पाएनन्।

माथि उल्लेख भएका चार जना त प्रतिनिधि पात्र मात्रै हुन्। बेलैमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक नगर्ने नागरिकले आवधिक निर्वाचनमा मतदानको अवसर गुमाउँछन्। ‘निर्वाचनको मूल आधार मतदाता नामावली हो। मतदाता नामावलीमा नाम दर्ता भएपछि मात्र मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउँछन्,’ आयोगको निर्वाचन स्मारिका २०७६ मा प्रकाशित ‘मतदाता नामावली दर्ता, अद्यावधिक तथा सुधारका क्षेत्रहरू’ शीर्षकको आलेखमा उल्लेख छ। निर्वाचन कानुनअनुसार अन्तिम मतदाता नामावलीमा नाम समावेश नभएकाले उम्मेदवारसमेत बन्न पाउँदैनन्।

बारा, निजगढका आयुष लामा, विशाल माझी र सरस्वती माझी। तस्बिर : विक्रम राई

पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न जागरुक हुनुपर्ने बताउँछन्। “आयोगले मतदाता नामावली संकलन, रुजु, अन्तिम नामावली प्रकाशनका लागि निश्चित अवधि तोकेको हुन्छ। नागरिकले पनि चासो लिनुपर्‍यो, अहिले अनलाइन सिस्टममा सबै विवरण हेर्न सकिन्छ,” उनी भन्छन्।

निर्वाचन आयोगले २२ चैतबाट मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुन: सञ्चालन गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरेर ६ मंसिर २०८२ देखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम स्थगित  थियो।

नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत अनलाइन प्रणालीबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता कृष्णबहादुर राउत बताउँछन्। यसका लागि सुरुमा, नेपाली नागरिकता प्राप्त गरेकाहरूले जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेसन रहेका इलाका प्रशासन कार्यालय वा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन भएको बेलामा आफ्नो वडाबाट विवरण दर्ता गराएर राष्ट्रिय परिचयपत्र प्राप्त गर्नुपर्ने हुन्छ।

निर्वाचन सम्पन्न भएपछि अर्को निर्वाचन घोषणा नभएसम्म मतदाता नामावली संकलनको काम निरन्तर चलिरहन्छ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाले भने मतदाता नामावली दर्ता गर्न आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा भौतिक रूपमै उपस्थित हुनुपर्छ। यसैगरी, अनलाइन प्रणालीबाटै मतदाता नामावलीमा रहेको नाम, थर, ठेगाना जस्ता त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्न सकिन्छ।

आयोगका प्रवक्ता राउतका अनुसार मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम निर्वाचन अवधिबाहेक निरन्तर चलिरहन्छ। उनी भन्छन्, “निर्वाचन मिति घोषणा भएको मितिदेखि सम्पन्न नहुन्जेल मतदाता नामावली संकलन तथा अद्यावधिक बन्द हुने हो। निर्वाचन सम्पन्न भएपछि अर्को निर्वाचन घोषणा नभएसम्म चलिरहन्छ।”

राष्ट्रिय जनगणना, २०७८ अनुसार देशभर १८ वर्ष पूरा गरेकाको कुल संख्या एक करोड ९२ लाख ९४ हजार ९९५ छ। निर्वाचन आयोगका अनुसार यसपालि (२०८२) को चुनावमा कुल मतदाता एक करोड ८९ लाख तीन हजार ६८९ थिए।