क्रिकेट
लगातारको निराशाजनक नतिजापछि मुख्य प्रशिक्षक स्टुअर्ट लले गरे यूएईविरुद्धको दोस्रो खेलमा चार परिवर्तन
ओमानको निरन्तर दबदबाबीच नेपालको प्रदर्शनबारे प्रश्न उठ्न थालेको छ। के यो त्यही टोली हो त? प्रश्न जायज देखिन्छ। किनभने, आईसीसी विश्वकप क्रिकेट लिग-२ को अघिल्लो चक्रमा १२ मध्ये ११ खेल जित्दै शीर्ष तीनमा स्थान बनाएको थियो। त्यही ‘मिराकल’ प्रदर्शन गरेको नेपाली टोली अहिले पुनरागमनको दबाबमा देखिन्छ। १५ मध्ये १२ खेलमा जित निकाल्नैपर्ने चुनौती हुँदासमेत टोली अस्थिर देखिन्छ।
यस परिस्थितिमा कप्तान रोहितकुमार पौडेल भने आशावादी छन्। उनी भन्छन्, “अघिल्लो चक्रमा ११ खेल जिताउन जसले भूमिका खेल्नुभयो, अहिले पनि टोलीमा तिनै खेलाडी हुनुहुन्छ। हामीले त्यतिबेलाको दबाब झेलिसकेका छौँ। त्यसैले अबका खेल अझ महत्त्वपूर्ण हुनेछन्।”
अघिल्लो चक्रमा नेपालले पछिल्ला १२ मध्ये आठ खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो। घरेलु मैदानको फाइदा उठाउँदै नेपालले त्यसबेला लिग विजेता स्कटल्यान्ड मात्र होइन, नामिबिया, यूएई र पपुवा न्युगिनी जस्ता टोलीलाई पराजित गर्दै तेस्रो स्थानमा रहेर एकदिवसीय विश्वकप छनोटमा स्थान बनायो।
हालको चक्रमा भने नेपालले त्यस्तो छनक देखाउन सकेको छैन। २३ मध्ये आठ खेलमा जित निकाल्दै १६ अंकसहित टोली सातौँ स्थानमा सीमित छ। अझै दु:खलाग्दो कुरा के छ भने, यसपटक नेपालले घरेलु मैदानमा १० खेल खेलिसकेको छ। अंकतालिकामा आफूभन्दा तल रहेको यूएईविरुद्ध मात्र सन्तोषजनक प्रदर्शन गरेको नेपालले अन्य टोलीविरुद्ध भने अपेक्षाअनुसार खेल देखाउन सकेको छैन।
पछिल्लो समय ओमानको प्रदर्शन त्यति सशक्त देखिएको छैन। नेपालले जारी शृंखलामा दुई खेलमा दुवै पटक हराइसकेको यूएईले समेत ओमानलाई २५ रनले हराइसकेको छ।
चिन्ताजनक कुरा के छ भने, आईसीसी वरीयतामा आफूभन्दा तल रहेको ओमानविरुद्ध समेत नेपाल निरीह देखिन थालेको छ। २९ अप्रिलमा भएको खेलमा ओमानले डीएलएस मेथडबाट १०२ रनको फराकिलो जित निकालेको थियो। अब मंगलबार हुने अर्को खेलमा ओमान त्यही लयलाई निरन्तरता दिने प्रयासमा हुनेछ भने नेपाल चाहिँ अघिल्लो हारको बदला लिँदै महत्त्वपूर्ण दुई अंक बटुल्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
“हामी युज टु त भइसकेका छैनौँ। तर, दबाबमा खेल्ने हाम्रो स्वभाव छ। त्यसैले जित निकाल्छौँ भन्ने आशामा छौँ,” रोहित भन्छन्।
निरन्तर दबदबा
नेपालले १ अगस्ट २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गरेपछि लिग २ मा आफ्नो यात्रा सुरुआत गर्यो। तर, ओडीआई मान्यता पाए पनि ओमानसँगको पहिलो भेट भने ५ फेब्रुअरी २०२० मा मात्रै सम्भव भयो। त्यतिबेला ओमान सशक्त टोलीका रूपमा स्थापित भइसकेको थियो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो दुई खेलमा ओमानले क्रमशः १८ रन र आठ विकेटको जित निकाल्दै आफ्नो वर्चस्व देखायो। त्यसपछि घरेलु मैदान अल अमेरात क्रिकेट मैदानमा समेत नेपाललाई पाँच विकेटले पराजित गर्दै ओमानले आफ्नो प्रभाव कायम राख्यो।

यूएईविरुद्ध शतक प्रहार गरेपछि दीपेन्द्रसिंह ऐरी। तस्बिर : क्यान
