जनआन्दोलन २०४६
चन्द्रशेखरको विचारोत्तेजक भाषणले नेपाली समाजमा जादुको काम गरेछ। म अफिसमा पुगेँ र राजेन्द्र दाहालसँग कुरा गरेँ। उनले हाँस्दै बताए, ‘पत्रिका त हामी शनिबारदेखि नै लगातार छापिरहेका छौँ। तर, जति छापे पनि पुग्दैन। बजारमा जानेबित्तिकै हारालुछ हुन्छ।’
आज २६ चैत हो। आजकै दिन २६ चैत २०४६ मा पहिलो राष्ट्रिय जनआन्दोलन सफल भएको थियो। पहिलो राष्ट्रिय जनआन्दोलनको बेला म देशान्तर साप्ताहिकको प्रधानसम्पादक थिएँ। हाम्रो एउटा सानो सम्पादकीय ‘टिम’ थियो। शिव अधिकारी, सुवास ढकाल, विष्णु निष्ठुरी, केदार शर्मा, सुरेश आचार्य, कविर राणालगायत तन्नेरी पत्रकार साथीहरू जोडिएका थिए त्यस टिममा। अलिकति पछि त्यो टिममा जोडिन आएका थिए राजेन्द्र दाहाल।
त्यस समयमा सरकारको सहयोग पाएर चलेका पत्रपत्रिकाबाहेक कुनै पनि स्वतन्त्र पत्रपत्रिकाको आर्थिक हैसियत राम्रो थिएन। एक अंक पत्रिका बिक्रीको पैसाले अर्को अंकका लागि पत्रिका छाप्ने कागज किन्न पुग्थ्यो। प्रेस सञ्चालन र अन्य विविध खर्च जुटाउन धौधौ पर्थ्यो। मोफसलका पत्रपत्रिका विक्रेताहरू र सानातिना विज्ञापनबाट हुने आम्दानीले खर्च टार्नुपर्ने बाध्यता थियो।
देशान्तर साप्ताहिक प्रजातान्त्रिक व्यवस्थामा आस्था र विश्वास राख्ने पत्रिका थियो। स्वतन्त्रताको पक्षमा यो दृढतापूर्वक उभिएको थियो। प्रजातान्त्रिक समाज निर्माणका लागि हुने कुनै पनि आन्दोलनको समर्थन यसको मूल नीति थियो।
त्यो बेला राजनीतिक हिसाबले राजधानी सहर काठमाडौँको अनुहार त्यति चम्किलो थिएन। देशमा राजनीतिक गतिविधि शून्य थियो। दलहरू प्रतिबन्धित अवस्थामा थिए। नेपाली कांग्रेसले जमलमा सम्पर्क कार्यालय खोलेको थियो। हरेक दिन अपराह्न सर्वोच्च नेता गणेशमान सिंह, सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइराला पार्टी कार्यकर्ता र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न त्यहाँ जानुहुन्थ्यो। गिरिजाप्रसाद कोइराला सधैँ हतार र हडबडीमा देखिनुहुन्थ्यो। उहाँ छिटोभन्दा छिटो पार्टी संगठन विस्तार गरेर त्यसलाई सबल बनाउने धुनमा रहनुहुन्थ्यो भने गणेशमानजी र किशुनजी पार्टी कार्यकर्तालाई सक्षम र सक्रिय बनाइराख्ने धुनमा हुनुहुन्थ्यो।
तर, गिरिजाप्रसाद कोइराला जति व्यग्र देखिनुहुन्थ्यो गणेशमानजी र किशुनजीमा त्यसप्रकारको व्यग्रता देखिँदैनथ्यो। कांग्रेसका यी तीन जना शीर्षनेताको मूल सिद्धान्त र विचारमा अलिकति पनि भिन्नता थिएन। तीनै नेताका धारणाको मूलधार एउटै थियो। तर, गिरिजाप्रसाद कोइराला चलायमान हुनुहुन्थ्यो र अलिकति बढी ‘एक्सन ओरियन्टेड’ देखिनुहुन्थ्यो। उहाँ राजालाई प्रजातन्त्रको मूलधारमा ल्याएर जनताको शासन चलाउन चाहनुहुन्थ्यो। उहाँले बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई यसरी नै बुझ्नुभएको थियो। तर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जनताको संघर्षबाट जनताको प्रजातान्त्रिक अधिकार लिनुपर्ने विचार राख्नुहुन्थ्यो।
