काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

फिल्म समीक्षा

त्यो सुनौला पाते रूख सुक्दै गएको अथवा भनौँ बूढो हुँदै गएको प्याट हो। र, रूखको हाँगामा बसिरहेको चरा छोरी विल्ला हो– उड्न सक्ने सम्भावना जोसँग भरपुर छ। अथवा हुन सक्छ ऊ एक राउन्ड उडीकन फेरि गुँड फर्किएकी हो।

२८ चैत्र २०८२
तस्बिर स्रोत : युटुब
अ+
अ-

वान ब्याटल आफ्टर अनदर!

पल थोमस एन्डरसन निर्देशित यो फिल्म बक्स अफिसमा फ्लप भयो तर अस्करमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशकलगायत ६ विधामा अवार्ड जित्यो।

आखिर फिल्ममा त्यस्ता के तत्त्व छन् जसले यसलाई उत्कृष्ट बनायो। यद्यपि, मास अडियन्सले सिनेमा हलमा हेर्न उति मजा मानेनन्।

आउनुहोस्, एकछिन मन्थन गरौँ।

प्याट भर्सेस पर्फिडिया

ओपनिङ सिनबाटै थालौँ। सुरुमै ‘पर्फिडिया’ देखिन्छे। आत्मविश्वासले टिलपिल, जुझारु पात्र। इम्मिग्रेन्ट डिटेन्सन सेन्टरमाथि आइपुग्दा ऊ दौडिन रोकिएर त्यसतर्फ नजर लगाउँछे– मानौँ एउटा निश्चित लक्ष्य भएकी एउटी निर्भीक नारी हो ऊ। अर्कातर्फ देखिन्छ प्याट– थकित र उत्साहहीन!

प्याटलाई चिनेकी पर्फिडिया मिसनमा होमिनुअघि पुन: जोसिलो लवजमा सम्झाउँछे।

कानुनी कागजातको मिति घर्किएर पनि अमेरिका बस्दै आएका विदेशी, विनाकागजात अमेरिका पसेका विदेशीहरूलाई त्यहाँको सरकारले बन्दी बनाएर राखेको छ। यसको विरोधमा प्याट, पर्फिडिया र साथीहरूको एउटा विद्रोही समूह लागिपरेको छ।

तस्बिर स्रोत : युटुब

सुरुवाती मिसनमा उनीहरू ती विदेशी बन्दीलाई कानुनको मातहतमा ल्याउनुअघि  मानवीय व्यवहार गरिनुपर्छ भन्ने उद्देश्यले होमिएका छन्। यस मिसनमा पनि बाहिरी दुनियाँसँग ठोकिएर काम गर्न प्याट अघि सर्दैन। ऊ बरु एक्लै र टाढाबाटै गर्न सकिने, जस्तै– बम फिट गर्ने खालका काममा संलग्न हुन्छ।

मिसन सकिएर आफ्नो वासस्थानमा हुँदा पनि प्याट कसैसँग नबोली, घोत्लिएर मेकानिकल, म्यानुअल कामहरूमा अल्झिबसेको देखिन्छ। आफ्नै प्रेयसीसँगको अन्तरंग सम्बन्धमा समेत प्याटले नेतृत्व लिएको दृश्य बिरलै देख्न पाइन्छ।

पर्फिडिया भने त्यसमा सधैँजसो अगाडि देखिन्छे। उनीहरू मिसनमा जाँदाकै एउटा दृश्य लिऊँ– निदाइरहेको पुलिस अफिसरलाई ब्युँझाउनु आवश्यक त थिएन। तर, पर्फिडिया उसको टोपी र बन्दुक चलाउँदै उसलाई ब्युँझाउँछे। बस् यत्ति जताउनका लागि कि कसरी उसले अफिसरलाई हराइसकेकी छ।

उसको स्वभावमै महत्त्वाकांक्षा छ। ऊ आफूलाई सिकारी ठान्छे र सिकार गर्नु जति प्रिय उसलाई अरू केही लाग्दैन। यतिसम्म कि ऊ गर्भावस्थामा पनि नियमित तालिम जारी राख्छे, बन्दुकबाट आफूलाई टाढा राख्न सक्दिन। बच्चा जन्मिसकेपछि पनि आमाको जिम्मेवारीबाट पन्छिन्छे– योद्धा भइरहनकै लागि। सिकारी भइरहनकै लागि।

