काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२६ चैत्र २०८२
विराटनगर ६ मा रहेको कबाड गोदाम। यहाँ चोरी भएको सिटी सफारीको पार्टपुर्जा प्रहरीले बरामद गरेको छ। तस्बिर : नेपालन्युज
अ+
अ-

विराटनगर। विराटनगरबाट चोरी भएका सिटी सफारीहरू कबाडका गोदाममा पुर्‍याएर बिक्री गर्ने गरेको पाइएको छ।

विराटनगर ६‚ सरैचियास्थित विजय सहनीको कबाड गोदाममा चोरीका सफारी फेला परेपछि यस्तो तथ्य बाहिर आएको हो।

मोरङ प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा बिहीबार दिउँसो गोदाममा छापा मारिएको थियो। प्रहरीले खानतलासी गर्दा गोदामभित्र प्लास्टिकका कबाडी सामानले खप्ट्याएर लुकाइराखेको अवस्थामा दुईथान सिटी सफारीका पार्टपुर्जा फेला पारेको छ।

मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी लीलाराज लामिछानेका अनुसार चोरीका सफारी खरिद गरेर त्यसका पाटपुर्जा अलग्याई लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो। “विराटनगर र आसपासका क्षेत्रबाट चोरी भएका सिटी सफारीहरू यो गोदाममा खरिद गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,” डीएसपी लामिछानेले भने, “अहिले हामी अनुसन्धानकै क्रममा छौँ, थप विवरण खुल्न बाँकी छ।”

गोदाम सञ्चालक सहनीले कति रकममा चोरीका सफारी खरिद गर्थे भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ। प्रहरी टोली पुगेको थाहा पाउनेबित्तिकै सञ्चालक सहनी भने फरार भएका छन्। विराटनगरसहित मोरङका विभिन्न स्थानमा पछिल्लो समय सिटी सफारी चोरी हुने क्रम बढेपछि प्रहरीले निगरानी तीव्र बनाएको थियो। फरार सहनीको खोजी भइरहेको र बरामद गरिएका पार्टपुर्जाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।