काठमाडौँ। कक्षा १० को परिक्षा (एसईई) को नतिजा यही बैशाख मसान्तभित्र प्रकाशन गर्ने तयारी भैरहेको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षा बोर्डका परिक्षा नियन्त्रक टुकराज अधिकारीले परीक्षा केन्द्रमा नै यसअघि जाँच भइसकेका उत्तरपुस्तिकाको रुजु गर्नुपरेकाले नतिजा प्रकाशन बैशाख मसान्तका लागि तोकिएको बताएका छन्। भन्छन्, “अहिले रुजु गर्ने काम भैरहेको छ, बैशाख मसान्त वा अघिल्लो दिन नतिजा प्रकाशन हुन्छ।”
लामो समयसम्म नतिजा कुराउँदा विद्यार्थीलाई मानसिक तनाव बढ्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले महिनादिनभित्रै नतिजा प्रकाशन गर्न १८ चैतमा मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए।
७७ वटै शिक्षा विकास तथा समन्वय एकाइसँगको छलफलपछि शिक्षा मन्त्रालय एक महिनाभित्रै नतिजा निकाल्न सकिने निष्कर्षमा पुगेको थियो।
शिक्षामन्त्रीको निर्देशनसँगै अघिल्ला वर्षभन्दा चाडै परीक्षा नतिजा प्रकाशन गर्न परीक्षा सकिए लगत्तै परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परिक्षण गर्न थालिएको थियो।
सबै उत्तरपुस्तिकाको परिक्षण सकिएकाले हाल रुजु भैरहेको बोर्डका परीक्षा नियन्त्रक अधिकारी बताउँछन्। अघिल्लो वर्षसम्म एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गरिन्थ्यो र परीक्षा सम्पन्न भएको तीन महिनामा मात्रै नतिजा सार्वजनिक हुन्थ्यो।
बोर्डका अनुसार शैक्षिक सत्र २०८२ को नियमित तथा ग्रेडबृद्धि तर्फको एसइइ परिक्षा १९ चैत देखि २९ चैतसम्म सञ्चालन भएको थियो। एसईई परिक्षामा देशभरबाट लगभग ५ लाख ९ हजार विद्यार्थी सहभागी थिए। परिक्षा सञ्चालनका लागि एक हजार ९ सय ६१ केन्द्रहरु तोकिएका थिए।