त्यतिबेला राजा वीरेन्द्रले मरिचमान सिंहलाई प्रधानमन्त्री बनाएका थिए। सिंहदरबारमा रहेको प्रधानमन्त्रीको कुर्सीमा देशका घरानियाँ परिवारका सदस्यहरू बस्दै आएका थिए। प्रधानमन्त्रीमा मरिचमान सिंहको नियुक्ति राजा वीरेन्द्रको राम्रो कदम मानियो। राजा वीरेन्द्रले प्रधानमन्त्री सिंहलाई गणेशमान सिंहसँग वार्ताका लागि पठाए। प्रधानमन्त्री सिंहले गणेशमान सिंहसँग उहाँकै निवासमा पुगेर भेटवार्ता गरे। भेटवार्तापछि राजाले गणेशमानजीसँग भेट्न चाहे। राजा र सिंहबीच लामो वार्ता भयो। तर, परिणाम केही निस्किएन।
त्यसपछिको समयमा गणेशमान सिंहको नेतृत्वमा निर्दलीय पञ्चायत व्यवस्थाविरुद्ध देशव्यापी बृहत् जनआन्दोलनको संयोजन हुँदै थियो। किशुनजी आन्दोलनका पक्षमा दृढ हुनुहुन्थ्यो। लामो विचार-विमर्शपछि गिरिजाप्रसाद कोइराला पनि जनआन्दोलनका पक्षमा उभिनुभयो। राजाबाट प्रजातन्त्रको पक्षमा काम होला भन्ने उहाँको आशा मरिसकेको थियो।
काठमाडौँ सहरको चम्किलो बजार क्षेत्रपाटीको चाक्सीबारीमा रहेको ‘लौह पुरुष’ गणेशमान सिंहको निवासको ठूलो आँगनमा नेपाली कांग्रेसले ६ माघ २०४६ मा बृहत् राजनीतिक सम्मेलनको आयोजना गर्यो। सम्मेलनले देशमा प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनाका लागि ७ फागुनदेखि राष्ट्रिय जनआन्दोलन गर्ने निर्णय गरेको थियो।
काठमाडौँ सहरको चम्किलो बजार क्षेत्रपाटीको चाक्सीबारीमा रहेको ‘लौह पुरुष’ गणेशमान सिंहको निवासको ठूलो आँगनमा नेपाली कांग्रेसले ६ माघ २०४६ मा बृहत् राजनीतिक सम्मेलनको आयोजना गर्यो। सम्मेलनले देशमा प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापनाका लागि ७ फागुनदेखि राष्ट्रिय जनआन्दोलन गर्ने निर्णय गरेको थियो। भेलामा सैद्धान्तिक हिसाबले मार्क्सवादी-लेनिनवादी मूलधारलाई आधार मान्दै आएका कम्युनिस्ट पार्टीका मूर्धन्य नेताहरू मनमोहन अधिकारी, मदन भण्डारी, सहाना प्रधानलगायत सहभागी थिए। कम्युनिस्टहरूको ‘मूल पार्टी’ कुन थियो? यो स्पष्ट थिएन।
चीनका माओत्सेतुङले मार्क्स र लेनिनका सैद्धान्तिक धारणाका आधारमा क्रान्ति गरेर ठूलो परिवर्तन ल्याएका थिए। कम्युनिस्ट क्रान्तिको इतिहासमा उनको नाम मार्क्स र लेनिनसँगै जोडिएर आउन थालेको थियो। तर, नेपालका कम्युनिस्टहरू विभिन्न धारमा बाँडिएका थिए। उनीहरू सबै आफूलाई नै मूल कम्युनिस्ट पार्टी सोच्थे। राजा महेन्द्रले प्रजातन्त्रको अपहरण गरेपछि नेपालका अग्रणी कम्युनिस्ट नेता पुष्पलाल भारतमा निर्वासित जीवन बिताइरहनुभएको थियो। उहाँको त्यहीँ निधन भयो। उहाँको राजनीतिक उत्तराधिकारीका रूपमा विदुषी सहाना प्रधान देखिनुभयो।

जनआन्दोलन २०४६। तस्बिर स्रोत : सामाजिक सञ्जाल
मनमोहन अधिकारी कम्युनिस्ट पार्टीका धरोहरका रूपमा सम्मानित हुनुहुन्थ्यो। नेपालको राजनीतिक र सामाजिक वृत्तमा उहाँको ठूलो प्रभाव थियो। मदन भण्डारी सार्वजनिक जीवनमा देखिनुभएको थिएन। उहाँ भूमिगत रहेर पार्टी संगठनको काम गरिरहनुभएको थियो। उहाँ लगभग भूमिगत जीवन बिताइरहनुभएको थियो। सीपी मैनाली, राधाकृष्ण मैनाली, झलनाथ खनाल, माधव नेपाल, निर्मल लामा, मोहनविक्रम सिंहलगायत व्यक्तित्वहरू तत्कालीन कम्युनिस्ट आन्दोलनका प्रमुख हस्तीका रूपमा चिनिन्थे। प्रभावशाली वामपन्थी नेताहरू कहिले देखिने र कहिले लुक्ने अवस्थामा हुनुहुन्थ्यो।
