शिक्षा
पछिल्लो २४ घण्टामा ३०० भन्दा बढी गुनासो दर्ता
देशभर यौनहिंसाका कुल पीडितमध्ये विद्यालय र कलेजका छात्रा ५७.३२ प्रतिशत रहेको प्रहरी प्रधान कार्यालयको अभिलेख छ। प्रहरीको यो तथ्यांक आर्थिक वर्ष २०७९/८० यताका तीन वर्षको हो। शिक्षालयमा विद्यार्थीले भोग्ने यौनहिंसाको भयावह स्थिति रोक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गुनासो दर्ता गर्ने संयन्त्र सञ्चालन गरेको छ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बुधबार आफ्नो फेसबुकमा स्टेटस लेख्दै शैक्षिक संस्थामा विद्यार्थीले भोग्ने गरेका दुर्व्यवहार, शोषण तथा उत्पीडनका घटनाहरू संकलन गर्न थालेको जानकारी दिएका छन्। उनले गुनासो दर्ताका लागि ‘गुगल फर्म’ को लिंक फेसबुकको कमेन्ट बक्समा छोडेका छन्। दुर्व्यवहार, शोषण तथा उत्पीडनका गुनासा प्रत्यक्ष रूपमा सुन्न र तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउन सरकारले विशेष संयन्त्र सञ्चालनमा ल्याएको पोखरेलले स्पष्ट पारेका छन्।
विद्यार्थीले विद्यालय, कलेजलगायत शैक्षिक संस्थामा भोग्ने दुर्व्यवहार, शोषण तथा उत्पीडनका घटनाप्रति मन्त्रालय गम्भीर रहेको उनले जनाएका छन्। ‘मन्त्रालय कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अंगीकार गर्दछ,’ उनले लेखेका छन्।
गुगल फर्म भरेर गुनासो दर्ता गर्ने प्रक्रियामा सहभागी हुने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य र सुरक्षित राखिने भन्दै निर्धक्क भई आफूविरुद्ध भएका हिंसाका विवरण उपलब्ध गराउन विद्यार्थीलाई मन्त्री पोखरेलले आह्वान गरेका छन्। यसले शिक्षालयहरूमा सुरक्षित शैक्षिक वातावरण निर्माणमा सघाउ पुग्ने अपेक्षा राखिएको छ।
शिक्षामन्त्री पोखरेलले सेयर गरेको गुगल फर्ममा २३ वटा प्रश्नावली छन्। त्यसमा विद्यार्थीको नाम, अध्ययनरत तह, शैक्षिक संस्थाको नाम, संस्थाको प्रकृति, संस्थाको ठेगाना, विद्यार्थीले भोगेको दुर्व्यवहारको विवरण, दुर्व्यवहार गर्नेको विवरण, दुर्व्यवहारले पारेको असर खुलाउने विकल्प छ। आफूलाई भएको हिंसाबारे कुनै निकायमा उजुरी गरेको भए सो निकायको विवरण र त्यसबारे कारबाही भए नभएको स्थिति खुलाउने प्रश्न पनि गुगल फर्ममा समेटिएको छ। त्यस्तै, आफूलाई भएका हिंसासम्बन्धी प्रमाणहरू पनि उजुरीकर्ताले खुलाउन सक्ने व्यवस्था छ।
गुगल फर्ममा लैंगिक तथा जातीय विभेद, मौखिक दुर्व्यवहार, शारीरिक दुर्व्यवहार, यौनजन्य दुर्व्यवहार, भावनात्मक दबाब, बुलिङ, अनलाइन दुर्व्यवहारलगायत गुनासो दर्ता गर्न सकिने विकल्प छ। त्यस्तै, आफूलाई दुर्व्यवहार गर्ने शिक्षक, प्रशासनिक कर्मचारी, सहपाठी वा अन्य व्यक्तिको विवरण पनि त्यसमा खुलाउन सकिन्छ। यससम्बन्धी विवरण खुलाउन नचाहनेका लागि वैकल्पिक व्यवस्था पनि गुगल फर्ममा छ।
पछिल्लो २४ घण्टामा ‘गुगल फर्म’ मार्फत ३०० वटा जति गुनासो संकलन भएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।
प्रहरीले हरेक वर्ष सार्वजनिक गर्दै आएको लैंगिक हिंसासम्बन्धी तथ्यपत्रमा आर्थिक वर्ष २०७९/८० देखि पीडितको पेसा पनि छुट्याउन थालिएको छ। त्यसमा विद्यालय र कलेज पढ्ने वा पठनपाठन गर्नेलाई जनाउने पेसागत समूहलाई ‘अध्ययन’ शीर्षकअन्तर्गत राखिएको छ। प्रहरीको आव २०७९/८० को तथ्यपत्रमा तीन हजार ४०१ जना पीडितमध्ये ५७.४५ प्रतिशत छात्रा यौनहिंसाको सिकार भएको उल्लेख छ। आव २०८०/८१ को तथ्यपत्रमा कुल तीन हजार ४७९ जना पीडितमध्ये ५८ प्रतिशत र आव २०८१/८२ को तथ्यपत्रमा तीन हजार २०४ जना पीडितमध्ये ५६.५२ प्रतिशत छात्रा यौनहिंसाको सिकार भएको तथ्य उल्लेख छ।