काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

हेमन्त महँगो साबित

७ बैशाख २०८३
तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ। डेब्यु खेलमै हेमन्त धामी महँगो साबित हुँदा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो टी-२० आई खेलमा फराकिलो हार बेहोरेको छ।

सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो। नेपालले डीएलएस मेथर्डबाट दिएको ७८ रनको लक्ष्य यूएईले ७ बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गरेको हो।

यूएईका कप्तान मुहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए। १५ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।

उनले पहिलो ओभरमा हेमन्तलाई दुई चौका र दुई छक्कासहित २० रन प्रहार गरेका थिए। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सर्वाधिक २७ विकेट लिएका उनले यसै खेलमार्फत सिनियर टोलीमा डेब्यु गरेका हुन्।

अलिशान सराफु १८ रनमा आउट हुँदा आकाशदीप नाथ १७ रनमा अविजित रहे।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। २ ओभर बलिङ गरेका उनले ८ रन खर्चिए। कुशल मल्लले १ विकेट राखे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो।

नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए। उनले ३५ बलमा चौका ३ प्रहार गरे। उनले यसै खेलमार्फत कप्तानीमा डेब्यु गरेका छन्। यसअघि उनी टोलीका उपकप्तान थिए। तर, मुख्य प्रशिक्षक स्टुअर्ट लले नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिएपछि कप्तानी जिम्मेवारी ऐरीले पाएका हुन्।

कुशल मल्ल १७, कुशल भुर्तेल १६, बसीर अहमद १४, अर्जुन साउद १३ र नन्दन यादव १३ रनमा आउट भए। अन्य ब्याटरको प्रदर्शन खास रहन सकेन।

यूएईका मुहम्मद जुहेवले सर्वाधिक ३ विकेट लिए। चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। जुनेद सिद्दिकीले २ र हैदर अलीले १ विकेट थपे।