सम्मेलनमा सबै प्रमुख राजनीतिक शक्तिहरूको उपस्थिति थियो।
सम्मेलनमा सहभागिताका लागि विदेशबाट दर्जनभन्दा बढी उच्चस्तरीय राजनीतिक नेताहरू निम्त्याइएका थिए। भारतका प्रभावशाली समाजवादी नेता चन्द्रशेखर, मार्क्सवादी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हरकिशन सिंह सुरजीत, सोसलिस्ट इन्टरनेसनलका प्रतिनिधिहरू सम्मेलनमा उपस्थित थिए।
आन्दोलनको पूर्वसन्ध्यामा केन्द्रीय प्रशासन मेरा विरुद्ध एकोहोरिएर लागेको थियो। पत्रकारका लागि मात्र होइन, समाज परिवर्तनका लागि अघि सर्ने प्रत्येक नागरिक र पेसाकर्मीहरूका लागि त्यो डरलाग्दो समय थियो।
चाक्सीबारी सम्मेलनले विभाजित रूपमा रहेका साम्यवादी शक्तिहरूलाई ‘एकीकृत’ रूपमा काम गर्न प्रेरित र प्रोत्साहित गर्यो। कम्युनिस्ट आन्दोलनका दुई प्रमुख नेताहरू मनमोहन अधिकारी र मदन भण्डारीका बीच प्रजातन्त्रको पुनःस्थापनाका लागि संगठित सहयात्रा गर्ने सहमति भयो।
कांग्रेसको चाक्सीबारी सम्मेलनपछि नेपाल कम्युनिस्ट पार्टीका नेता मदन भण्डारी पार्टी संगठनलाई चुस्त बनाउन लाग्नुभयो। मनमोहन अधिकारी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) र मदन भण्डारी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माले) एकतामा बाँधिएपछि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)को जन्म भयो।
सम्मेलनमा भारतका समाजवादी नेता चन्द्रशेखरको भाषण अत्यन्त प्रभावशाली रह्यो। चन्द्रशेखरले आफ्नो भाषणमा नेपाली जनतासँग आह्वान गरेका थिए– प्रजातन्त्रको पुनःस्थापनाका लागि आफ्नो मनबाट ‘डर’ हटाइदिनुहोस् र नेपालमा प्रजातन्त्रको पुनःस्थापनाका लागि संघर्ष गर्नुहोस्।
उनको भाषणले नेपालका राजनीतिकर्मीलाई उत्साहित तुल्यायो। अन्ततः देशमा पूर्ण प्रजातन्त्रको स्थापना भयो। ३० वर्ष लामो संघर्षपछि पुनःस्थापित संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्रिक व्यवस्था विस्थापित भएर देश अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको छ। यस परिवर्तनले नेपाली जनतालाई उत्साहित त बनाएको छ। तर, यसको सञ्चालन जनताका आधारभूत आवश्यकता पूरा गर्नतिर उन्मुख देखिँदैन। देशका आर्थिक सूचकांकहरू उँभो लाग्न सकेका छैनन्। शासकहरूको व्यवहारमा कुनै फरक आएको छैन। शासन जनताको नाममा चले पनि देश जनताका आधारभूत आवश्यकताको परिपूर्ति गर्ने बाटोमा अग्रसर हुन सकेको छैन।
प्रजातन्त्र पुनःस्थापनाको एक दशक नबित्दै देशमा सुरु भएको माओवादी जनयुद्ध नेपाली जनतालाई सर्वोपरि बनाउन संघीय गणतन्त्र स्थापना गर्न सफल त भयो। तर, संघीय गणतन्त्रको स्थापनासँगै राजनीतिको सुव्यवस्थापन गर्न माओवादी, कांगेस र एमालेलगायत साना-ठूला सबै हस्तीहरू विफल भए। राजनीतिक नेताहरूमा आफू जनताको ‘सेवक’ होइन, शासक हो भन्ने घातक प्रवृत्ति बढ्दै गयो। राजनीति गर्ने व्यक्तिहरूले यो कुरा बुझ्न चाहेनन्– जनतालाई जिस्क्याउन हुँदैन। जनता रिसायो भने ‘जे पनि’ हुन सक्छ।
