खोटाङ। खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘जैविक विविधता तथा रेडपान्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३’ ले सातबुँदे ‘दिक्तेल घोषणापत्र-२०८३’ जारी गरेको छ।
सम्मेलनले जैविक विविधता संरक्षण, प्रकृतिमा आधारित जीविकोपार्जन एवं रोजगारी सिर्जना, दिगो विकास तथा पर्यापर्यटन प्रवर्द्धन, मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन, स्थानीय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्ने प्रतिबद्धतासहित सातबुँदे ‘दिक्तेल घोषणापत्र’ जारी गरेको हो।
दिक्तेल बजारस्थित सरस्वती माविमा भएको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनले परम्परागत अभ्यास, वैज्ञानिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई एकीकृत गर्दै सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासहितको दिक्तेल घोषणापत्र जारी गरेको हो। स्थानीय समुदायको सहभागितामा वनजङ्गल, बाँस-निगालो, खर्क, खोला खोल्सी, तालतलैया, जरीबुटी, पोखरी र जैविक मार्गको पुनः स्थापना तथा दिगो व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहको नेतृत्वमा लोपोन्मुख प्रजाति रेडपान्डा (हाब्रे) र थारको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै सहभागितामूलक विशेष संरक्षण नमूना कार्यक्रम सञ्चालन गर्ने घोषणपत्रमा उल्लेख छ।
प्रकृति र संस्कृतिबीचको अन्तरसम्बन्धलाई सुदृढीकरण गर्दै किरात संस्कृति तथा मुन्दुमी सभ्यताको संरक्षण एवं प्रवर्द्धन, मुन्दुम ट्रेल (पदमार्ग)सँग जोड्न रेडपान्डा-थार पदमार्ग तथा अन्य ऐतिहासिक-सांस्कृतिक पदमार्गहरूको विकास, स्थानीय पथप्रदर्शक उत्पादनका लागि प्रशिक्षण तथा समुदायमा आधारित होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गरेर पर्यापर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ।
परम्परागत ज्ञान, सीप र अभ्यासलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बन गरी जलवायु परिवर्तन र विपद्का जोखिम न्यूनीकरण गर्ने घोषणापत्रमा उल्लेख छ। बाँदरसहित जङ्गली जनावरका सन्दर्भमा समस्या तथा पहिचान गरी पूर्वसूचना प्रणाली, उपयुक्त छेकबार, समुदायमा आधारित बिमा एवं क्षतिपूर्ति प्रणाली, वन्यजन्तुबाट कम हानि-नोक्सानी हुने खेतीबाली तथा सामुदायिक द्रुत प्रतिकार्य टोली स्थापना गरी मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्दै सह-अस्तित्व कायम गर्ने कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
शैक्षिक तथा अनुसन्धानमूलक सङ्घसंस्थाहरूको सहकार्यमा पहिचान भएका वन्यजन्तुको अनुगमन तथा आहार-बिहारसम्बन्धी प्रभावकारी अध्ययन अनुसन्धान गर्दै हिमाली जैविक विविधताको संरक्षण, संवर्द्धन र ज्ञान अभिवृद्धि गर्नेसमेत अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी देशका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन्।
घोषणपत्रमा उल्लेख गरिएका संरक्षणका कार्यक्रम सञ्चालन गर्न सङ्घ, प्रदेश, स्थानीय सरकार, संरक्षण साझेदार संस्था, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र र अन्य सरोकार भएका निकायहरूसँग सहकार्य गर्ने उल्लेख छ। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीको सहभागिता थियो।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा कोसी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ, वन तथा भू-संरक्षण विभाग काठमाडौँ, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौँ, त्रिभुवन विश्वविद्यालयको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो।
प्रथमपटक आफ्नो जिल्लामा आयोजना गरिएको ‘जैविक विविधता तथा रेडपान्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३’ सफलतापूर्वक सम्पन्न भएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। विश्वमा जलवायु परिवर्तनका कारण आएका सामाजिक, आर्थिक, मनोवैज्ञानिक, वातावरणीय परिवर्तनका कारण वन्यजन्तु र जैविक विविधता सङ्कटमा पर्दै गएकाले समस्या समाधानका विकल्प पहिचान गर्न सम्मेलन प्रभावकारी भएको उनले विश्वास व्यक्त गरे।
“यो अवस्थामा दिक्तेलमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनले आवश्यक राष्ट्रिय नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने अपेक्षा गरिएको छ‚” उनले भने, “सम्मेलनमा विभिन्न देशका विषय विज्ञलाई सहभागी गराइएको थियो। आफ्नो जिल्लामा आयोजना गरिएको सम्मेलनले स्वरोजगार, स्थानीय सीप र रैथाने सामग्रीको प्रयोग तथा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।”
नगरप्रमुख भट्टराईका अनुसार यही ४ देखि ६ वैशाखसम्म सञ्चालन भएको सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिले १० विषयगत कार्यपत्र प्रस्तुत गरेका थिए। जैविक विविधता संरक्षण र दीर्घकालीन योजना निर्माण, लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्र र प्राथमिकतामा राख्नुपर्ने विषयको पहिचान, जैविक विविधता संरक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरिएका उनले बताए।
स्वदेश तथा विदेशका विषयविज्ञको सहभागिता रहेको सम्मेलनस्थलमा प्रदर्शनीका लागि राखिएका लोपोन्मुख वन्यजन्तु रेडपान्डा र थारको बाँसबाट बनाइएका कलात्मक चित्र आकर्षणको केन्द्र बनेको थियो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६‚ नेर्पाका कलाकार शम्भु राईले बाँसको भाटा तथा चोया प्रयोग गरेर निर्माण गरेको रेडपान्डा र थारको कलात्मक चित्रमा तस्बिर खिचाउने तथा टिकटक र रिल, भिडियो बनाउने सर्वसाधारणको घुइँचो लागेको थियो।
सम्मेलनका अवसरमा दिक्तेल बजारमा र्याली, विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा लोपोन्मुख वन्यजन्तु रेडपान्डा संरक्षणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको थियो। सम्मेलनको उद्घाटन कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का उपकुलपति दिलीप सुब्बाले संयुक्त रूपमा गरेका थिए।