काठमाडौँ। सिन्धुली र रामेछापलाई सडक सञ्जालसँग जोड्न सुनकोसी नदीमा मोड्युलर पुल निर्माण गरिएको छ।
७० मिटर लामो ‘मोड्युलर पुल’को बिहीबार नेपालथोकमा आयोजित एक समारोहबीच उद्घाटन गरिएको छ। भारतीय दूतावासका काउन्सलर गीताञ्जली ब्रैंडन र सडक विभागका महानिर्देशक विजय जैशीले संयुक्त रूपमा पुलको उद्घाटन गरे।
यो पुल अत्याधुनिक ‘मोड्युलर’ प्रविधिको हो, जसलाई आवश्यकताअनुसार छिटो जडान गर्न सकिन्छ।
अक्टोबर २०२५ मा वर्षा र बाढीले सडक सञ्जालमा पुर्याएको क्षतिपछि यातायात पुनःस्थापना गर्न भारत सरकारले नेपाललाई उपहार स्वरूप यो पुल प्रदान गरेको हो।
पुलको प्राविधिक जडान भारतीय कम्पनी गार्डेन रिच सिपबिल्डर्स एन्ड इन्जिनियर्स लिमिटेड (जीआरएसई) का प्राविधिक टोलीले गरेका हुन्।
गत वर्षको प्राकृतिक विपद्का कारण बीपी राजमार्ग र आसपासका क्षेत्रको सडक सञ्जाल विच्छेद हुँदा सिन्धुली र रामेछापका बासिन्दाले सास्ती खेप्नुपरेको थियो। पुल सञ्चालनसँगै अब दुई जिल्लाबीच ढुवानी र आवतजावत सहज हुनेछ।

उद्घाटन कार्यक्रममा महानिर्देशक जैशीले संकटको समयमा प्राप्त यस सहयोगले नेपालको पूर्वाधार विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै काउन्सलर ब्रैंडनले नेपाल-भारत बीचको गहिरो मित्रता र विकास साझेदारीको प्रतीकका रूपमा यो परियोजना रहेको चर्चा गरिन्।
पुलको सञ्चालनसँगै सुनकोसीकिनारका बासिन्दाको दैनिक यात्रासँगै स्थानीय व्यापार र कृषि उपजको बजारसम्मको पहुँचमा पनि सहजता हुनेछ। भारतले नेपाललाई उपलब्ध गराउन लागेका ७० मिटर र सोभन्दा बढी स्पान भएका १० वटा यस्तै पुलमध्ये यो पनि एक हो।