काठमाडौँ। भारतको नयाँदिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्य (वेडिङ डेस्टिनेसन) का रूपमा प्रवर्द्धन गरिएको छ।
नेपाल पर्यटन बोर्ड र होटेल एसोसिएसन अफ नेपाल (हान) ले नयाँदिल्लीमा भारतका लागि नेपाली राजदूतावाससँगको सहकार्यमा ‘नेपाल डेस्टिनेसन वेडिङ एन्ड ओटिएज कनेक्ट’ कार्यक्रम आयोजना गरेको हो। १५ र १६ वैशाखमा आयोजित दुईदिने कार्यक्रममा नेपाल र भारतका पर्यटन तथा वेडिङ इन्डस्ट्रीका प्रतिनिधिहरूको सहभागिता थियो।
यो कार्यक्रममार्फत नेपाललाई सांस्कृतिक समृद्धि, प्राकृतिक सौन्दर्य र परम्परागत वैवाहिक संस्कारको अद्वितीय संयोजन भएको ‘ड्रिम वेडिङ डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने प्रयास गरिएको छ। कार्यक्रममा २१ नेपाली प्रतिष्ठित कम्पनी र ४५ वटा भारतीय वेडिङ प्लानरको सहभागिता रहेको कार्यक्रममा सहभागी बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले जानकारी दिए। उनका अनुसार नेपाली प्रतिनिधिहरूले नेपालमा वैवाहिक समारोहका लागि आवश्यक उच्चस्तरीय होटेल, रिसोर्ट तथा सेवाबारे प्रस्तुति र प्रचार गरे। ती बी-टू-बी बैठक, प्रस्तुति, नेटवर्किङ र छलफलमार्फत नेपाल-भारतबीच वैवाहिक पर्यटन सहकार्य विस्तार गर्ने आधार तयार गरेको उनले जनाए।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले वैवाहिक पर्यटन नेपालका लागि उच्च सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरे। उनले भने, “नेपालमा वैवाहिक पर्यटनको अपार सम्भावना छ। जहाँ विलासी रिसोर्टदेखि प्राकृतिक तथा सांस्कृतिक सम्पदासम्मका विविध गन्तव्य उपलब्ध छन्।” बोर्डका यस किसिमका प्रयासले पर्यटक संख्या वृद्धि मात्र होइन, उच्च मूल्य (हाइ-भ्यालु) पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउनुका साथै समग्र अर्थतन्त्र र अन्य सहायक क्षेत्रहरूमा सकारात्मक प्रभाव पार्ने जोशीको विश्वास छ।
कार्यक्रममा हानका अध्यक्ष विनायक शाहले नेपाल र भारतबीचको सहकार्यले वैवाहिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। त्यसैगरी इन्डियन वेडिङ प्लानर एसोसिएसनका अध्यक्ष नीरज धवनले भारतीय बजारमा डेस्टिनेसन वेडिङप्रतिको बढ्दो आकर्षणले नेपालका लागि ठूलो अवसर सिर्जना गरेको धारणा व्यक्त गरे। त्यसैगरी नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख सुरेन्द्र थापाले नेपाल-भारतबीचको सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै यस्तो कार्यक्रमले द्विपक्षीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोर्डका निर्देशक लक्ष्मण गौतम पनि सहभागी थिए। बोर्डको तर्फबाट निर्देशक गौतमले बढ्दो वैवाहिक पर्यटन क्षेत्र उल्लेख गर्दै पूर्वीय सभ्यतामा विवाहको दर्शनले बोकेको सांस्कृतिक महत्वबारे जानकारी गराए। उनले नेपालले भारतजस्तो सांस्कृतिक रूपमा समृद्ध बजारका लागि उत्कृष्ट वैवाहिक गन्तव्य सिर्जना गर्न सक्ने क्षमता रहेकोसमेत उल्लेख गरे। “हाम्रा आकर्षक गन्तव्यहरू, आतिथ्य सत्कार र जीवन्त संस्कृतिसहित हामी भारतीय वेडिङ प्लानर तथा उनीहरूका ग्राहकलाई नेपालको अद्भूत अनुभव दिलाउन तयार छौँ,” उनले भने।
बोर्डको पछिल्ला तथ्यांक हेर्ने हो भने पनि नेपालको प्रमुख पर्यटन स्रोत बजारका रूपमा भारत रहेको छ। सन् २०२५ को पर्यटक आगमनको तथ्यांकअनुसार नेपाल आउने कुल पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् दुई लाख ९२ हजार ४३८ भारतीय छन्। सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५१ पर्यटक नेपाल भित्रिएका थिए।
भारतीय बजारलाई लक्षित गरी वैवाहिक पर्यटन प्रवर्द्धन गर्न सके उच्च खर्च गर्ने पर्यटक भित्र्याउने तथा वर्षभरि पर्यटन गतिविधि सन्तुलित बनाउने विश्वास गरिएको बोर्डका वरिष्ठ अधिकृत रेग्मीको विश्वास छ। कार्यक्रमले नेपाललाई केवल पर्यटन गन्तव्य मात्र नभई सांस्कृतिक अनुभव, विलासी सेवा र अविस्मरणीय वैवाहिक अनुभव प्रदान गर्ने केन्द्रका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। बोर्डले सीमा जोडिएको छिमेकी मुलुक भारतलक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्र बनाएको हो।