आईसीसी विश्वकप लिग-२
काठमाडौँ। आईसीसी विश्वकप लिग-२ मा यूएईलाई पराजित गर्दै नेपालले रोमाञ्चक दोस्रो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको सिरिजको तेस्रो खेलमा नेपालले यूएईमाथि डीएलएस मेथडमा ६ रनको रोमाञ्चक जित हात पारेको हो।
नेपालले यूएईलाई २९० रनको लक्ष्य प्रस्तुत गरेको थियो। यूएईले निर्धारित ३८ ओभरमा ८ विकेटको क्षतिमा २४८ रन मात्र बनायो।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८९ रन बनाएको थियो। योसँगै नेपालले जारी सिरिजमा ४ अंक जोडेको छ। नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो।
यसअघि बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएल मेथडमा १०२ रनले पराजित भएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ९४ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक पूरा गरे।
यूएईका लागि मुहम्मद सद्दाकले सर्वाधिक ६५ रन बनाए। यस्तै हरप्रित सिंहले ४१ र आर्यांश शर्माले ३३ रन थपे। अदीप उस्मानी १४ रनमा आउट भए। नेपालले सिरिजको अन्तिम खेल मंगलबार ओमानविरुद्ध खेल्नेछ।