नेपालीमा एउटा दन्त्यकथा छ– खरायो र कछुवाको। जहाँ छिटो दौडिने क्षमता भईकन पनि खरायोले दौड जित्दैन, तर घस्रिएर ढिलो हिँड्ने कछुवा चाहिँ विजेता हुन्छ। फिल्ममा पनि अथाह जोस, आत्मविश्वास र क्षमताका बाबजुद पर्फिडिया पक्राउ पर्छे। त्यसो त ऊ भाग्न सफल पनि हुन्छे। तर, ऊ यति टाढा पुग्छे कि आफ्नो परिवारको सुरक्षाका लागि लुकिछिपी बाँच्नुपर्ने स्थिति बनिदिन्छ।

उता प्याट मिसनको टन्टाबाट मुक्त भएर छोरी हुर्काउँदै घरमा बसिरहन्छ– एउटा ‘फ्यामिली म्यान’ जसरी! ऊ पक्राउ पनि पर्दैन। र, पक्राउ नपर्न पनि उसले खास त्यस्तो केही गर्दैन।

यसरी हेर्दा उसकी सासू उर्फ पर्फिडियाकी आमाले भनेको कुरा एकदम चित्तबुझ्दो लाग्छ– पर्फिडिया भगौडा छे र प्याट भने जरा गाडिएको रूखको ठुटो जस्तो। यिनीहरूको घरजम हुन्छ जस्तो मलाई त लाग्दैन बा!

यो कुरा चित्त बुझ्नुको कारण संयोग मात्र होइन। बरु यो त निर्देशक एन्डरसनको योजनाको कमाल हो। पर्फिडियालाई भगौडा बनाउनु उनको होसपूर्ण निर्णय हो, र प्याट पनि रूख जसरी एकैठाउँ जरा गाडेर बसेको होइन। उसलाई त्यस्तो स्वभाव दिनुमा पनि निर्देशकको हात छ।

यसको संकेत अरू धेरै कुराले गर्छन्। जस्तै, प्याट नाम फेरेर बब नामले लुकेर बस्दा पनि ऊ रूख नै रूखले घेरिएको ठाउँको एउटा सानो घरमा बस्छ।

र, जब लक जका पुलिसहरू उसलाई समाउन भनेर आइपुग्छन् तब पनि ऊ एउटा सुरुङमार्ग हुँदै रूखकै फेदबाट निस्किन्छ।

क्याट भर्सेस र्‍याट

त्यसो त पर्फिडियाको कथा सकिइसकेको छैन।

पर्फिडिया आफूलाई सिकारी सम्झिन्थी, मुसो खेदाउने बिरालो सम्झिन्थी। ऊ आफूलाई जंगलकी बिरालो अर्थात् बाघ वा चितुवा सम्झिन्थी। तर, फिल्मको दोस्रो हाफ नपुग्दै पर्फिडिया बिरालोबाट कतिखेर मुसो बनिसक्छे, झन्डै झन्डै एकाग्र दर्शकलाई पनि ठम्याइहाल्न गाह्रो पर्छ। सिकारीबाट सिकार बन्नासाथ उसले आफ्ना विद्रोही साथीहरूलाई धोका दिन्छे। कति त समातिन्छन् र मारिन्छन् पनि।

तस्बिर स्रोत : युटुब

त्यसैले उसको विद्रोही समूहले मुसो नाउँ दिएको छ– धोकेबाज! आफ्नो ज्यान बचाउन साथीहरूको पोल खोल्नेलाई विद्रोहीहरूको भाषामा मुसो भन्ने गरिन्छ।

त्यसो त पर्फिडियाको नामको अर्थ खोतल्ने हो भने पनि त्यही नै भेटिन्छ– षड्यन्त्रकारी!

शीर्षक बोक्ने पहाड

फिल्मको झन्डै झन्डै अन्त्यतिर छोरी पात्र- विल्ला, बाउन्टी हन्टरको कब्जाबाट छुटेर निस्किन्छे। तर, शीर्षकले भनेजस्तै उसको युद्ध सकिएको थिएन, बल्ल सुरु भएको थियो। ऊ त्यहाँबाट सडकमा निस्किन्छे, उकाली-ओराली पहाडी बाटो।

यस दृश्यमा दर्शकलाई पनि पक्कै महसुस भएको हुनुपर्छ, होइन कति आइबसेको पहाड? जति कुदे पनि किन सकिँदैन पहाड? तर, यही दृश्य हो जसले फिल्मको सार बिम्बका रूपमा बोकेको छ। यिनै पहाड नै हुन् एकपछि अर्को गर्दै आइरहने/भइरहने युद्धका बिम्ब!