समयसँगै यी दुई टोलीबीचको प्रतिस्पर्धा रोचक बन्दै गयो। १९ सेप्टेम्बर २०२१ मा अल अमेरातमै भएको खेलमा नेपालले सात विकेटको प्रभावशाली जित निकाल्दै आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा प्रस्तुत गर्यो। यद्यपि, ९ जुन २०२२ को भेटमा नेपाल १३ रनले पराजित भयो। त्यसपछि भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार दुई खेलमा सात विकेट र ८४ रनको जित निकाल्दै ओमानविरुद्ध आफ्नो दबदबा स्थापना गरेको थियो।
पछिल्लो अवस्थाले फेरि चिन्ताजनक संकेत देखाउन थालेको छ। १८ सेप्टेम्बर २०२४ मा किङ्स सिटीमा भएको खेलमा ओमानले एक विकेटको रोमाञ्चक जित निकाल्यो। त्यसको निरन्तरतास्वरूप डेढ वर्षपछि कीर्तिपुरमा भएको पछिल्लो भेटमा ओमानले नेपाललाई १०२ रनले पराजित गर्दै पुरानो हारको बदला मात्र लिएन, हरेक खेलमा अंक बटुल्नैपर्ने दबाबमा रहेको नेपाललाई थप मानसिक दबाब पनि सिर्जना गरेको छ। यसको मुख्य कारण ‘नेचुरल’ खेल खेल्न नसक्नु नै रहेको नेपाली टोलीका पेसर सोमपाल कामी बताउँछन्।
१७.१ ओभरमा ५७ रनमै चार विकेट गुमाएको अवस्थामा नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६२ बलमा सात चौका र एक छक्कासहित ६० रन बनाए। तर, उनको योगदान टोलीलाई जितसम्म पुर्याउन पर्याप्त भएन।
“ओमानले दिएको लक्ष्य पछ्याउन सकिन्थ्यो। २० ओभरभित्र विकेट नदिने योजना बनायौँ। हामीले विकेट जोगाउने चक्करमा रन बनाउन सकेनौँ। नेचुरल खेल खेल्दै स्ट्राइक रोटेसन गरेको भए जित निस्किन्थ्यो होला,” उनी भन्छन्।
सोमपालको भनाइ सान्दर्भिक देखिन्छ। हुन त पछिल्लो समय ओमानको प्रदर्शन त्यति सशक्त छैन। नेपालले जारी शृंखलामा दुई खेलमा दुवै पटक हराइसकेको यूएईले समेत ओमानलाई २५ रनले हराइसकेको छ। ओमानले दिएको ३०६ रनको लक्ष्य नेपालका लागि असम्भव थिएन। यसअघि १६ मार्च २०२३ मा यूएईले दिएको ३१० रनको लक्ष्य पछ्याउँदै नेपालले डीएलएस मेथडमार्फत नौ रनको रोमाञ्चक जित निकालेको थियो।
यसपटक त्यस्तै ठूलो लक्ष्य पछ्याउँदा वर्षाले प्रभावित खेलमा २५८ रनको संशोधित लक्ष्य सामना गर्दा नेपाल १५५ रनमै सीमित भयो। अझ खेल सम्हाल्ने प्रयासमै टोलीले सुरुआती २० ओभरभित्रै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै मध्यक्रमका कप्तान पौडेल र बसिर अहमदलाई गुमायो।
१७.१ ओभरमा ५७ रनमै चार विकेट गुमाएको अवस्थामा नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६२ बलमा सात चौका र एक छक्कासहित ६० रन बनाए। तर, उनको योगदान टोलीलाई जितसम्म पुर्याउन पर्याप्त भएन। त्योसँगै लिग २ मा २६ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा रहेको ओमान नेपालविरुद्धको पछिल्ला नौ खेलमा छैटौँ जित निकाल्न सफल भयो।
“खेलमा जित एकदमै महत्त्वपूर्ण हुन्छ। हामीसँग मौका पनि धेरै थियो। दुईतीन ओभरमा राम्रो गर्न सकेको भए ओमानविरुद्ध जित निकाल्न सकिन्थ्यो,” उनी भन्छन्।
नयाँ योजना, प्रदर्शन फिक्का
नेपालका ओपनर र मध्यक्रमका ब्याटरले यस शृंखलामा अपेक्षाअनुसार लय समात्न सकेका छैनन्। यूएईविरुद्धको पहिलो खेलमा ३७ रनको जित निकाल्न सफल भए पनि शीर्षक्रमले बलियो सुरुआत दिन सकेन। आसिफ शेख सात रनमै आउट भए भने कुशल भुर्तेल २४ रनमा सीमित रहे।
