जनकपुर। जनकपुर उपमहानगरपालिका १४ कि रुबीकुमारी ठाकुर उपसभामुख हुने खबरले उनको गाउँमा खुसी छाएको छ।
रुबी संसद् सचिवालयमा बिहीबार दिउँसो उपसभामुख पदको उम्मेदवारी दर्ता गराउँदै थिइन्। उनका साथीसंगी पनि खुसी बने। केही साथीसंगी उनका बाबुआमालाई भेटेरै बधाइ दिनसमेत भ्याए। उनका बुबा र आमा भने गाउँकै छेउमा रहेको खेतमा गहुँ काट्दै थिए।
रुबीका बुबाआमाले करिब अढाइ बिघा जमिन अधियाँ (बटैया) मा खेती गर्दै आएका छन्। “गहुँ पाकेको छ त्यसलाई काट्नु छ‚” रुबीका बुबा सोगारथले भने। गहुँ काट्दै गर्दा बुबालाई रुबीले फोन गरेकी थिइन्। “आमालाई खुसीको खबर सुनाइदिनु है बुबा‚ मैले उपसभामुखमा उम्मेदवारी दिएकी छु‚” छोरीसँग भएको वार्ता सोगारथले सुनाए।
रुबीकी आमा रेणु पनि निकै खुसी छिन्। उनले भनिन्‚ “छोरीले केही सुनाएकी छिन्। केही भएको छु रे।” उपसभामुखको पद र कामबारे उनलाई थाहा भने छैन। रेणुले थपिन्‚ “मेरो छोरी सांसदभन्दा पनि माथि भएकी छिन्।”
रुबी सांसद हुँदा सोगारथ वैदेशिक रोजगारीका लागि साउदी अरबमा थिए। उनले त्यहाँ विभिन्न सञ्चारमाध्यम र फेसबुकबाट छोरी सांसद भएको जानकारी पाए। बिदामा घर आएका उनी पुन: साउदी जाने तयारीमा छन्।

६ सन्तानका बुबा सोगारथका पहिलो सन्तानको विवाह भइसकेको छ। अब तीन छोरी र दुई छोराको विवाह गर्न बाँकी छ। जनकपुरका जुगल शाहको खेत अधियाँमा कमाउँदै आएका ठाकुर परिवार खेती र वैदेशिक रोजगारमा गएका सोगारथले पठाएको रेमिट्यान्सबाट चल्दै आएको छ। “छोरीलाई गरेको लगानी खेर गएको छैन। आज खुसी लागेको छ‚” सोगारथ र रेणुले भने।
धनुषाको मुजेलियास्थित सोहनी माविबाट एसईई सकेर रुबीले सर्लाहीको बलरा पोलिटेक्निक इस्टिच्युटबाट सिभिल इन्जिनियरिङ गरिन्। पढाइ सकिएलगत्तै उनले सिभिलमा टूडी र थ्रीडी प्रविधिबाट घरको नक्सा बनाउन सिकेकाले जनकपुरस्थित वास्तु आर्किटेक्चर कन्सल्टेन्सीमा मासिक २० हजार रुपैयाँ पारिश्रमिकमा काम गर्दै आएकी थिइन्।
जेन-जी आन्दोलनबाटै देशका लागि केही गरौँ भन्ने सोच बनाएकी रुबी निर्वाचनको दुई महिनाअघि मात्र श्रम संस्कृति पार्टीमा जोडिइन्। उनी भन्छिन्‚ “मेयर हर्क सम्पाङको काम सामाजिक सञ्जालबाट हेरेर म निकै प्रभावित थिएँ। जेन-जी आन्दोलनपछि हर्क सम्पाङसँग जोडिएर समाजका लागि केही काम गरौँ भनेर पार्टीका दीपकजंग ठाकुरको सम्पर्कबाट श्रम संस्कृतिमा आबद्ध भएँ।”

उपसभामुख पदको उम्मेदवारी दर्ता गराउँदै रुबीकुमारी महतो। तस्बिर : नेपाल फोटो लाइब्रेरी
उनले निर्वाचनमा श्रम संस्कृति पार्टीका लागि मत मागेको सुनाइन्। “त्यस बेला आफूलाई थाहा थिएन कि म पनि सांसद बन्नेछु। निर्वाचनपछि फोन आयो तपाईं समानुपातिकबाट सांसद हुनुभएको छ भनेर‚” रुबीको भनाइ छ‚ “यो सुन्दा मलाई सुरुमा विश्वासै भएन। पछि विभिन्न सामाजिक सञ्जाल र समाचारबाट बधाई तथा शुभकामना देखेपछि खुसी लाग्यो। अहिले त उपसभामुखमा उम्मेदवारी दिएकी छु। चयन पनि हुनेछु भन्ने विश्वास छ।”