वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान यतिबेला ‘पतनको स्थिति’ मा पुगेको दाबी गरेका छन्। इरानले अमेरिकाको सहयोग मागेको पनि उनले खुलासा गरेका छन्।
ट्रम्पका अनुसार इरानले विश्व व्यापारको मुख्य जलमार्ग मानिने होर्मुज स्ट्रेट खोल्न अमेरिकासँग आग्रह गरेको छ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले लेखेका छन्‚ “इरानले भर्खरै हामीलाई जानकारी दिएको छ कि उनीहरू पतनको संघारमा छ। उनीहरू चाहन्छन् कि हामीले जतिसक्दो चाँडो होर्मुज स्ट्रेट खोलिदिऔँ।”
ट्रम्पले इरान यतिबेला आफ्नो आन्तरिक ‘नेतृत्वको स्थिति’ सुल्झाउने प्रयासमा रहेको समेत बताएका छन्। उनले विश्वास व्यक्त गर्दै भनेका छन् कि इरानले यो संकट पार लगाउन सक्नेछ। इरानको वर्तमान अस्थिरता र आर्थिक दबाबका बीच ट्रम्पको यो बयानले विश्व राजनीतिमा हलचल उत्पन्न गरेको छ।
रोचक कुरा के छ भने, गत साता मात्रै पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीच दोस्रो चरणको वार्ताको प्रयास भएको थियो। तर वार्ता सफल भएन। लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका यी दुई देशबीच हालसम्म कुनै पनि ठोस सम्झौता हुन नसक्दा तनाव बढिरहेको छ।
होर्मुज स्ट्रेट किन महत्त्वपूर्ण?
होर्मुज स्ट्रेट विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग हो। विश्वको कुल खपत हुने तेलको ठूलो हिस्सा यहीँ मार्ग हुँदै जान्छ। यसलाई इरानले आफ्नो प्रभाव क्षेत्र मान्दै आएको छ। यदि ट्रम्पको दाबी सत्य हो भने, इरानले यसलाई खोल्न आग्रह गर्नुले उसको गहिरो आर्थिक र राजनीतिक संकटलाई प्रस्ट्याउँछ।