तेहरान। इरानको जेलमा सजाय काटिरहेकी मानवअधिकारवादी तथा नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीको स्वास्थ्य अवस्था बिग्रिएको छ। उनको स्वास्थ्य बिग्रिएसँगै उनका परिवार र विश्व समुदाय चिन्तित बनेका छन्।
५४ वर्षीया मोहम्मदीको स्वास्थ्यमा आएको खराबीका कारण तत्कालै सुविधायुक्त अस्पतालमा स्थानान्तरण गर्न परिवार र नोबेल समितिले माग गरेको छ।
उत्तर-पश्चिमी इरानको जन्जन जेलबाट शुक्रबार उनलाई स्थानीय अस्पताल पुर्याइएको थियो। उनका परिवारले यस कदमलाई ‘अन्तिम घडीमा चालिएको ढिलो प्रयास’ भनेका छन्। नर्वेमा बस्ने उनका भाइ हामिदरेजा मोहम्मदीले बीबीसीलाई भने‚ “उनको रक्तचाप घटिरहेको छ। चिकित्सकले त्यसलाई स्थिर बनाउन सकिरहेका छैनन्। यो अवस्था डरलाग्दो छ।”
गत महिना मात्रै उनका भाइले सार्वजनिक गरेको जानकारीअनुसार जेलका अन्य कैदीहरूले नरगिसलाई अचेत (बेहोस) अवस्थामा फेला पारेका थिए। मुटु, फोक्सो र उच्च रक्तचापको पुरानो बिरामी हुँदाहुँदै पनि जेल प्रशासनले उनलाई अस्पताल लैजान लामो समयसम्म आनाकानी गरेको आरोप लगाइएको छ।
नर्गिस मोहम्मदीलाई २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। अधिकारीहरूको आलोचना गरेको कारण उनलाई डिसेम्बरमा पक्राउ गरिएको थियो। अहिलेसम्म उनी १३ पटक पक्राउ परेकी छन्। अहिलेसम्म उनलाई ३१ वर्षको जेल र १५४ कोर्राको सजाय सुनाइएको छ।
उनी अहिले १४० दिनसम्मको निरन्तर मानसिक र शारीरिक प्रताडना तथा चिकित्सा सेवाबाट वञ्चित रहेर जेलजीवन बिताइरहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ।
नरगिस मोहम्मदी फाउन्डेसनले जारी गरेको विज्ञप्तिअनुसार उनलाई उचित उपचार नदिएर ‘बिस्तारै मृत्युको मुखमा धकेल्ने’ काम भइरहेको छ। इरानमा महिला अधिकार र लोकतन्त्रको पक्षमा आवाज उठाएकै कारण उनले दशकौँदेखि यस्तो कठोर यातना भोग्दै आएकी छन्।
अहिले विश्वभरका मानवअधिकारवादीहरूले सामाजिक सञ्जालमार्फत उनको जीवनरक्षाका लागि आवाज उठाइरहेका छन्। इरानी सत्ताले उनको स्वास्थ्यलाई लिएर देखाएको यो लापरबाहीले पुन: एकपटक विश्व राजनीति तरंगित बनेको छ।