राष्ट्रिय जनआन्दोलनको राप र तापमा राजा वीरेन्द्र देशमा संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्न बाध्य भए।
चाक्सीबारी सम्मेलन सुरु हुनुभन्दा पहिले म अचानक बिरामी परेँ। आफ्नो कार्यभार राजेन्द्र दाहाललाई सुम्पिएर म उपचारका लागि दिल्ली गएँ। चाक्सीबारी सम्मेलनको आशय र उद्देश्य दुवै बुझेका राजेन्द्रले चन्द्रशेखरको भाषणको राजनीतिक र व्यावसायिक महत्त्व बुझेका थिए। उनले सम्पूर्ण भाषण उतारेर देशान्तरमा प्रकाशित गरे। दिल्लीमा तीन दिनको उपचारपछि म आइतबार काठमाडौँ फर्किए। सोमबार कार्यालय पुग्दा छाप्ने मेसिन चालु थियो। मैले अनुमान गरेँ– मेसिनमा गडबडी आयो होला। त्यसैले आइतबारको पत्रिका सोमबार छापियो।
तर, कुरा अर्कै रहेछ। चन्द्रशेखरको विचारोत्तेजक भाषणले नेपाली समाजमा जादुको काम गरेछ। म अफिसमा पुगेँ र राजेन्द्र दाहालसँग कुरा गरेँ। उनले हाँस्दै बताए, ‘पत्रिका त हामी शनिबारदेखि नै लगातार छापिरहेका छौँ। तर, जति छापे पनि पुग्दैन। बजारमा जानेबित्तिकै हारालुछ हुन्छ।’
देशान्तरको टिमले कांग्रेस सम्मेलनको सम्पूर्ण ‘कभरेज’ गरेको थियो। त्यो अंक बुधबारसम्म छापिइरह्यो।
देशमा प्रजातन्त्र पुनःस्थापनाका लागि जनआन्दोलनको तयारी भइरहेको समय थियो त्यो। देशान्तर त्यो आन्दोलनको समर्थक थियो। हाम्रो टिम प्रजातन्त्र पुनःस्थापनाको पक्षमा सक्रिय थियो। आन्दोलनको पूर्वसन्ध्यामा केन्द्रीय प्रशासन मेरा विरुद्ध एकोहोरिएर लागेको थियो। यो थाहा पाएर मेरा केही मित्रहरू चिन्तित भए। पत्रकारका लागि मात्र होइन, समाज परिवर्तनका लागि अघि सर्ने प्रत्येक नागरिक र पेसाकर्मीहरूका लागि त्यो डरलाग्दो समय थियो।
मैले नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई देशान्तर साप्ताहिक र त्यहाँ कार्यरत पत्रकारहरूप्रति सरकारको व्यवहार असहिष्णु रहेको घटनाक्रम बताएँ। उहाँले पहिल्यै मेरो अवस्थाको जानकारी पाइसक्नुभएको रहेछ। त्यसपछि उहाँले मलाई जनआन्दोलनका तर्फबाट भारतमा राष्ट्रिय जनआन्दोलनको प्रतिनिधिका रूपमा खटिनुभएका चक्र बाँस्तोलालाई सघाउन दिल्ली पठाउनुभयो। मैले संयुक्त जनआन्दोलनका तर्फबाट भारतको राजधानी दिल्लीमा प्रेस संयोजक र सहायक प्रवक्ताका रूपमा काम गर्न थालेँ। यता, देशान्तर साप्ताहिकमा कार्यरत मेरा साथी र सहयोगीहरू दुःखसुखको परवाह नगरी सकेसम्म प्रकाशनलाई निरन्तरता दिन सक्रिय रहे।
राष्ट्रिय जनआन्दोलनको राप र तापमा राजा वीरेन्द्र देशमा संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्न बाध्य भए। राजा वीरेन्द्र र आन्दोलनका प्रमुख नेताहरूबीच सहमति भएपछि म नेपाल फर्किएँ। जनआन्दोलन रोकिएपछि पनि राजनीतिक परिस्थिति सम्हालिइसकेको थिएन। तर, प्रजातन्त्रको पुनःस्थापनापछि बिस्तारै देशको अवस्था सामान्य हुन थाल्यो। जनआन्दोलनका सहयात्री राजनीतिक दलहरूमा बढी दृढता आयो। म पनि देशान्तरको प्रधानसम्पादकको भूमिकामा फर्किएँ।
– नेपाल वरिष्ठ पत्रकार हुन्।