काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

११ बैशाख २०८३
प्रधानमन्त्री बालेन्द्र शाह।
अ+
अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्बासी बस्तीलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन्।

शुक्रबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिक प्रभावित हुने र ज्यान जोगाउन संघर्ष गर्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरे।

उनका अनुसार यो समस्या वर्षौँदेखि कायम रहेकाले अब यसलाई बेवास्ता नगरी दीर्घकालीन समाधानतर्फ अघि बढ्न आवश्यक छ। खोला किनारका बस्तीले डुबानको जोखिम बढाउनुका साथै ढल निकास प्रणालीमा अवरोध पुर्‍याएर उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको उनले बताए।

प्रधानमन्त्री शाहले थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने स्पष्ट पारे। उनले वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर योजनाबद्ध रूपमा व्यवस्थापन गरिने जानकारी दिए।

यससँगै, देशभरका वास्तविक सुकुम्बासीका लागि आवश्यक प्रक्रिया पूरा गरी जग्गा वितरण गर्ने तयारी पनि सरकारले अघि बढाएको उनले बताएका छन्।