धादिङ। सभामुख डोलप्रसाद अर्यालले देश र जनताका लागि तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासंघले मलेखुमा आइतबार गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए।
संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने उनको भनाइ छ। सभामुख अर्यालले भने‚ “विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरीकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो। त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु।”
जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे। बूढीगण्डकी जलाशययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याउने अर्यालले बताए।