कैलाली। किसानले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्। गत वर्ष प्रतिक्विन्टल चार हजार रुपैयाँमा गहुँ बेचेका किसान यस वर्ष करिब दुई सय रुपैयाँ कम मूल्यमा बिक्री गर्न बाध्य छन्।
हाल गहुँ प्रतिक्विन्टल तीन हजार ८ सय रुपैयाँको हाराहारीमा बिक्री भइरहेको छ । यसैबीच केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ।
किसान रुपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा मर्का परेको बताए। ‘गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, थोरै भए पनि बढी मूल्य पाउनुपर्ने थियो, समयमै मल र बीउ नपाउने, दुःख गरेर खेती गर्दा पनि उचित मूल्य नपाउने समस्या छ,’ उनले भने।
टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेका कारण किसानले उचित मूल्य पाउन नसकेको बताए। उनका अनुसार किसानले समयमै मल, बीउ नपाउने र बिक्रीका बेला पनि उचित मूल्य नपाउने समस्या झेलिरहेका छन्। केही दिनअघि हुरीबताससहितको वर्षाले गहुँ उत्पादनमा कमी आएको छ । अहिले सङ्कलन केन्द्रमा पनि उचित मूल्य पाइँदैन, किसानलाई जताबाट पनि घाटा भएको छ।
टीकापुरका पहलमान साउदले भने प्रतिक्विन्टल चार हजार २ सय रुपैयाँका दरले चार क्विन्टल गहुँ खरिद गरेका छन्। गत वर्ष पनि यही मूल्यमा गहुँ खरिद गर्नुभएका उनलाई यस वर्षको मूल्य ठीकै लागेको बताउँछन्।
टीकापुरस्थित भीम खाद्यान्न खरिदबिक्री केन्द्रका भीमबहादुर ठकुल्लाले राम्रो (केलाउन नपर्ने) गहुँ प्रतिक्विन्टल तीन हजार ८ सय रुपैयाँसम्ममा खरिद गर्ने गरेको बताए।
खाद्यान्न व्यवसायीका अनुसार कैलालीमा खरिद गरिएको गहुँ नेपालगन्ज र धनगढीका मैदा मिलमा प्रतिक्विन्टल करिब चार हजार रुपैयाँमा बिक्री हुने गरेको छ। ठकुल्लाले हालसम्म चार सय क्विन्टल गहुँ प्रतिक्विन्टल चार हजार रुपैयाँका दरले बिक्रीका लागि नेपालगन्ज पठाएका छन्।
यस वर्ष सरकारले गहुँको समर्थन मूल्य तोकेको छैन। समर्थन मूल्य नतोकिँदा खाद्यान्न खरिदबिक्री केन्द्रहरूले मिलसँगको समन्वयमा खरिदबिक्री दर निर्धारण गरिरहेका छन्।
कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारणका लागि अध्ययन गरी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको जनाएको छ।