विराटनगर । विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा पूर्वविजेता एपीएफ क्लबलाई स्तब्ध पार्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
शहीद रङ्गशालामा आइतबार राति भएको दोस्रो क्वार्टरफाइनल खेलमा विभागीय टोली एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारको यात्रा तय गरेको हो ।
चर्च ब्वाइजको जितमा समीर तामाङले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको २७ औँ मिनेटमा समीरले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । आशिष सोनामले दायाँ भागबाट उपलब्ध गराएको क्रस पासलाई नियन्त्रणमा लिँदै समीरले जाली चुमाएका थिए । गोलकर्ता समीर नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।
एक गोलले पछि परेको एपीएफले खेलभरि गोलका थुप्रै अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो । पहिलो हाफको ४४ औँ मिनेटमा एपीएफका मणि कुमार लामाले डिबक्स भित्रबाट गरेको सशक्त प्रहार पोस्टको थोरै माथिबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा एपीएफ थप आक्रामक देखिएको थियो । ५० औँ मिनेटमा प्रदीप लामाको प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरे । ६३ औँ मिनेटमा सविन गुरुङले गोल गर्ने सुन्दर मौका गुमाए । यता चर्च ब्वाइजले पनि अग्रता दोब्बर बनाउने अवसर पाएको थियो । ६९ औँ मिनेटमा सुरज गौतमको कडा प्रहार पोस्टमा लाग्दै फर्किएपछि चर्च ब्वाइज थप गोल गर्नबाट चुक्यो ।
२०७८ सालको संस्करणमा भारतीय टोली पन्जाब पुलिसलाई हराएर उपाधि जितेको एपीएफ यसपटक भने पहिलो खेलबाटै बाहिरिएको छ । उपाधि दाबेदार मानिएको एपीएफले आधा दर्जनभन्दा बढी गोलका अवसर सदुपयोग गर्न सकेन ।
प्रतियोगिताअन्तर्गत सोमबार नेपाल पुलिस क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