एकै रातमा १२२ जना पक्राउ
कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका पाँच ठाउँमा ‘स्विप अपरेसन’ चलाएको छ। अपरेसनका क्रममा अवैध गतिविधि गर्ने १२२ जनालाई प्रहरीले गएराति नियन्त्रणमा लिइएको छ।
रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक एवं निमित्त सूचना अधिकारी गणेश पाण्डेले बताए।
“पक्राउ परेकामध्ये ८२ जनाले लागुऔषध सेवन गरेको पाइएको छ। केहीको साथमा गाँजासमेत फेला परेको छ‚” उनले भने, “बैदाम, रामबजार, शिशुवा, बगर र जिल्ला प्रहरी कार्यालय रहेको क्षेत्रमा एकैसाथ स्विप अपरेसन सञ्चालन गरिएको थियो।”
बैदाम क्षेत्रबाट ३९ जना, राजबजार क्षेत्रबाट ४०, शिशुवाबाट २०, बगरबाट १२ र जिप्रका आसपासबाट ११ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले ‘स्विप अपरेसन’ चलाएको हो।
गएराति पक्राउ पर्ने सबै पुरुष र त्यसमध्ये अधिकांश युवा उमेर समूहका रहेको उनको भनाइ छ। केही दिनअघि लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने र ठगी गर्ने महिलालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ।