दलित युवाको रहस्यमय मृत्यु
काल्पनिक जाहेरी दिनेलाई कारबाही नगरेसम्म सत्तारुढ दलका सांसदहरू धर्नामै रहने
सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा ६ सांसद धर्नामा बसेका छन्।
प्रहरीको हिरासतमै सिन्धुलीको सुनकोसी गाउँपालिका ३‚ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको ७ वैशाखमा मृत्यु भएपछि न्यायिक छानबिनको माग गर्दै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ६ सांसद धर्नामा बसेका हुन्। धर्नामा बसेका सांसदहरूले जातीय हिंसाका कारण २२ वर्षीय युवाले ज्यान गुमाउनुपरेको भन्दै दोषीलाई कारबाहीको माग राखेर अहिले जिल्ला प्रशासन कार्यालयको मुख्य गेटअगाडि धर्नामा बसेका हुन्।
उसो त श्रीकृष्णको मृत्यु भएपछि उनका आफन्तहरू आन्दोलित भइरहँदा प्रहरी र प्रशासनले न्याय नदिएको भन्दै आन्दोलित थिए। श्रीकृष्णका आफन्तको पक्षमा सांसदहरूसहित दलित अधिकारकर्मीहरूले पनि दोषीलाई कारबाही गर्न माग गरेका छन्।
धर्नामा रहेका रास्वपाका सांसद खगेन्द्र सुनारले श्रीकृष्णको शव परीक्षण काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा गर्नुपर्ने‚ काल्पनिक जाहेरी दिनेलाई कारबाही नगरेसम्म धर्नामै रहने नेपालन्युजलाई बताए। उनले भने‚ “सरकारले तत्काल रेस्पोन्स गर्न जरुरी छ। हामीले प्रधानमन्त्रीज्यूको सचिवालयमा समेत खबर गरेका छौँ।”
यस्तै घटनामा प्रत्यक्ष जोडिएका सिन्धुली प्रमुख जिल्ला अधिधारी (प्रजिअ), एसएसपी र ड्युटी अफिसरलाई निलम्बन गरी तत्काल कारबाही गरिनुपर्ने माग रहेको धर्नामा रहेकी रिमा विश्वकर्मा बताउँछिन्। सिन्धुलीकै सांसद आशिष गजुरेल पनि धर्नामा छन्। उनले यस्तो गम्भीर विषयमा हेलचेक्रयाइँ गर्न नहुने प्रतिक्रिया दिएका छन्। उनले भने‚ “दोषीलाई छाड्नु हुँदैन‚ जसरी भए पनि कानुनको दायरामा ल्याउनुपर्छ।”
यस्तै अर्का सांसद गणेश विकले पनि घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने र जाहेरी दिनेलाई जातीय हिंसा र हत्यामा अनुसन्धान गरेर कारबाही गर्नुपर्ने बताए।
जिल्ला प्रशासन कार्यालयअघिको धर्नामा सत्तारुढ दलका सांसद् खगेन्द्र सुनार‚ रिमा विश्वकर्मा‚ सुष्मा स्वर्णकार‚ गणेश विक‚
खिमा विश्वकर्मा र आशिस गजुरेल छन्। धर्नामा रहेका सांसदहरूलाई अधिकारकर्मीहरूले पनि साथ दिइरहेका छन्।
हेर्नुहोस् धर्नाका थप तस्बिर :