बाँच्नका लागि छिचोल्नुपर्ने पहाड! त्यस अर्थमा यी पहाडलाई फिल्मको शीर्षक बोक्ने पहाड भन्नु अन्यथा नहोला।

डिक्याप्रियो भर्सेस प्याट/बब

र, यस पहाडमा खिचिएको दृश्यको सबैभन्दा राम्रो पार्ट हो– ‘बाबुले छोरीलाई बचाउन आवश्यक नपर्नू।’

छोरी अपहरणमा परेकी छ। उसलाई कसैले ज्यानको बाजी थापेर सहयोग गरेको पनि साँचो हो। तर, छोरी आफैँ त्यति काँतर वा कमजोर पनि त होइन। त्यसो त बाबु पनि हिँडेकै छ छोरीलाई बचाउन भनेर। तर, छोरीले बाबु आइपुग्नुअघि आफ्नो सुरक्षा आफैँ गरेकी छ। हामीले प्राय: देखिरहने प्रेमिका बचाउन प्रेमी नै पुग्नुपर्ने वा छोरी बचाउन बाबु नै पुग्नुपर्ने जस्तो क्लिसे दृश्य फिल्ममा देखिँदैन।

गुडिरहेको गाडीबाट फाल हान्न नसक्ने, दुई दुई पटक ताकेर हान्दा पनि भिलेनको छातीमा गोली दाग्न नसक्ने पात्रका रूपमा देख्दा लियोनार्दो डिक्याप्रियोलाई कलाकारभन्दा धेरै हिरो मान्ने दर्शकले सहन सक्ने कुरै भएन।

र, हुन सक्छ सिनेमा हलमा त्यस्तै फिल्म हेर्न बानी परेर पुगेका आँखाहरू आफूले मन पराएको, हिरो मानेको एक्टरलाई त्यति ‘हिरोइक’ पात्रको भूमिकामा नदेख्दा पक्कै निरासिए होलान्। यद्यपि, अस्करले हुन सक्छ, यही र यस्तै दृश्यले फिल्मलाई जीवन्त बनाएको निश्चय गर्‍यो।

त्यसो त फिल्मलाई जीवन्त महसुस गराउने कुरा अरू पनि छन्। जस्तो– इम्पर्फेक्सन! फिल्ममा कारमा चढ्ने दृश्य सर्वाधिक छन्। तर, धेरैभन्दा धेरै पटक कारको ढोका नलगाउँदै गाडी हुइँकिएको छ। कतै खाँदाखाँदै बोल्नु, कतै ढोका बन्द गर्नुअघि नै अँगालो मार्नु, गफ गर्नु जस्ता दृश्यले पनि फिल्ममा जीवन्तता थपेकै छन्।

बिफोर भर्सेस आफ्टर

भेप प्रयोग गर्ने प्याट फोन बोक्दैनथ्यो। छोरीको सुरक्षाका लागि ऊ न आफू फोन बोक्थ्यो, न त छोरीलाई नै बोक्न दिन्थ्यो। तर, अपहरणअघिको बन्धन अपहरणपछि रहेन। अब प्याट फोन चलाउँछ, छोरीसँगै सिक्दै।

विल्ला पनि अब खुलमखुला फोन चलाउँछे, बाबुलाई पनि सिकाउँदै। के उनीहरूको युद्ध सकिइसकेको हो? होइन, युद्ध अझै बाँकी नै छ बस् पहिला लुकेर लड्ने गर्थे भने अब खुलेर नै लड्छन्– सरकारलाई दबाब दिएर। जेनेरेसन ग्यापसँगै प्रविधि मात्र होइन, युद्धको ढाँचा पनि फेरिएको छ। विल्ला बाबुको शुभकामना लिएरै निस्किन्छे ओकल्यान्डको विरोध प्रदर्शनमा।

वर्ग, वर्ण र लिंग

लडाइँको कुरा त धेरै भयो, तर खास उनीहरू केको विरोधमा लडिरहेका छन् त?