मध्यक्रममा पनि स्थिति धेरै सुधारिएको देखिएन। लामो समयपछि टोलीमा फर्किएका भीम सार्की र कप्तान रोहितले टोलीलाई आवश्यक स्थिरता दिन सकेनन्। ओमानविरुद्धको खेलमा आसिफले १९ र भीमले २८ रन बनाए पनि कुशल एक रनमै आउट भए। रोहित १० रनमा समेटिँदा बसिर अहमद लगातार ‘फ्लप’ साबित भए।
नेपालको कमजोर प्रदर्शनबीच दीपेन्द्रले भने दुवै खेलमा अर्धशतक प्रहार गर्दै टोलीको इज्जत जोगाउने काम गरे। उनको प्रदर्शनले मात्र नेपालको ब्याटिङ लाइनअप पूर्ण रूपमा ध्वस्त हुनबाट जोगिएको देखिन्छ।

यूएईविरुद्ध डेब्यु गरेका उदीयमान ब्याटर अर्जुन कुमाल। तस्बिर : क्यान
लगातारको निराशाजनक नतिजापछि मुख्य प्रशिक्षक स्टुअर्ट लले यूएईविरुद्धको दोस्रो खेलमा चार परिवर्तन गरे। कुशलको स्थानमा अर्जुन कुमाल, आसिफको स्थानमा विनोद भण्डारी, करण केसीको स्थानमा नन्दन यादव तथा बसिरको स्थानमा ललितनारायण राजवंशीलाई समावेश गरिएको थियो।
परिवर्तनमध्ये विनोद भण्डारीले ५६ रनको उत्कृष्ट इनिङ्स खेल्दै तीन वर्ष नौ महिनापछि बलियो पुनरागमन गरे। तर, डेब्यु गरेका अर्जुन कुमाल ११ रनमै समेटिए। बलिङतर्फ नन्दनले दुई विकेट लिँदै टोलीलाई जिततर्फ डोर्याए पनि ललितनारायण राजवंशी ६ ओभरमा ४७ रन खर्चिंदै महँगा साबित भए।
पछिल्ला तीन खेलको रणनीति परिवर्तन गरे पनि टोलीको सम्पूर्ण भार भने उपकप्तान दीपेन्द्र आफैँले बोकिरहेका छन्। यूएईविरुद्ध ७५ रन बनाएका उनले ओमानविरुद्ध ६० रनको योगदान दिएका थिए। अर्को खेलमा यूएईविरुद्ध शतक प्रहार गरेका दीपेन्द्र अहिले अन्य खेलाडीको ‘अप एन्ड डाउन’ चलिरहेको स्विकार्छन्।
लामो समयपछि टोलीमा फर्किएका भीम सार्की र कप्तान रोहितले टोलीलाई आवश्यक स्थिरता दिन सकेनन्।
“अन्य खेलाडीको रन बनिरहेको छैन। म अलि बढी फोकस भएर होला, मैले राम्रो गरिरहेको छु। पहिला त मेरो पनि रन बनेको थिएन,” उनी भन्छन्।
अब नेपालले मंगलबार ओमानविरुद्ध अन्तिम खेल खेल्दै यो शृंखला टुंग्याउनेछ। त्यसपछि यही मैदानमा १२ मेदेखि स्कटल्यान्ड र अमेरिकासँग अर्को महत्त्वपूर्ण शृंखला खेल्ने तालिका तय छ।
नेपालका लागि आगामी प्रतिस्पर्धा अझ चुनौतीपूर्ण देखिन्छ। अमेरिका २४ खेलबाट ३६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ भने चार खेल बढी खेलेको स्कटल्यान्ड ३४ अंकसहित नजिकै पछ्याइरहेको छ। हालको प्रदर्शन हेर्दा यी दुवै टोली नेपालका लागि ओमान र यूएईभन्दा पनि कठिन प्रतिस्पर्धी हुने स्पष्ट छ।
यस्तो अवस्थामा पछिल्ला खेलमा दबाब झेलिरहेको नेपालका लागि ओमानविरुद्धको अन्तिम खेल निर्णायक बन्नेछ। यो खेल जित्दै शृंखला सके नेपालले उच्च मनोबलका साथ आगामी कठिन प्रतिस्पर्धामा प्रवेश गर्न सक्छ।
टोलीका मुख्य खेलाडी दीपेन्द्र पनि सकारात्मक सोचका साथ मैदानमा उत्रनुपर्ने बताउँछन्। सुरुआती खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि पछिल्ला खेलमा पार्टनरसिपमा सुधार हुँदै गएको छ, जुन टोलीका लागि उत्साहजनक पक्ष हो।
“सुरुआती दुई खेलमा राम्रो खेल्न सकेनौँ। अहिले साझेदारी राम्रो भइरहेको छ। त्यही कुरालाई सकारात्मक रूपमा लिएर खेल्न सके ओमानविरुद्ध राम्रो नतिजा निकाल्न सक्छौँ,” उनले भनेका छन्।