वर्ग र वर्ण विभेदका विरुद्ध छन्। सत्ताका अधिकारीहरू जहाँ भेट्छन् त्यो ठाउँ हेरौँ। त्यसको छानो, भित्ता, सजावट। र, विद्रोहीहरूको अड्डामा तिनै कुरा हेरौँ। त्यहाँ एउटा खाल्डो देखिन्छ दुई वर्गबीच। सत्ताका अधिकारीहरूको समूहमा हेरौँ, कस्ता अनुहारहरू छन् र कस्ता छैनन्? त्यहाँ अर्को खाडल देखिन्छ वर्ण विभेदको। अनि, लैंगिक विभेदको कुरा त फिल्मले परोक्ष रूपमा उठाएको छ।

स्टेफेन लक ज क्रिश्चियन क्लबमा छिर्छ। त्यहाँ महिला प्रहरीको नामोनिसाना हुँदैन। र, ऊ आफ्ना पुरुष प्रहरीको टोली लिएर महिला नै महिलाको विद्रोही टोलीलाई जाइलाग्छ।

त्यसैले यो फिल्म बाबु र छोरीको मात्र कथा होइन। यो त वर्ग संघर्ष, वर्ण संघर्ष र लैंगिक सशक्तीकरणको कथा पनि हो।

जापान भर्सेस ल्याटिनो

त्यसो त पहिलो र मध्यतिरको दृश्य हेर्दा फिल्म अमेरिका भर्सेस मेक्सिकोको कथा जस्तो पनि लाग्छ। तर, फिल्ममा एउटा पात्र छ जसलाई हेर्दा लाग्छ त्यो पात्रसँग जापान भर्सेस ल्याटिनोको कथा पनि छ।

एउटा निन्जा मास्टर! कराते गुरु! जापानी कुस्ती- कसरतका मास्टर। अनि नाम उस्तै जापानी- सेन्सेई सर्जियो!

सेन्सेईको जापानी अर्थ हुन्छ– केही हुनुअघि नै थाहा पाउनु। जापानमा अति प्रख्यात एउटा अवधारणा छ ‘सेन्सरी अवेरनेस’ को– जानसिन! जहाँ मानिस वरिपरिका हरेक कुराप्रति सचेत-सजग भइरहन्छन्। स्पेनिस भाषा बोल्ने यो पात्र ठ्याक्कै कुन देशको नागरिक हो भन्न सकिँदैन, तर ल्याटिनो समुदायलाई भ्रष्ट अमेरिकी सरकारको अंशियार बन्नबाट बचाउन उसले जापानी सूत्रको प्रयोग गरेको छ।

तस्बिर स्रोत : युटुब

भित्ताभरिको कथा

बिम्बबाटै सुरु भएको लेखनको अन्त्य पनि बिम्बबाटै भए कसो होला? स्टेफेन लक जको वास्तविकता थाहा पाइसकेपछि क्रिसमस एड्भेन्चरस क्लबका अमेरिकी अधिकारीहरू एउटा गोप्य बैठकमा बस्छन्। उनीहरूको पछाडि भित्ताभरिको एउटा चित्रकला देखिन्छ। जहाँ सुनौला पात भएको एउटा रूख छ, रूखको हाँगोमा एउटा चरो बसिरहेको छ र अर्को एउटा सिकारी चरो कतै उडिरहेको छ। त्यो उडिरहेको चरो पर्फिडिया हो।

त्यो सुनौला पाते रूख सुक्दै गएको अथवा भनौँ बूढो हुँदै गएको प्याट हो। र, रूखको हाँगामा बसिरहेको चरा छोरी विल्ला हो– उड्न सक्ने सम्भावना जोसँग भरपुर छ। अथवा हुन सक्छ ऊ एक राउन्ड उडीकन फेरि गुँड फर्किएकी हो।

उड्नका लागि उसकी आमाले जस्तो गुँड नै छोड्नुपर्छ– ऊ नयाँ पुस्ताकी सिकारी चरी, उसलाई यस्तो नलाग्न सक्छ!

जाँदाजाँदै प्रहरीले विल्लाका तीन जना साथी समातेको थियो– एक महिला, एक पुरुष र एक अल्पसंख्यकभित्रबाट। तर, प्रहरीसँग उसको पोल खोलिदिने साथी किन अल्पसंख्यकबाट नै रोजियो होला है?